अहिलेसम्म भिसा अप्वाइन्टमेन्ट तय नभएका २०२३ का डिभी विजेता अमेरिका आउन नपाउने
प्रकाशित मिति : भाद्र ११, २०८० सोमबार
सेप्टेम्बरका लागि अहिलेसम्म भिसा अप्वाइन्टमेन्ट तय नभएका आर्थिक बर्ष २०२३ का डिभी विजेताहरु अमेरिका आउन नपाउने भएका छन् । उनीहरु डिभी लोटरीमा छनौट भएतापनि अमेरिका आउन पाउनेछैनन् भने सेप्टेम्बरपछि डिभी २०२३ समाप्त हुनेछ । अक्टोबर १ देखि डिभी २०२४ का विजेताहरुले भिसा पाउन सुरु गर्नेछन् ।
डाइभर्सिटी भिसा लगायतका अप्वाइन्टमेन्टहरु एकदेखि दुईमहिना अगाडि नै तय गरिने र सेप्टेम्बरका लागि सबै भिसा अप्वाइन्टमेन्टहरु तय गरिसकिएको अमेरिकी विदेश मन्त्रालय श्रोतले जनाएको छ । सेप्टेम्बरका लागि २१ हजारसम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरुकोमात्र भिसा करेन्ट भएकाले त्योभन्दा माथि केस नम्बर हुने नेपालीहरुले २०२३ को डिभी अन्तरगत भिसा पाउनेछैनन् ।
अगस्त महिनाका लागि पनि डिभी विजेता नेपालीहरुको केस नम्बर २० हजार ५ सय कायम गरिएको छ । मेको तुलनामा जुनमा केस नम्बर नथपिएतापनि जुलाईमा पनि १७ हजार ७ सय ७५ बाट बढाएर १९ हजार ४ सय बनाइएको थियो । जुन महिनाका लागि पनि १७ हजार ७ सय ७५ सम्म केस नम्बर करेन्ट रहेको थियो भने अप्रिलका लागि यो नम्बर १२ हजार ६ सय रहेको थियो ।
जनवरीका लागि नेपालीहरुको केस ५५ सय रहेकोमा फेब्रुअरीका लागि १५ सय थपेर ७ हजार बनाइएको थियो भने मार्चका लागि ८ हजार २५ रहेको रहेको थियो । डिसेम्बरका लागि भने नेपालीहरुको केस नम्बर १७ सय मात्र रहेको थियो । अक्टोबरमा १४५० सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा पाउनसक्नेगरी सिमाबन्दी तोकिएकोमा नोभेम्बरका लागि समेत सोही सिमाबन्दी कायम रहेको थियो ।
डिभी २०२३ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्ने प्रावधान रहेतापनि अमेरिकी दूतावास काठमाडौंले अक्टोबर र नोभेम्बरमा कसैलाई पनि डाइभर्सिटी भिसा जारी गरेन । डिसेम्बरदेखि भने डिभी विजेता नेपालीहरुलाई भिसा जारी गर्न थालिएको हो । कुल १ लाख १९ हजार २ सय ६२ जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले भिसा पाउनसक्नेछन् । आर्थिक बर्ष २०२३ का डिभी विजेता नेपालीहरुको संख्या ३८०८ रहेको छ ।
डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए । उनीहरुले २०२१ को अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म डिभी लोटरी भरेका थिए । अमेरिकाभित्रै हुने डिभी लोटरी विजेताहरुले युएससीआईएसमार्फत स्थीति समायोजन गरेर ग्रिनकार्ड पाउनसक्छन् भने बाहिर हुनेले कन्सुलर प्रकृयामार्फत भिसा प्राप्त गर्नेछन् ।
९ महिनामा २७७६ जना नेपालीलाई डाइभर्सिटी भिसा
जुनमा १३१ जना नेपालीहरुलाई डाइभर्सिटी भिसा प्रदान गरिएको थियो । मे मा ६९६ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाए । योसँगै आर्थिक बर्ष २०२३ को ९ महिनामा २७७६ जना नेपालीलाई डाइभर्सिटी भिसा प्रदान गरिएको छ । अप्रिलमा ८२० जना नेपालीहरुलाई डाइभर्सिटी भिसा प्रदान गरिएको थियो जुन मार्चको तुलनामा दोब्बरभन्दा धेरै हो । मार्चमा ३७२ जना नेपालीहरुलाई डाइभर्सिटी भिसा प्रदान गरिएको थियो ।
अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार गत अक्टोबरबाट सुरु आर्थिक बर्ष २०२३ को सुरुका २ महिनामा २ जना नेपालीलाईमात्र डाइभर्सिटी भिसा दिइएपनि डिसेम्बर, जनवरी र फरबरीमा भने ७५७ जनालाई डाइभर्सिटी भिसा प्रदान गरिएको हो ।
डिसेम्बरबाट डाइभर्सिटी भिसा दिन सुरु गरिएकोमा उक्त महिना १३८ जना नेपालीले डाइभर्सिटी भिसा पाएका थिए । जनवरीमा ३३२ जनालाई डाइभर्सिटी भिसा दिइएको थियो भने फरबरीमा यो संख्या केही कम देखिएको थियो । फरबरीमा २८७ जना नेपालीहरुलेमात्र डाइभर्सिटी भिसा पाए ।