हवाईमा लागेको जंगली आगोका कारण कम्तीमा ६ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त
प्रकाशित मिति : श्रावण २४, २०८० बुधबार
हवाईका दुई टापुहरूमा जङ्गलमा लागेको डढेलोले कम्तिमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। विद्युत् र पहुँचयोग्य सडक नभएका क्षेत्रमा फसेका स्थानीय तथा पर्यटकको खोजी तथा उद्धार कार्य जारी छ ।
अधिकारीहरूले बुधबार एक आपतकालीन घोषणामा हस्ताक्षर गरेका छन् भने पर्यटकहरूलाई माउको यात्रा गर्न निरुत्साहित गरेका छन् । आगलागीपछि सबैभन्दा प्रभावित माउ टापुमा आश्रयहरू भरिएका छन् । अधिकारीहरूले फसेका पर्यटकहरुलाई सकेसम्म चाँडो बाहिर निकाल्न मुख्य एयरलाइन्सहरूसँग काम गरिरहेका छन् ।
आगोले माउ टापुको लोकप्रिय पर्यटक सहर लाहाइनाको धेरैजसो भाग ध्वस्त पारेको छ । सयौं परिवार विस्थापित भएका छन् । आगोले टापुमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ भने व्यापक संरचनात्मक क्षति गरेको छ । अधिकारीहरूले बासिन्दाहरूलाई सम्भावित ूसम्पत्तिको क्षति र शारीरिक चोटका कारण हुनसक्ने प्रकोपबारे चेतावनी दिएका छन् ।
वर्षा र बाढीको समेत चेतावनी दिइएको छ । टापुहरूमा असर नगर्ने आँधीले यस प्रकारको जंगली आगो निम्त्याउने कुरा अपेक्षा नगरेको अधिकारीहरुले बताएका छन् । हावाका कारण बढेको आगोले धेरै समुदायहरूमा क्षति पुराएको छ । राज्य सरकारले व्हाइट हाउसबाट प्रकोप घोषणाको अनुरोध गर्ने योजना बनाएको छ ।
हवाई गभर्नर जोस ग्रीनले लाहाइना सहरको धेरैजसो भाग ध्वस्त भएको र सयौं परिवार विस्थापित भएको बताएका छन् । माउको पश्चिम तर्फ कुनै ९११ सेवा छैन भने सेल टावरहरू भत्किएका कारण सञ्चार विच्छेद भएको छ ।