फाइनल एक्सन डेट अघिका बाहेकका आप्रवासी भिसाको अन्तरवार्ता तय हुँदैन: अमेरिकी दूतावास काठमाडौं
प्रकाशित मिति : भाद्र ७, २०८० बिहीबार
अमेरिकी विदेश मन्त्रालयको भिसा बुलेटिनमा फाइनल एक्सन डेट करेन्ट नभएका आप्रवासी भिसाको अन्तरवार्ता अप्वाइन्टमेन्ट तय गर्न नसक्ने अमेरिकी दूतावास काठमाडौंले प्रष्ट पारेको छ । फाइलिङ डेट करेन्ट भएका आधारमामात्र आप्रवासी भिसाको अन्तरवार्ता अप्वाइन्टमेन्ट तय नगरिने र अन्तरवार्ताको मिति पाउन फाइनल एक्सन डेट करेन्ट भइसकेको हुनुपर्ने दूतावासले प्रष्टाएको हो ।
हजारौं नेपालीहरु रोजगार वा परिवारमा आधारित ग्रिनकार्डको फाइलिङ डेट करेन्ट भइसकेपछि पनि दूतावासमा आप्रवासीका भिसाको अन्तरवार्ता अप्वाइन्टमेन्ट प्राप्त गर्न नसक्नदा बर्षौदेखि प्रतिक्षामा रहेका छन् । रोजागरमा आधारित र आप्रवासी भिसाको फाइलिङ डेट करेन्ट भइसकेपछि नेशनल भिसा भिसा सेन्टरले थप प्रकृया अगाडि बढाएर आवेदन दूतावासमा पठाउने भएतापनि फाइनल एक्सन डेट करेन्ट नभएसम्म अन्तरवार्ताका लागि उनीहरुले अप्वाइन्टमेन्ट नपाउने भएका छन् ।
दूतावासका कन्सुलर अधिकारीले फेसबुकमा गरेको भिसा च्याटमा आफूहरुले ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरी, अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनी र रोजागारमा आधारित तेश्रो श्रेणीको ग्रिनकार्डका लागि आप्रवासी भिसाका आवेदकहरुले भिसा अपोइन्टमेन्टहरू तय गर्ने बारे धेरै प्रश्नहरू गरिरहेको उल्लेख गर्दै यी भिसा श्रेणीहरु विश्वव्यापी संख्यात्मक सीमाहरूको अधीनमा रहेको तथा सामान्यतया धेरै लामो पर्खाइ हुनसक्ने बताएका छन् । यसले नेपाल मात्र नभई सबै देशलाई असर गर्ने तथा आवेदकको प्राथमिकता मिति फाइनल एक्सन डेट भन्दा अगाडि नभएको खण्डमा दूतावासले अप्वाइन्टमेन्ट दिन नसक्ने उनले बताएका छन् ।
सेप्टेम्बरको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका अविवाहित छोराछोरीका लागि फाइनल एक्सन डेट सन् २०१५ को जनवरी १ रहेको छ । अर्थात् त्यो भन्दा अगाडि आई १३० फाइल गरेका वा प्राथमिकता मिति भएकाहरुलेमात्र सेप्टेम्बरमा भिसाका लागि अप्वाइन्टमेन्ट पाउन सक्नेछन् । त्यस्तै अमेरिकी ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका लागि सेप्टेम्बरका लागि फाइनल एक्सन डेट सन् २०१८ को जनवरी १ रहेको छ । यसको अर्थ त्यो भन्दा अगाडि आई १३० फाइल गरेका वा प्राथमिकता मिति भएकाहरुलेमात्र सेप्टेम्बरमा भिसाका लागि अप्वाइन्टमेन्ट पाउन सक्नेछन् ।
ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरीहरुका लागि सेप्टेम्बरका लागि फाइनल एक्सन डेट सन् २०१५ को सेप्टेम्बर २२ रहेको छ भने अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुका लागि फाइनल एक्सन डेट सन् २००९ को जनवरी ८ रहेको छ । त्यस्तै अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका लागि सेप्टेम्बरका लागि फाइनल एक्सन डेट सन् २००७ को अप्रिल २२ रहेको छ । यदि यो श्रेणीमा तपाईको आई १३० सन् २००७ को अप्रिल २२ अगाडि फाइल गरिएको थियो र नेशनल भिसा सेन्टरको सबै प्रकृया पूरा भएको छ भने तपाईले सेप्टेम्बर वा त्यसपछि भिसाका लागि अप्वाइन्टमेन्ट पाउन सक्नुहुनेछ ।
त्यस्तै रोजगारमा आधारित ग्रिनकार्डका सन्दर्भमा फाइनल एक्सन डेट पहिलो श्रेणीका लागि १ अगस्त २०२३, दोश्रोका लागि १ जुलाई २०२२, तेश्रोका लागि १ मे २०२०, चौथोका लागि १ सेप्टेम्बर २०१८ र अन्य धार्मिक कामदारका लागि पनि १ सेप्टेम्बर २०१८ रहेको छ । यो मितिभन्दा अगाडि आई १४० फाइल गरेका र सबै प्रकृया पूरा भएर फाइल नेशनल भिसा सेन्टरबाट दूतावासमा गएकाहरुलेमात्र सेप्टेम्बरमा भिसाको अन्तरवार्ताका लागि अप्वाइन्टमेन्ट पाउनेछन् ।