अमेरिका आउने आप्रवासी तस्करीका लागि कुख्यात मेक्सिकोको बाटोमा एम्बुसमा ६ जनाको मृत्यु
प्रकाशित मिति : भाद्र १३, २०८० बुधबार
आप्रवासी तस्करीको बाटोका लागि परिचित ग्वाटेमाला सीमा नजिकैको दक्षिणी मेक्सिकोको ग्रामीण सडकमा एम्बुसमा परेर ६ जनाको मृत्यु भएको छ । दक्षिणी राज्य चियापासका अधिकारीहरुका अनुशार घटना ग्वाटेमालाको सीमाबाट करिब ३० माईल टाढा सिल्टेपेक शहरको ग्रामीण सडकमा भएको थियो।
आक्रमणकारीले सडक छेउबाट गोली चलाउँदा पीडितहरू सबै एउटै पिकअप ट्रकमा सवार रहेको देखिएको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोहरूका अनुसार अधिकांश पीडितहरूले कालो टिसर्ट र जिन्स लगाएको देखिएको छ ।
अधिकारीहरूले पीडितहरूको पहिचान गरेका छैनन् । साथै उनीहरूको राष्ट्रियताबारे पनि केही बताइएको छैन । उनीहरू आप्रवासी भए नभएको पनि खुलासा गरिएको छैन ।
यो क्षेत्र लामो समयदेखि आप्रवासी तस्करीको मार्गका रूपमा परिचित छ । तर यहाँ हालैमात्र तस्करी र जबरजस्ती असुली नियन्त्रणको लागि जलिस्को र सिनालोआ कार्टेलहरू बीचको रक्तपातपूर्ण लडाई समेत भएको थियो ।
नजिकैको शहर मोटोजिन्टलामा त्यहाँका बासिन्दाहरू र ट्याक्सी र बस चालकहरूले कार्टेलहरूबाट निरन्तर धम्की र जबरजस्ती चन्दा असुलेको विरोध गर्दै प्रदर्शन समेत गरेका थिए । मंगलबारमात्रै यस्तो प्रदर्शन गरिएको थियो ।
सीमा नजिक,अज्ञात आक्रमणकारीहरूले यस क्षेत्रको मुख्य सडक अवरुद्ध गरी एक मालवाहक ट्रकमा आगजनी समेत गरेका छन्।
कभर फोटो: आप्रवासी मानिसहरू बस भित्र छिर्न पर्खिरहेका छन् जसले तिनीहरूलाई होन्डुरस र ग्वाटेमाला बीचको सिमानामा लैजान्छ । ओर्लान्डो सिएरा / एएफपी