कोलोराडोमा सेप्टेम्बर २ देखि ५ सम्म नेपाली पासपोर्ट सेवा, शुल्क डेबिट र क्रेडिट कार्डबाट
प्रकाशित मिति : श्रावण २९, २०८० सोमबार
अमेरिकाको वाशिंटन डिसीमा रहेको नेपाली दूतावासले सेप्टेम्बर २ देखि ५ सम्म कोलोराडोमा कन्सुलर सेवा दिने भएको छ । कोलोराडो राज्यको वेष्टमिनिस्टरमा कोलोराडो क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी कन्सुलर सेवा शिविरमार्फत राहदानी नविकरणको सेवा प्रदान गर्ने कार्यक्रम तय गरिएकाले उक्त मितिका लागि अनलाइन आवेदन भरी अप्वाइन्टमेन्ट लिएर राहदानी नविकरणको सेवा लिन दूतावासले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
वेष्टमिनिस्टरको १०३९३ रिड स्ट्रीटमा रहेको ड्ररी इन एण्ड सुइट्स(Drury Inn and Suites, 10393 Reed Street, Westminster 80021) मा विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कन्सुलर सेवा प्रदान गरिनेछ । दिउसो १ बजेदेखि २ बजेसम्मभने लन्च ब्रेक हुनेछ । विद्युतीय राहदानी नविकरणका लागि फारम भर्न र अप्वाइन्टमेन्ट लिन आफ्नो कम्प्युटर, ल्यापटप वा मोबाईलको मिति र टाइमजोन काठमाडौंको सेटअप गर्नुपर्नेछ । त्यसपछि नियमित वेवसाइटमा गएर फारम भर्नुपर्नेछ ।
पासपोर्टका लागि फारम भर्ने र अप्वाइन्टमेन्ट लिने वेवसाइटमा जानका लागि यहाँ क्लीक गर्नुहोला ।
वेवसाइटमा गइसकेपछि पासपोर्टका लागि आवेदनको विकल्पमा क्लीक गरेपछि पहिले एमआरपी भएकाहरुले नविकरण वा पुनस्थापनमा क्लीक गर्नुपर्नेछ । पहिले हस्तलिखित पासपोर्ट भएकाहरुले भने पहिलोपटक जारीको विकल्प छनौट गर्नुपर्नेछ । त्यसपछि साधारण ६६ पृष्ठको पासपोर्ट छनौट गरेर प्रकृया गर्नुपर्छ । त्यसपछि अप्वाइन्टमेन्ट लिनका लागि अन्य मुलुक छनौट गरि वशिंटन डिसीमा क्लीक गर्नुपर्छ ।
त्यसपछि कोलोराडो कन्सुलर सेवा शिविरका लागि मात्र उपलब्ध गराईएको सेप्टेम्बर २, ३, ४ र ५ को मिति छनौट गरी सम्पूर्ण विवरण भरिसकेपछि अन्त्यमा बारकोड सहितको पीडीएफ फाराम डाउनलोड गर्नु पर्नेछ। डाउनलोड गरिएको फारामको दाँयापट्टि छेउमा र तलपट्टी बारकोड रहेको देख्न सकिनेछ। उक्त बारकोडसहितको फारामको स्क्यान गरिएको पीडीएफ प्रति, पासपोर्ट र नागरिकताको फोटोकपी अट्याच गरी अगस्त २६ अगाडि नै प्रमाणिकरणका लागि दूतावासको इमेल ठेगाना ([email protected]) मा पठाउनुपर्नेछ ।
फाराम प्रमाणलीकरण नगरी निवेदकले भरेको विवरण निकाल्न नसकिने तथा सो नभई बायोमेट्रिक लिन नसकिने उल्लेख गर्दै फारामलाई प्रमाणिकरणका लागि अनिवार्य रुपमा अगस्त २६ भित्र दूतावासमा पठाउन सुझाव दिइएको छ । अन्यथाः शिविरबाट सेवा प्राप्त गर्न नसकिने प्रष्ट पारिएको छ । डाउनलोड गरिएको फारामको प्रिन्ट प्रति तथा अन्य आवश्यक कागजातसहित कोलोराडोको तोकिएको स्थान र समयमा आवेदक स्वयम् उपस्थित हुनुपर्नेछ।
विद्युतीय राहदानीका लागि शिविरमा आउँदा सक्कल नागरिकता र सोको प्रतिलिपि, नाबालकको हकमा नाबालक परिचयपत्र तथा बाबु र आमा को नागरिकताको प्रतिलिपि, सक्कल राहदानी र सोको प्रतिलिपि, बायोमेट्रिकका लागि रीतपूर्वक अनलाईन फाराम भरी सोको बारकोड सहितको प्रिन्टआउट प्रति ल्याउन सुझाव दिइएको छ ।
पासपोर्टको शुल्क डेबिट कार्ड र क्रेडिट कार्डबाटमात्र तिर्न सकिने बनाइएको छ । डेबिट कार्डबाट तिर्दा ६६ पृष्ठको पासपोर्टका लागि १५३ डलर, १० बर्षभन्दा कम उमेरका बच्चाको पासपोर्टका लागि ७६ डलर ७५ सेन्टस, हराएको र क्षतिग्रस्त भएको पासपोर्टका सन्दर्भमा ३०६ डलर र १० बर्षभन्दा कम उमेरका बच्चाको हराएको र क्षतिग्रस्त भएको पासपोर्टका सन्दर्भमा १५३ डलर तिर्नुपर्नेछ । त्यस्तै क्रेडिटकार्डबाट तिर्दा भने ६६ पृष्ठको पासपोर्टका लागि १५० डलर, १० बर्षभन्दा कम उमेरका बच्चाको पासपोर्टका लागि ७५ डलर, हराएको र क्षतिग्रस्त भएको पासपोर्टका सन्दर्भमा ३०० र १० बर्षभन्दा कम उमेरका बच्चाको हराएको र क्षतिग्रस्त भएको पासपोर्टका सन्दर्भमा १५० डलरका साथमा थप ३ प्रतिशत क्रेडिट कार्ड सेवाशुल्क तिर्नुपर्नेछ ।
आवेदकले नयाँ राहहदानी प्रिण्ट भई राजदूतावासले राहदानी विभागबाट प्राप्त गरिसकेपछि सम्बन्धित आवेदकको ठेगानामा पठाउन पहिले नै पैसा तिरीसकेको आफ्नो पूरा ठेगाना लेखेको फिर्तिखाम पनि ल्याउनुपर्नेछ । राहदानी सेवा सम्बन्धी अन्य प्रक्रिया, आवश्यक कागजात दूतावासमा नियमित आवेदन दिँदा गरिने प्रक्रिया सरह हुने दूतावासले जनाएको छ । विस्तृत जानकारीको लागि दूतावासको वेवसाइटमा हेर्न सकिनेछ।
थप जानकारी आवश्यक भएमा कोलोराडोमा रहेका एनआरएन कोलोराडोका अध्यक्ष प्रकाश पौडेल (303 250-6323), एनआरएनए कोलोराडो च्याप्टरका पूर्व अध्यक्ष रामचन्द्र पन्त (720 412-7990), नेपाली घरका जगदिश ढकाल (303 7047528) वा नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिनेछ ।