अमेरिकाको कामदार भिसाका लागि आज दोश्रो पटकको लोटरीबाट ७७ हजार छनौट


प्रकाशित मिति : श्रावण १५, २०८० सोमबार

आर्थिक बर्ष २०२४ का लागि अमेरिकाले दोश्रोपटक कामदार भिसा एचवानबीको लोटरी खोलेर थप ७७ हजार ६ सय ९ जना छनौट गरेको छ । आर्थिक बर्ष २०२४ का तोकिएको भिसाको कोटा पूरा गर्न थप आवेदकहरु चाहिने निर्धारण गर्दै गत मार्च १७ सम्म अनलाइन दर्ता गरेर छनौट नभएका आवेदकमध्येबाटै छनौट गर्नका लागि लोटरी खोलिएको हो ।

अमेरिकाको ८५ हजार कामदार भिसा एचवानबीको लागि अनलाइनमार्फत ७ लाख ८० हजार ८८४ जनाले रजिष्ट्रेशन गरेकोमा लोटरीमा ७ लाख ५८ हजार ९ सय ९४ आवेदनलाई सहभागी गराइएको थियो भने बाँकी आवेदन लोटरीमा सहभागी हुनका लागि समेत अयोग्य भएका थिए । तीमध्ये पहिलोपटक गत मार्चमा लोटरीमार्फत १ लाख १० हजार ७ सय ९१ आवेदनहरु थप प्रकृयाका लागि छनौट गरिएको थियो । आज लोटरीमार्फत थप ७७ हजार ६ सय ९ जना छनौट गरेपछि अब थप प्रकृयाका लागि छनौट भएकाहरुको संख्या १ लाख ८८ हजार ४ सय पुगेको छ ।

मार्चमा छनौट गरिएका आवेदकहरुलाई भिसा प्रकृया अगाडि बढाउनका लागि अप्रिल १ देखि जुन ३० सम्मको अवधि दिइएको थियो । उक्त अवधिमा भिसा प्रकृया अगाडि बढाइएका आवेदनको मूल्यांकन गरेर थप आवेदक चाहिने निष्कर्ष निकालेपछि थप आवेदकलाई छनौट गरिएको हो । अहिले छनौटमा परेका थप आवेदकहरुले आगामी ९० दिनभित्र भिसा प्रकृया अगाडि बढाउनुपर्नेछ । छनौट भएकाहरुले अनलाइनबाट थप भिसा प्रकृयाका लागि आवेदन दिन मिल्दैन । कागजी प्रकृयाबाटै दिनुपर्छ ।

मार्चमा अनलाइनमार्फत दर्ता गरेकाहरुमध्येबाटै छनौट गरिएकाले नयाँले भने लोटरीमा समावेश हुनका लागि दर्ता गर्न पाएनन् । पहिले नै दर्ता गरेका तर छनौट नभएकाहरुलेमात्र मौका पाएका हुन् । लोटरीमार्फत दोश्रो राउण्डको छनौट गरिएकाले यसबारे छनौट भएका आवेदकहरुलाई जानकारी गराइएको छ । अब उनीहरुले भिसा प्रकृया अगाडि बढाउनसक्ने युएससीआईएसले जनाएको छ ।

अमेरिकाले नियमिततर्फ ६५ हजार र अमेरिकामा मास्टर्स डिग्री लिएका २० हजार गरी हरेकबर्ष ८५ हजारलाई कामदार भिसा एचवानबी प्रदान गर्दै आएको छ । अमेरिकी कामदार भिसा एचवान बी मार्फत अमेरिकी रोजगारदाताहरुले विदेशी कामदारहरुलाई विशेष ज्ञान र स्नातक डिग्री वा माथिको आवश्यकता पर्ने विशेष पेशाहरूमा राख्न सक्छन् ।

लोटरीका लागि आवेदन दिएकाहरुले आफ्नो आवेदनमा ४ प्रकारका स्टाटस देख्न सक्नेछन् । आवेदन दिएका, योग्य पनि रहेका तर लोटरीबाट छनौट नभएकाहरुको आवेदनमा सब्मिटेड स्टाटस देखिनेछ भने छनौट भएकाहरुको आवेदनमा सेलेक्टेड स्टाटस देखिनेछ । एउटाभन्दा धेरै आवेदन दिएका वा अन्य कारणले अयोग्य रहेकाहरुको स्टाटसमा डिनाइड देखिनेछ भने आवेदन पेश गरेका तर शुल्क नतिरेकाहरुको आवेदनमा इन्भ्यालिडेटेड फेल्ड पेमेन्ट स्टाटस देखिनेछ ।

कामदारहरुले आगामी अक्टोबर १ बाट भिसा पाउनेछन् भने आर्थिक बर्ष २०२४ भित्र अमेरिका आउन सक्नेछन् । हरेक दर्ताका लागि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराएको छ ।  यो नम्बर केबल दर्ताको अवस्था हेर्नमात्र प्रयोग गर्न सकिन्छ ।

एचवानबी भिसामार्फत आउने पदका लागि लाभग्राहीको कम्तीमा स्नातक वा त्यो भन्दामाथिको शिक्षा हासिल गरेको वा सो सरह हुन जरुरी छ ।

