आइतबारदेखि न्युयोर्कमा ट्रेन र बसको भाडा बढ्दै, थप ३०५ मिलियन डलर आम्दानी हुने


प्रकाशित मिति : भाद्र १, २०८० शुक्रबार

आइतबारदेखि न्युयोर्क सिटीमा ट्रेन र बसको भाडा बढाइने भएको छ । सन् २०१९ यता न्युयोर्कको मेट्रो ट्रेन र बसको भाडा पहिलोपटक बढाइन लागेको हो भने सन् २०१५ यता आधारभूत भाडा पहिलोपटक बढाउन लागिएको हो । अब २ डलर ७५ सेन्टसबाट भाडा बृद्धि भएर यात्रुहरुले २ डलर ९० सेन्टस तिर्नुपर्नेछ । यो भाडाबृद्धिबाट न्युयोर्कसिटीमा रहेका दशौं हजार नेपाली समुदायका व्यक्ति पनि प्रभावित हुनेछन् ।

न्युयोर्क सिटी ट्रान्जिट, लङ आइल्याण्ड रेल रोड र मेट्रो नर्थ रेलमार्गको भाडा पनि ४ प्रतिशत बृद्धि हुने भएको छ । अगस्त ६ देखि एमटीएका नौ वटा पुल र टनेलहरुमा पनि टोल औसत साढे ५ प्रतिशत बृद्धि भइसकएको छ । ईजीपास नहुनेहरुका लागि टोल झण्डै १० प्रतिशतले बृद्धि भएको छ ।

एमटीएले एक्सप्रेस बस र मासिक मेट्रोकार्डहरूमा पनि मूल्य बढाउँदैछ। एक्सप्रेस बस भाडा हालको ६ डलर ७५ सेन्टरबाट ७ डलर हुनेछ । एक्सप्रेस बसको साप्ताहिक मेट्रोकार्डको शुल्क ६२ डलरबाट ६४ डलर बनाइदैछ ।

person standing inside terminal
Photo by Nic Y-C

साप्ताहिक अनलिमिटेड मेट्रो कार्डको मूल्य ३३ डलरबाट बढेर ३४ डलर हुनेछ भने मासिक अनलिमिटेड मेट्रो कार्डको मूल्य १२७ डलरबाट १३२ डलर हुनेछ । ओम्नी कार्डबाट तिर्नेहरु र बैंक कार्डबाट तिर्नेहरुका लागि थप सहज हुनेछ । साप्ताहिक मेट्रो कार्ड लिंदा एकैपटक ३४ डलर तिर्नुपर्ने भएतापनि ओम्नी वा बैंककार्डबाट तिर्दा साप्ताहिक ३४ डलर काटेपछिका राइडहरु निशुल्क हुनेछन् भने कारणवश कममात्र राइड गरेका कारण ३४ डलर नपुगेमा साप्ताहिक शुल्क कम हुनेछ । बृद्ध र कम आम्दानी हुनेहरुका लागि छुट भने कायमै रहनेछ ।

यो बृद्धिले एमटीएलाई बार्षिक थप ३०५ मिलियन डलर आम्दानी हुनेछ । उक्त रकमले ट्रेनको सुधार र परिचालन लागतमा मद्दत गर्नेछ। न्युयोर्क गभर्नर क्याथी होकुले एमटीएलाई १ बिलियन डलरभन्दा धेरै बजेट विनियोजन गरे लगत्तै यो भाडाबृद्धि आएको हो । होकुलले १ बिलियन बजेट विनियोजन नगरेको भए भाडा अझ धेरै बढाउनुपर्ने अवस्था आउने एमटीएले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com