अमेरिकामा डढेलोबाट मृत्यु हुनेको संख्या ५३, राष्ट्रपति जो बाइडेनबाट प्रकोप घोषणा
प्रकाशित मिति : श्रावण २५, २०८० बिहीबार
अमेरिकाको हवाईमा तीव्र गतिमा फैलिएको डढेलोबाट मृत्यु हुनेको संख्या बढेर ५३ पुगेको माउ काउन्टीका अधिकारीहरूले बताएका छन्। उद्दारकार्य जारी रहँदा मृतकको संख्या पनि बढेको हो । ज्वालाहरू माउभर फैलिएको छ भने हवाई टापुमा पनि आगलागी रिपोर्ट गरिएको छ । स्थानीय र आगन्तुकहरू फसेका छन् भने आँधी डोरासँग जोडिएको बलियो हावाले आगो नियन्त्रण गर्न अधिकारीहरूको प्रयासलाई बाधा पुर्याइरहेको छ।
आगलागीले माउ काउन्टीको ऐतिहासिक र लोकप्रिय छुट्टी मनाउने सहर लहैना नष्ट भएको र सदाका लागि परिवर्तन भएको लेफ्टिनेन्ट गभर्नर सिल्भिया ल्यूकको भनाई छ । बिहीबार बिहानसम्म लहैनाको आगलागी ८० प्रतिशत नियन्त्रणमा आएको काउन्टी अधिकारीहरूले बताएका छन् । राष्ट्रपति जो बाइडेनले बिहीबार हवाईमा ठूलो प्रकोप घोषणा गरेका छन् भने डढेलोबाट प्रभावित क्षेत्रहरूमा संघीय सहायताको आदेश दिएका छन् ।
बाइडेनले बिहीबार हवाईका गभर्नर जोस ग्रीनसँग फोनमा कुरा गरेको र आगलागीबाट भएको जनधनको क्षति र क्षतिप्रति समवेदना व्यक्त गरेको बताएका छन् । माउमा लगभग ११ हजार मानिसहरू अझै पनि बिजुलीविहीन छन्। स्याटेलाइट तस्बिरहरूले पूरै क्षेत्र जलेको देखाएको छ । सयौं घर र पसलहरू ध्वस्त भएका छन् । बिहीबार बिहान शेयर गरिएको भिडियोमा उद्धार टोलीहरू प्रत्येक व्यक्तिको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न अथक प्रयास गरिरहेको देखिएको थियो ।
हवाई नेशनल गार्डका १३० भन्दा बढी सदस्यहरू सक्रिय भएका छन् भने हेलिकप्टरहरू पावर र पहुँचयोग्य सडकहरू नभएका क्षेत्रहरूमा पछाडि छोडिएकाहरूलाई खोजिरहेका छन्। बिहीबार पश्चिम माउका लागि थप सामूहिक उद्दार बसहरु परिचालन गरिएको छ । अधिकारीहरूले लाहैनामा व्यापक क्षति गरेको डढेलो स्थानीय समयअनुसार बिहीबार बिहानसम्म ८० प्रतिशत नियन्त्रणमा आएको बताएका छन् भने माउमा भएको दोस्रो आगलागी ७० प्रतिशत नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन् । र तेस्रो आगोको थप मूल्याङ्कन गर्न बाँकी छ।
हवाई राज्यको स्वास्थ्य विभागका अधिकारीहरूले संकटकालिन सेवाहरू विस्तार गरिएको बताएका छन् । माउ सामुदायिक मानसिक स्वास्थ्य केन्द्रमा माउ जंगली आगोको परिणामको रूपमा भावनात्मक वा मनोवैज्ञानिक पीडा अनुभव गर्नेहरूलाईू थप सेवा विस्तार गरिएको छ । डढेलोबाट मृत्यु हुनेको संख्या उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ । यो संख्या ६० भन्दा धेरै पुग्नसक्ने गभर्नर ग्रीनको भनाई छ ।