पाकिस्तानमा जमियत उलेमा ए इस्लामको र्यालीमा विस्फोट, कम्तिमा ३९ जनाको मृत्यु
प्रकाशित मिति : श्रावण १४, २०८० आईतबार
पाकिस्तानको उत्तरपश्चिमी प्रान्तमा आइतबार एक राजनीतिक कार्यक्रमको क्रममा भएको विस्फोटमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार विस्फोटमा कम्तिमा २ सय जना घाइते भएका छन् ।
मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । अधिकारीहरूले सम्पूर्ण क्षेत्रलाई घेरा हालेका छन्। अहिलेसम्म कुनै चरमपन्थी संगठनले विस्फोटको जिम्मेवारी लिएको छैन र प्रहरीले विस्फोटको कारणबारे कुनै जानकारी दिएको छैन।
अधिकारीहरूका अनुसार पाकिस्तानको उत्तरपश्चिममा रहेको बाजौर जिल्लामा जमियत उलेमा ए इस्लाम फजलले र्याली आव्हान गरेको थियो। यस प्रान्तको सिमाना अफगानिस्तानसँग छ।
विष्फोटमा जमियतका एक प्रमुख स्थानीय नेताको पनि मृत्यु भएको समाचारमा जनाइएको छ । उनको नाम मौलाना जियाउल्लाह जान रहेको बताइएको छ ।
बाजौर जिल्लाको खार तहसील क्षेत्रमा र्याली आव्हान गरिएको थियो । जसमा सयौंको संख्यामा मानिसहरु सहभागी भएका थिए । खारको दुबई मोर क्षेत्र नजिकै विस्फोट भएको उद्धार सेवा ११२२ का प्रवक्ताले बताए ।
अधिकारीहरुका अनुसार घाइतेहरुको संख्या धेरै भएकाले उनीहरुलाई अस्पताल लैजान गाह्रो भएपछि जिल्ला अस्पतालमा स्वास्थ्य संकटकाल घोषणा गरिएको थियो ।
तस्बिरमा एम्बुलेन्सले घाइतेलाई अस्पताल लैजाँदै गरेको देखिन्छ । यद्यपी यो विष्फोटको कारण भने खुल्न सकेको छैन ।
जमियत उलेमा ए इस्लामका महासचिव तथा सिनेटर मौलाना अब्दुल गफूर हैदरीले विस्फोटको निन्दा गरेका छन्। उनले सुनियोजित षडयन्त्रमा देशको वातावरण बिगार्न खोजिएको बताए ।
उनले जमियत उलेमा इस्लाम शान्तिको बाटो हिँड्ने पार्टी भएको र सधैं शान्तिको बाटो खोजेको बताएका छन् । प्रान्तका कार्यवाहक मुख्यमन्त्री मुहम्मद आजम खान र अन्य नेताहरूले विष्फोटको निन्दा गर्दै मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्।