५५ हजार कोटाभन्दा बाहेकका २०२३ का डाइभर्सिटी भिसावाहक अमेरिका आउन पाउँछन् ?


प्रकाशित मिति : भाद्र २६, २०८० मंगलबार

अमेरिकी सरकारले आर्थिक बर्ष २०२३ का डिभी विजेताहरुका सन्दर्भमा संसदले तोकेको ५५ हजार कोटाभन्दा १०३८ बढीलाई डाइभर्सिटी भिसा प्रदान गरेपछि ती एकहजारभन्दा बढी भिसा वाहक अमेरिका आउन नपाउने पो हुन् कि भन्ने चिन्ता र आशंका उब्जिएको छ । बाइडेन प्रशासनले डिभी २०२३ का लागि ५६ हजार ३८ डाइभर्सिटी भिसाहरू जारी गरिसकेकाले र यो संख्या अमेरिकी संसदले तोकेको डाइभर्सिटी भिसाको सिमाबन्दी भन्दा १०३८ ले बढी भएकाले भिसा पाइसकेकाहरु समेत सशंकित भएका हुन् ।

खसोखासले यसबारे अमेरिकी विदेश मन्त्रालयका प्रवक्तालाई सोधेको थियो ।  विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् – ‘५५ हजारभन्दा बढी भिसा जारी गरिएको भएतापनि आर्थिक वर्ष २०२३ को डाइभर्सिटी भिसा कार्यक्रमको भागको रूपमा आप्रवासी भिसा पाइसकेका सबै व्यक्तिहरू पोर्ट अफ इन्ट्रीमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी समक्ष अमेरिका प्रवेशका लागि आफूलाई शीर्ष रूपमा प्रस्तुत गर्न योग्य छन्।’

अमेरिकी विदेश मन्त्रालय अमेरिकामा अध्यागमनको कम दर भएका देशहरूका व्यक्तिहरूको लागि यात्राको सुविधा दिन प्रतिबद्ध रहेको र समुदायहरूमा विविधताले ल्याएको महत्त्वपूर्ण योगदान र अमेरिकी अर्थतन्त्रमा पर्ने प्रभावलाई मान्यता दिने विदेश मन्त्रालयका प्रवक्ताको भनाई छ । अमेरिकी विदेश मन्त्रालयले २०२३ को डाइभर्सिटी भिसा कार्यक्रमका लागि सबै उपलब्ध डाइभर्सिटी भिसा जारी गरिसकेको थप स्पष्ट पार्दै उनले अमेरिकी संसदले प्रत्येक वर्ष ५५ हजार डाइभर्सिटी भिसाको कोटा तोकको र विदेश मन्त्रालयलाई जारी गरिएको भिसाहरूको संख्याको उचित अनुमान गरेर जारी गरिएको भिसाहरूको संख्या व्यवस्थापन गर्न आग्रह गरेको बताएका छन् ।

केही दिन अगाडिमात्र अमेरिकी विदेश मन्त्रालयले ५५ हजारको कोटा पूरा हुन लागेको भन्दै सुचना जारी गरेको थियो । फलस्वरूप पछिल्ला केही दिनहरूमा विश्वभरका अमेरिकी दूतावासहरूले डिभी विजेताहरुका लागि तय गरिएका ४ हजार भन्दा बढी अन्तर्वार्ताहरू रद्द गरेका थिए ।

भिसा कोटाको सिमाबन्दी नाघ्नु सरकारका लागि कानुनी नभएकाले रिपब्लिकनहरुले यसबारे कदम चाल्नसक्ने आशंका गरिएको छ । आफ्नो कार्यकालको पहिलो दिनमा राष्ट्रपति जो बाइडेनले संसदमा पठाएको अध्यागमन बिलमा डाइभर्सिटी भिसाको सीमा ५५ हजारबाट बढाएर ८० हजार बनाउने प्रस्ताव गरेपनि उक्त बिल पारित भइसकेको छैन ।

बाइडेन प्रशासनले कोटाभन्दा बढी डिभी विजेतालाई भिसा प्रदान गरेको यो लगातार दोस्रो वर्ष हो । गत आर्थिक बर्ष २०२२ मा पनि ५४ हजार ३ सय ३४ डाइभर्सिटी भिसा अमेरिकी विदेश मन्त्रालयले र १४४० जना विजेतालाई युएससीआईएसले स्थीति समायोजन गरेको थियो । अर्थात् कोटाभन्दा ७७४ जना बढीले अमेरिकाको डाइभर्सिटी भिसा पाएका थिए । यद्यपी भिसा पाइसकेका कसैलाई पनि रोकिएको भने थिएन ।

