२७ बर्षीय नेपाली युवा मनिष कुँवरको ज्यान गएको न्युयोर्क सिटीको जेल सन् २०२७ सम्म बन्द हुने
प्रकाशित मिति : आश्विन २७, २०८० शनिबार
अक्टोबरको पहिलो साता २७ बर्षीय नेपाली युवा मनिष कुँवरको ज्यान गएको न्युयोर्क सिटीको कुख्यात राइकर्स आइल्याण्ड जेल सन् २०२७ को अगस्त ३१ सम्म बन्द गरिने तय भएको छ । तर कुँबरको ज्यान गएपछि एकजना संघीय न्यायाधिसले न्युयोर्क सिटीलाई राइकर्स आइल्याण्ड जेलको अवस्थाबारे द्रुत कारबाहीको माग गरेका छन् । यो जेलबारे गम्भीर हिंसा, दुर्व्यवहार र अन्य मानवअधिकार सम्बन्धि सरोकारहरु रहेका छन् ।
त्यसैले चुनावी प्रचारमा सिटीका जेलहरू सुधार गर्ने वाचा गरेका न्युयोर्क सिटीका मेयर एरिक आडम्सप्रति सबैको नजर छ । यद्यपी उनले आफ्ना वाचाहरु पूरा गर्न धेरै इच्छुक भने देखिएका छैनन् । अक्टोबर १० मा न्युयोर्कको साउदर्न डिस्ट्रिक्टका लागि संघीय अदालतका न्यायाधीश लौरा टेलर स्वेनले एक मुद्दामा आदेश जारी गरेकी हुन् । उनले न्युयोर्क सिटी करेक्सन डिपार्टमेन्टका वरिष्ठ अधिकारीहरूले अक्टोबर १८ भन्दा पछि जेलहरूको अनुगमन गर्ने संघीय टोलीसँग भेटेर जेलहरूमा रहेको अस्वीकार्य स्तरको क्षतिलाई सुधार गर्ने योजनामा सहमत हुने आदेश दिएकी छिन् ।
अक्टोबर २५ सम्म न्युयोर्क सिटीका अधिकारीहरुसँग संघीय मनिटर स्टीव जे मार्टिनसमक्ष जेलमा भएको घटनाहरूको रिपोर्टिङ र सुधारबारे अन्य जानकारी दिने समय रहेको छ । नोभेम्बर ८ सम्म मार्टिनले सिटीका अधिकारीहरूबाट यो आदेशको पालना भए नभएको विषय अदालतमा रिपोर्ट गर्नुपर्नेछ भने सिटीका अधिकारीहरूलाई कसरी जवाफदेही बनाउने भनेर थप सिफारिसहरू गर्न सक्नेछन् । न्युयोर्क सिटीका अधिकारीहरूले आदेशलाई बेवास्ता गरे प्रतिबन्धहरु लगाउन सकिने अदालतको आदेशमा चेतावनी दिइएको छ ।
डिभीमा आएपछि मानसिक बिरामी र होमलेस भएका थिए न्युयोर्क जेलमा ज्यान गुमाएका मनिष कुँवर
न्युयोर्कको जेलमा रहस्यमय मृत्यु भएका २७ बर्षीय नेपाली युवा मनिष कुँवर मानसिक बिरामी र घरबारविहीन भएको खुलासा भएको छ । उनी अक्टोबर ५ बिहिबार विहान जेलमा मृत अवस्थामा भेटिएका थिए भने उनको मृत्यु भएको कैयन घण्टापछि शव फेला परेको जनाइएको छ । उनको शव विहान ६ बजेर २० मिनेटमा जेलको परिसरमा भेटिएको थियो ।
