न्युयोर्ककी प्रख्यात क्यान्सर डाक्टरबाट बच्चा र आफैलाई गोली प्रहार, दुबैको मृत्यु


प्रकाशित मिति : श्रावण २०, २०८० शनिबार

न्युयोर्क सिटीकी एक प्रख्यात क्यान्सर डाक्टरले शनिबार वेस्टचेस्टरको घरमा आफू र आफ्नो बच्चाको हत्या गरेकी छिन्, जसलाई पुलिसले हत्यापछिको आत्महत्या भएको विश्वास गरेको छ । माउन्ट साइनाई अस्पतालकी हेमाटोलोजी अन्कोलोजी विशेषज्ञ ४० वर्षीया डा क्रिस्टल कासेटाले आफ्नो बच्चालाई गोली हानेपछि बिहान आफैलाई गोली हानेको जनाइएको छ ।

सोमर्सस्थित उनको घरमा घटना भएको हो । बालक कति वर्षको थियो भन्ने खुल्न सकेको छैन । उनको सन् २०१९ मा विवाह भएको थियो । लगभग बिहान ७ बजे क्रिस्टल क्यासेटा बच्चाको कोठामा पसेर बच्चालाई गोली हानेको र त्यसपछि आफैंमाथि बन्दुक चलाएको प्रारम्भिक अनुसन्धानले देखाएको राज्य प्रहरीले एक विज्ञप्तिमा बताएको छ ।

क्यासेटाले अल्बानी मेडिकल कलेजबाट स्नातक गरेकी थिइन् । माउन्ट साइनाई वेबसाइटमा उनको जीवनी अनुसार उनलाई बिरामीहरूसँग व्यवहार गर्दा देखाएको करुणाको लागि पुरस्कार दिइएको थियो ।

उनले नर्थ शोर युनिभर्सिटी अस्पतालको होफस्ट्रा नर्थ शोर एलआईजे स्कूल अफ मेडिसिनमा आफ्नो रेसिडेन्सी पूरा गरेकी थिइन् । त्यहाँ पनि उनी बिरामीहरूसँग राम्रो व्यवहार गरेका कारण पुरस्कृत भएकी थिइन् । माउन्ट साइनाईमा डाक्टर कासेटा स्तन क्यान्सर अनुसन्धानमा विशेषज्ञ थिइन् ।

माउन्ट साइनाईले शनिबार राति एक विज्ञप्ति जारी गर्दै यसको पुष्टी गरेको छ । माउन्ट साइनाई स्वास्थ्य प्रणालीका डाक्टर र उनको बच्चाको दुखद क्षतिबाट माउन्ट साइनाई समुदाय धेरै दुखी भएको भन्दै अस्पतालले डा कासेटाको परिवार, साथीहरू, सहकर्मीहरू र बिरामीहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com