अमेरिकी अध्यागमन कानून अन्तर्गत कुनै पनि एउटा देशले कुनै एक आर्थिक वर्षमा उपलब्ध भिसा संख्याको सात प्रतिशत भन्दा बढी प्राप्त गर्न नसक्ने भएकाले अल्जेरिया र नेपाल जस्ता केही देशहरू यो कोटाको नजिक पुगेकाले देश विशिष्ट संख्यात्मक सीमाहरू नाघ्नबाट बच्न भिसा अप्वाइन्टमेन्टहरु रद्द गरिने अमेरिकी विदेश मन्त्रालयको बताएको थियो ।

कुनै पनि आर्थिक बर्षका लागि सेप्टेम्बरको अन्तिमसम्म भिसा जारी गर्न सकिने भएतापनि यो बर्ष आर्थिक बर्ष सकिनु ३ साता अगाडि नै सबै डाइभर्सिटी भिसाहरु जारी गरिएको हो । डिभी कार्यक्रम तीनसाता अगाडि नै समाप्त हुँदा भिसा प्राप्त गर्न असमर्थ भएका डिभी विजेताहरुका लागि निराशाजनक हुनसक्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

डिभी २०२५ का लागि अक्टोबरको सुरुमा आवेदन खुलाइने उल्लेख गर्दै अमेरिकी विदेश मन्त्रालयले आवेदन दिन योग्य सबैलाई डिभी भर्न प्रोत्साहन गरेको छ । आर्थिक बर्ष २०२३ का डिभी विजेता नेपालीहरुको संख्या ३८०८ रहेको थियो । तर उनीहरुमध्ये कतिजनाले भिसा पाए भन्नेबारे पूर्ण विवरण सार्वजनिक भएको छैन ।

मे महिनामा उल्लेख्य संख्यामा नेपाललाई डाइभर्सिटी भिसा दिएको अमेरिकाले जुन र जुलाईमा भने अत्यन्तै कम नेपालीलाईमात्र डाइभर्सिटी भिसा दिएको थियो । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार मे मा ६९६ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएकोमा जुनमा जम्मा १३१ जना र जुलाईमा जम्मा १३७ जना मात्र नेपालीले अमेरिकाको डाइभर्सिटी भिसा पाएका थिए ।

आर्थिक बर्ष २०२३ को १० महिनामा २९१३ जना नेपालीलाई डाइभर्सिटी भिसा प्रदान गरिएको थियो । अप्रिलमा ८२० जना नेपालीहरुलाई डाइभर्सिटी भिसा प्रदान गरिएको थियो जुन मार्च महिनाको तुलनामा दोब्बरभन्दा धेरै हो । मार्चमा ३७२ जना नेपालीहरुलाई डाइभर्सिटी भिसा प्रदान गरिएको थियो ।

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार गत अक्टोबरबाट सुरु आर्थिक बर्ष २०२३ को सुरुका २ महिनामा २ जना नेपालीलाईमात्र डाइभर्सिटी भिसा दिइएपनि डिसेम्बर, जनवरी र फरबरीमा भने ७५७ जनालाई डाइभर्सिटी भिसा प्रदान गरिएको हो ।

डिसेम्बरबाट डाइभर्सिटी भिसा दिन सुरु गरिएकोमा उक्त महिना १३८ जना नेपालीले डाइभर्सिटी भिसा पाएका थिए । जनवरीमा ३३२ जनालाई डाइभर्सिटी भिसा दिइएको थियो भने फरबरीमा यो संख्या केही कम देखिएको थियो । फरबरीमा २८७ जना नेपालीहरुलेमात्र डाइभर्सिटी भिसा पाएका छन् ।

डिभी २०२३ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्ने प्रावधान रहेतापनि अमेरिकी दूतावास काठमाडौंले अक्टोबर र नोभेम्बरमा कसैलाई पनि डाइभर्सिटी भिसा जारी गरेन ।

डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए । उनीहरुले २०२१ को अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म डिभी लोटरी भरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com