भिसाको कोटा पूरा भएपछि डिभी २०२३ तीनसाता अगाडि नै समाप्त, बाँकीको अप्वाइन्टमेन्ट रद्द गरिने
प्रकाशित मिति : भाद्र २२, २०८० शुक्रबार
सेप्टेम्बर ७ सम्म अमेरिकी विदेश मन्त्रालयले डिभी २०२३ को कार्यक्रमको लागि सबै उपलब्ध भिसाहरू जारी गरेको जनाएको छ । जसका कारण सेप्टेम्बर ७ पछि तय भएका नेपालीहरुका डाइभर्सिटी भिसाका अन्तरवार्ता अप्वाइन्टमेन्टहरु रद्द गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
आर्थिक बर्ष २०२३ का लागि डिभी मार्फत ५४ हजार ८ सय ३३ भिसाहरु उपलब्ध रहेको र सेप्टेम्बर ५ सम्म ५४ हजार भिसाहरु जारी भइसकेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी अध्यागमन कानून अन्तर्गत कुनै पनि एउटा देशले कुनै एक आर्थिक वर्षमा उपलब्ध भिसा संख्याको सात प्रतिशत भन्दा बढी प्राप्त गर्न नसक्ने भएकाले अल्जेरिया र नेपाल जस्ता केही देशहरू यो कोटाको नजिक पुगेकाले देश विशिष्ट संख्यात्मक सीमाहरू नाघ्नबाट बच्न भिसा अप्वाइन्टमेन्टहरु रद्द गरिने अमेरिकी विदेश मन्त्रालयको भनाई छ ।
कुनै पनि आर्थिक बर्षका लागि सेप्टेम्बरको अन्तिमसम्म भिसा जारी गर्न सकिने भएतापनि यो बर्ष आर्थिक बर्ष सकिनु ३ साता अगाडि नै सबै डाइभर्सिटी भिसाहरु जारी गरिएको हो । डिभी कार्यक्रम तीनसाता अगाडि नै समाप्त हुँदा भिसा प्राप्त गर्न असमर्थ भएका डिभी विजेताहरुका लागि निराशाजनक हुनसक्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
डिभी २०२५ का लागि अक्टोबरको सुरुमा आवेदन खुलाइने उल्लेख गर्दै अमेरिकी विदेश मन्त्रालयले आवेदन दिन योग्य सबैलाई डिभी भर्न प्रोत्साहन गरेको छ । आर्थिक बर्ष २०२३ का डिभी विजेता नेपालीहरुको संख्या ३८०८ रहेको थियो । तर उनीहरुमध्ये कतिजनाले भिसा पाए भन्नेबारे पूर्ण विवरण सार्वजनिक भएको छैन ।
मे महिनामा उल्लेख्य संख्यामा नेपाललाई डाइभर्सिटी भिसा दिएको अमेरिकाले जुन र जुलाईमा भने अत्यन्तै कम नेपालीलाईमात्र डाइभर्सिटी भिसा दिएको थियो । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार मे मा ६९६ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएकोमा जुनमा जम्मा १३१ जना र जुलाईमा जम्मा १३७ जना मात्र नेपालीले अमेरिकाको डाइभर्सिटी भिसा पाएका थिए ।
आर्थिक बर्ष २०२३ को १० महिनामा २९१३ जना नेपालीलाई डाइभर्सिटी भिसा प्रदान गरिएको थियो । अप्रिलमा ८२० जना नेपालीहरुलाई डाइभर्सिटी भिसा प्रदान गरिएको थियो जुन मार्च महिनाको तुलनामा दोब्बरभन्दा धेरै हो । मार्चमा ३७२ जना नेपालीहरुलाई डाइभर्सिटी भिसा प्रदान गरिएको थियो ।
अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार गत अक्टोबरबाट सुरु आर्थिक बर्ष २०२३ को सुरुका २ महिनामा २ जना नेपालीलाईमात्र डाइभर्सिटी भिसा दिइएपनि डिसेम्बर, जनवरी र फरबरीमा भने ७५७ जनालाई डाइभर्सिटी भिसा प्रदान गरिएको हो ।
डिसेम्बरबाट डाइभर्सिटी भिसा दिन सुरु गरिएकोमा उक्त महिना १३८ जना नेपालीले डाइभर्सिटी भिसा पाएका थिए । जनवरीमा ३३२ जनालाई डाइभर्सिटी भिसा दिइएको थियो भने फरबरीमा यो संख्या केही कम देखिएको थियो । फरबरीमा २८७ जना नेपालीहरुलेमात्र डाइभर्सिटी भिसा पाएका छन् ।
डिभी २०२३ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्ने प्रावधान रहेतापनि अमेरिकी दूतावास काठमाडौंले अक्टोबर र नोभेम्बरमा कसैलाई पनि डाइभर्सिटी भिसा जारी गरेन ।
डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए । उनीहरुले २०२१ को अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म डिभी लोटरी भरेका थिए ।