न्युयोर्क सिटीमा लोकल ल १८ लागु, अरुको अपार्टमेन्टमा छोटो समय एक्लै बस्न नपाइने


प्रकाशित मिति : भाद्र १९, २०८० मंगलबार

gray fabric loveseat near brown wooden table

सेप्टेम्बर ५ देखि न्युयोर्क सिटीले छोटो अवधिको भाडामा प्रतिबन्धहरू लागू गरेको छ । न्युयोर्क सिटीमा लोकल ल १८ नामको कानुन सेप्टेम्बर ५ देखि लागु भएको छ भने धेरै नियमहरू समावेश यसले न्युयोर्क सिटी आउने केही यात्रुहरुलाई अप्ठ्यारो अनुभव गराउन सक्छ ।

यो नियम अनुशार दुईजना भन्दा अतिथिहरू रकम तिरेर छोटो अवधिको लागि भाडामा बस्न पाउनेछैनन् । आवासको आकार जत्रो भएपनि र बेडरुमको संख्या जति भएपनि यो संख्या दुईमा नै सिमित गरिएको छ । त्यसरी छोटो समयका लागि अरु कसैलाई रकम लिएर राख्दा घरधनी वा जसको नाममा अपार्टमेन्ट रहेको छ उक्त व्यक्ति पनि त्यही बस्ने हुनुपर्छ । आफू अर्कै अपार्टमेन्टमा बसेर छोटो समयका लागि भाडामा लगाउन पाइनेछैन ।

होस्ट र आगन्तुकहरूले आवास भित्रका ढोकाहरू अनलक छाड्नु पर्छ, जसले गर्दा बस्नेहरूले सम्पूर्ण एकाइमा पहुँच गर्न सकुन् । यो नियमले अप्ठ्यारो परेपछि न्युयोर्क सिटी आउनेहरुको रोजाई होटल वा न्युजर्सी हुनसक्ने सम्भावना रहेको छ ।

यो नियमले एयर बीएण्डबी चलाउने वा छोटो समयका लागि रकम लिएर कोठाहरु भाडामा दिनेलाई बढी असर गर्नेछ । छोटो समय रकम तिरेर अपार्टमेन्टमा बस्न चाहने व्यक्तिहरू अब कसैसँग रुममेट हुनुपर्नेछ । त्यहाँ अर्को कुनै विकल्प छैन। या त यात्रुहरु अर्कै रुममेट सहित बस्नुपर्नेछ वा होटेलको कोठामा बस्नुपर्नेछ ।

यो नियम अनुशार वास्तवमै ठूलो अपार्टमेन्ट नभएसम्म यात्रुहरूले सिटीको नयाँ नियमहरूको पूर्ण पालना गर्दा अपार्टमेन्टमा बस्न असहज महसुस गर्नेछन् । छोटो अवधिका लागि भाडामा लगाउने कानून अर्थात् लोकल ल १८ सन् २०२२ को सेप्टेम्बरमा पारित भएको थियो ।

विशेष प्रवर्तन कार्यालयले यसै बर्षको फेब्रुअरीमा अन्तिम नियमहरू प्रकाशित गरेको थियो भने मार्चमा दर्ता आवेदन पोर्टल सुरू गरेको थियो । सिटीले एयर बीएण्डबीद्वारा दायर मुद्दाहरू सहित धेरै कारणहरूको लागि यसको कार्यान्वयन स्थगित गरेको थियो ।

लोकल ल १८ को लागू ३० दिन भन्दा कम समय भाडामा दिइने सम्पत्तिहरूमा मात्र हुन्छ। छोटो अवधीको लागि निजी आवासहरुमा बस्ने पाहुनाहरुको सुरक्षालाई ध्यानमा दिएर कानूनले अवैध छोटो अवधिको भाडालाई नियमन गर्ने सिटीका विधायकहरूको भनाई छ ।

नयाँ कानून अनुशार बस्नेहरुलाई अपार्टमेन्टभित्रका हरेक कोठामा निशुल्क र बाधारहित पहुँच दिनुपर्नेछ । साथै अपार्टमेन्टका हरेक बाहिर निस्कने ढोकामा पनि पहुच दिनुपर्नेछ । अपार्टमेन्टभित्रका आन्तरिक ढोकाहरू बन्द गर्न अनुमति छैन । यद्यपि होस्ट र अतिथिहरूले प्रयोगमा भएको बेलामा भने बाथरूम, शयनकक्ष र अन्य निजी क्वार्टरहरूमा ढोका लगाउन सक्छन् ।

प्रयोग गरिरहेको बेलामा बाथरूमको ढोका बन्द गर्न सकिन्छ । तर घरवेटीले आफ्नो कोठा लक गरेर दिनभरका लागि बाहिर जान सक्दैन । जसका कारण होस्ट अतिथिको शयनकक्षमा पनि जान सक्छ भने अतिथि होस्टको शयनकक्षमा पनि जान सक्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com