२०२४ का डिभी विजेता नेपालीहरु ३८६३, अक्टोबरदेखि भिसा पाउन सुरु गर्ने


प्रकाशित मिति : श्रावण २३, २०८० मंगलबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आर्थिक बर्ष २०२४ का डिभी विजेता नेपालीहरुको संख्या मंगलबार सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०२४ का डिभी विजेता नेपालीहरुको संख्या ३८६३ रहेको छ, जुन एसियामा तेश्रो धेरै हो । एसियामा सबैभन्दा धेरै इरानका ५ हजार ७७ जनाले र दोश्रोमा अफगानिस्तानका ४५३६ जनाले डिभी पारेका छन् ।

डिभी लोटरी २०२४ को नतिजा गत मे महिनाको पहिलो साता सार्वजनिक भएपनि कुन देशका कतिकति जनालाई डिभी परेको थियो भन्नेबारे सार्वजनिक गरिएको थिएन । नतिजा सन् २०२४ को सेप्टेम्बरसम्म अनलाइनमा हेर्न सकिनेछ ।

गतबर्षको अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म डिभी लोटरी भरेकाहरुले आफू छनौट भए नभएको हेर्न सक्नेछन् । यदि छनौट भएको खण्डमा उनीहरुले आगामी अक्टोबरदेखि अमेरिकाको भिसा पाउन थाल्नेछन् ।

तपाईसँग कन्फर्मेशन नम्बर छ भने तपाईले आफूलाई डिभी परे नपरेको सहजै हेर्न सक्नुहुनेछ । यदि तपाई डिभीका लागि छनौट हुनुभएन भने तपाई छनौट नहुनुभएको सुचना स्क्रीनमा देख्न सक्नुहुनेछ । यदि तपाई छनौट हुनुभएको खण्डमा त्यसपछिको प्रकृयासहितको पत्र स्क्रीनमा देख्न सक्नुहुनेछ ।

डिभी लोटरी परे नपरेको थाहा पाउने एउटामात्र तरिका आधिकारिक वेवसाइटमा गएर कन्फर्मेशन नम्बर हालेर स्टाटस चेक गर्ने हो । कन्फर्मेशन नम्बर, थर र जन्मबर्ष हालेर डिभी परे नपरेको चेक गर्न सकिन्छ । तर कन्फर्मेशन नम्बर हराइहाले पनि चिन्ता गर्नु नपर्ने भएको छ ।

डिभी लोटरीको कन्फर्मेशन नम्बर हराएको खण्डमा  नाम, जन्ममिति र इमेल ठेगाना मार्फत कन्फर्मेशन नम्बर प्राप्त गर्नसकिने सुविधा अमेरिकी सरकारले दिएको छ । तर तपाईले डिभी भर्ने बेला जुन इमेल ठेगाना प्रयोग गर्नुभएको थियो त्यही इमेल ठेगाना उल्लेख गर्नुपर्छ ।

अमेरिकी कङ्ग्रेसको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्ने गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३९सी० ले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई “डाइभर्सिटी आप्रवासी” का रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ ।

चिठ्ठा पर्ने आवेदकहरू  ले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ ।  भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।

अमेरिकी सरकारले तपाईँलाई प्रत्यक्ष रूपमा सूचित गर्दैन । एन्ट्रेन्ट स्टेटस चेक आफ्नो आवेदनको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने निर्देशनहरूको एक मात्र स्रोत हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com