कम्पनीमा गर्ने काम यति जटिल वा अद्वितीय छ कि त्यसका लागि उक्त डिग्री भएको व्यक्तिलेमात्र गर्नसक्छ भन्ने पुष्टी हुनुपर्छ । वा कम्पनीको कामका लागि डिग्री हुनु सामान्य मापदण्ड भएको पुष्टी हुनुपर्छ । यसको मतलव कम्पनी यदि डिग्री नचाहिने खालको छ भने किन डिग्री होल्डरको आवश्यकता छ भन्ने पुष्टी गर्नुपर्छ वा कम्पनी डिग्री चाहिने खालको हुनुपर्छ ।

कामदारका लागि सामान्यतया डिग्री चाहिने वा उक्त पदका लागि सो सरहको योग्यता चाहिने कुरा कम्पनीले पुष्टी गर्नुपर्छ । वा, कामको प्रकृति यति विशिष्ट वा जटिल छ कि कामका लागि आवश्यक ज्ञान स्नातक वा सो भन्दामाथिको डिग्री आवश्यक छ ।

त्यस्तै काम प्राप्त गर्ने लाभग्राही वा कामदारले पनि चारवटामध्ये एउटा योग्यता पूरा गरेको हुनुपर्छ ।

लाभग्राही अमेरिकाको मान्यताप्राप्त कलेज वा युनिभर्सिटीबाट स्नातक वा त्योभन्दा माथिको डिग्री हासिल गरेको हुनुपर्छ । अमेरिकामा डिग्री हासिल गरेर स्वदेश फर्किसकेको छ भने पनि फरक पर्दैन ।

वा, अमेरिकाको स्नातक वा त्योभन्दामाथिको डिग्रीसरह मान्यता पाउनेगरी विदेशको डिग्री प्राप्त गरेको हुनुपर्छ ।

वा, विशेष पेशामा आवद्ध भएर काम गर्नका लागि राज्यका तर्फबाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । जुन लाइसेन्सले विशेष पेशाको अभ्यासका लागि अनुमति प्रदान गर्छ ।

वा, कुनै विषयगत शिक्षा वा प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ । जुन विशेष डिग्री सरह नै हुन्छ । यसो हुँदा सम्बन्धित विषयमा विज्ञ भएको हुनुपर्छ ।

सामान्यता यी मापदण्डहरु पूरा गरेको रोजगारदाता र लाभग्राहीले अमेरिकाको कामदार भिसा एचवानबी बाट फाइदा लिनसक्छन् ।

यो भिसामार्फत विश्वका विभिन्न देशबाट आइटी लगायतका क्षेत्रमा विशेष ज्ञान भएका कामदारहरु अमेरिका भित्रिने गर्छन्, जसमध्ये भारतीयहरुको संख्या सबैभन्दा धेरै रहेको छ । विशेष पेशाका लागि विशेष ज्ञान र कम्तीमा स्नातक तहको अध्ययन वा सो सरहको अनुभव हुन अनिवार्य छ ।

यो भिसाको अवधि ३ बर्ष हुन्छ र ६ बर्षसम्म थप्न सकिने प्रावधान रहेको छ । त्यसपछि भिसावाहकले यहीभिसामा रहनका लागि पुन आवेदन दिनुपर्ने हुनसक्छ । यो भिसा सन् १९९० को अध्यागमन ऐन अन्तरगत श्रृजना गरिएको हो । यद्यपी अमेरिकामा सन् १९५२ को अध्यागमन तथा राष्ट्रियता ऐनले नै एच वान भिसाको श्रृजना गरेको थियो । तर पनि सन् १९९० पछि नर्सहरुका लागि एचवान ए र अन्यका लागि एचवान बी छुट्याइएको थियो ।

अमेरिकाको कामदार भिसा पठाउने नाममा ठगहरु सकृय हुने गरेका छन् । ठगहरुले निश्चित रकम माग्दै कामदार भिसा दिलाइदिने प्रतिबद्धता जनाउने गरेका छन् । यस्ता ठगहरुबाट बच्न न्युयोर्क निवासी कानुन व्यवसायी केशवराज सेडाईले केही टिप्सहरु समेत दिनुभएको छ ।

खासगरी पैसामा माग्ने कम्पनी र दलालबाट सावधान हुन उहाँले सचेत गराउनुभएको छ । अमेरिकन कम्पनीहरुले जागिरको अफर गर्दा उक्त कम्पनीको पृष्ठभूमि इन्टरनेटमा चेक गर्न उहाँले सुझाव दिनुभएको छ । साथै गुगल रिभ्यु पनि हेर्न सुझाव दिनुभएको छ ।

यदि कम्पनी सही छ भने अमेरिकी कानुन अनुशार भिसा आवेदन दिइने व्यक्तिका लागि कुनै शुल्क नलिने उहाँले जानकारी दिनुभयो । यदि कम्पनीले पैसा मागेको खण्डमा आफू त्यसबाट टाढै रहन उहाँले सुझाव दिनुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com