प्यालेस्टिनी समर्थक र्‍यालीमा बन्दुक ल्याएको आरोपमा न्यूयोर्क सिटी काउन्सिलवुमन पक्राउ


प्रकाशित मिति : आश्विन २६, २०८० शुक्रबार

ब्रुकलिन कलेजमा प्यालेस्टिनी समर्थक र्‍यालीमा हतियार ल्याएको आरोपमा न्यूयोर्क सिटी काउन्सिलवुमनलाई शुक्रबार पक्राउ गरिएको छ । शीप्सहेड बे र ब्राइटन बीचको क्षेत्रको प्रतिनिधित्व गर्ने रिपब्लिकन इन्ना भेर्निकोभलाई बिहीबारको र्‍यालीमा ह्यान्डगन बोकेको देखिएको थियो । सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्बिरहरूमा उनले कम्मरमा बन्दुक बोकेको देखिएको थियो ।

काउन्सिलवुमनसँग लुकाएर बन्दुक बोक्न अनुमति भएपनि उनले नागरिकहरूलाई विरोध प्रदर्शनमा बन्दुक ल्याउन निषेध गर्ने हालै पारित गरिएको कानूनको उल्लङ्घन गरेकी थिइन् । उनले शुक्रबार विहान ३ बजेभन्दा अगाडि आफ्नो वकिलको साथ प्रहरी कार्यालय पुगेर आत्मसपर्मण गरेकी थिइन् । बन्दुक बोक्ने इजाजतपत्र भएकी ३९ वर्षीया भेर्निकोभले आफ्नो हतियार स्मिथ एन्ड वेसन ९ मिलिमिटरको पेस्तोल र उनको बन्दुक बोक्न पाउने अनुमतिपत्र प्रहरीलाई बुझाएकी थिइन् ।

न्यूयोर्कमा लुकाएर मात्र बन्दुकहरू मात्र बोक्न अनुमति पाइन्छ । खुला रूपमा बन्दुक बोक्न अनुमति छैन। गत वर्ष पारित भएको राज्य कानूनले मानिसहरूलाई संवेदनशील स्थानहरूमा बन्दुक बोक्न निषेध गरेको छ, जसमा विरोध र जुलुसहरू समावेश छन्। भेर्निकोभले विरोध प्रदर्शनमा बन्दुक बोकेका कारण कसैले पनि धम्कीको अनुभव भने नगरेको प्रहरीको भनाई छ । भेर्निकोभलाई टिकट जारी गरिएको छ, जसमा उनलाई पछि अदालतमा उपस्थित हुन आवश्यक छ।

NYPD white and blue NYPD SUV

गभर्नर क्याथी होकुलले भेर्निकोभको गिरफ्तारीको खबरबारे प्रतिक्रिया दिदै न्यूयोर्कको बन्दुक सुरक्षा कानून सबैलाई लागू हुने बताएकी छिन् । धेरै प्रगतिशील समूह र राजनीतिक व्यक्तित्वहरूले भेर्निकोभको राजिनामा मागेका छन् । अमेरिकी इस्लामिक सम्बन्ध परिषद, सिटी काउन्सिलको प्रोग्रेसिभ ककसका सदस्यहरू र अर्को महिना हुने चुनावमा उनका डेमोक्रेटिक प्रतिद्वन्द्वी एम्बर एडलर लगायतले उनको राजिनामा मागेका छन् ।

गत शनिबार इजरायलमा हमासले गरेको आक्रमण र गाजामा इजरायलको पछिल्ला बमबारीले इजरायल बाहिर सबैभन्दा ठूलो यहूदी जनसंख्या भएको न्यूयोर्क शहरमा राजनीतिक तनाव बढाएको छ। आइतवार टाइम्स स्क्वायरमा प्यालेस्टिनी समर्थक जुलुसमा अमेरिकाको डेमोक्रेटिक सोसलिष्टहरुको न्युयोर्क च्याप्टरको स्पोन्सरबारे मध्यपन्थी डेमोक्र्याट र रिपब्लिकनहरूले निन्दा गरेका थिए ।

युक्रेनमा जन्मिएकी वकिल भेर्निकोभले आफ्नो सिटी काउन्सिलको जीवनीमा आफूलाई सेमिटिज्म विरुद्धको अग्रणी आवाज भनेर वर्णन गरेकी छिन्। उनले ब्रुकलिन कलेजको र्‍यालीमा आफ्नो भिडियो पोष्ट गरेकी थिइन्, जुन स्टुडेन्ट्स फर जस्टिस इन प्यालेस्टाइनले आयोजना गरेको थियो भने प्रदर्शनकारीहरूले हमासलाई समर्थन गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com