अन्तिम पटक सुरक्षा अधिकारीहरूले कुँवरलाई उनको शव फेला पार्नु भन्दा १० घण्टा अघि सुरक्षा भिडियोमा जीवित देखेका थिए । कुँवर बुधबार राति ८ बजेर २६ मिनेटमा आफ्नो सेलमा हिड्दै गरेको अवस्थामा देखिएको जनाइएको छ । सेप्टेम्बर २७ मा जेल पर्नुअघि उनी लागूऔषध दुर्व्यसन, मानसिक रोग र घरबारविहीनतासँग संघर्ष गरिरहेका थिए । घरबारविहीन भएर सडकमा संघर्ष गर्दा ज्यान नगुमाएका कुँवरको सरकारी जेलभित्र मृत्यु भएपछि एकजना करेक्सन क्याप्टेन र एकजना अधिकारीलाई निलम्बन गरिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ । क्याप्टेनको निलम्बन र भिडियोले जेलका कर्मचारीहरूले रातभर कुँवरको युनिटमा चेकजाँच नगरेको देखिएको छ । डिपार्टमेन्ट अफ करेन्सनको नीति अन्तर्गत कर्मचारीहरूले कम्तिमा प्रत्येक आधा घण्टा एकाइहरू भ्रमण गर्न आवश्यक छ। उनको मृत्यु ओभरडोजका कारण भएको हुनसक्ने आशंकाका साथ अनुसन्धान भइरहेको छ । तर उनको मृत्युको कारण आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन ।
कुँवर सन् २०१६ मा डिभी परेर नेपालबाट अमेरिका आएका थिए । उनी त्यसलगत्तै होमलेस भएको जनाइएको छ । सात बर्ष अगाडि न्युयोर्क सिटीमा भेटिंदा उनी होमलेस भएका थिए । उनी न्युजर्सीमा रहेको एउटा होमलेस सेल्टरमा समेत बसेका थिए । उनी न्यु जर्सीको अरु ठाउँमा पनि बसोबास गरेको तथा रेस्टुरेन्ट र कन्स्ट्रक्सन कम्पनीमा समेत काम गरेको जनाइएको छ । पछि उनको काँधमा चोटपटक लागेपछि उनी थप समस्यामा परेका थिए । उनी लामो समयदेखि मानसिक रोग, लागुऔषध र रक्सीसँग जुधिरहेको जनाइएको छ ।
कुँवरलाई जुन २०२२ मा क्वीन्समा डकैती गरेको आरोप थियो । उनले चक्कु देखाएर एक व्यक्तिबाट १२०० डलर लिएको अभियोग यिो । जुन २०, २०२२ मा कोरोनाको क्विन्सको ३७ औं एभिन्यु र ९३ औं स्ट्रीटमा उनले एक व्यक्तिलाई चक्कु देखाएर रकम लुटेको कागजातमा उल्लेख छ । यो अभियोगमा उनी अदालतमा उपस्थित भएनन् भने उनलाई पक्राउ गर्न वारेन्ट जारी गरिएको थियो। त्यसैबीच उनीविरुद्ध अन्य घरबारविहीन व्यक्तिले क्रेडिट कार्ड दिएको र अरुको कार्ड प्रयोग गरेर पसलबाट खाना किन्न खोजेको अभियोग पनि थियो । उनले प्रयोग गरेको कार्ड चोरीको कार्ड भएको खुलेको थियो ।
विगतमा कुँवर बाल्टिमोर पुगेर त्यहाँको मनोचिकित्सक केन्द्रमा पाँच महिना बिताएको जनाइएको छ । उनलाई डेलावेयरबाट पक्राउ गरिएको थियो। डेलावरबाट उनी आफैले ९११ मा फोन गरेका थिए । उनले आफूमा आत्महत्याको सोंच आएको भन्दै प्रहरीलाई फोन गरेको थिए । त्यसपछि उनी पक्राउ परेका थिए । त्यसको केही दिनपछि उनको क्वीन्समा पनि वारेन्ट रहेको पत्ता लगाइएको थियो । त्यसपछि उनलाई डकैतीको आरोपको सामना गर्न न्युयोर्क सिटी पठाइएको थियो र जेलमा राखिएको थियो ।
न्युयोर्क सिटी डिपार्टमेन्ट अफ करेक्सनको रेकर्ड अनुशार उनी सेप्टेम्बर २७ मा पक्राउ परेका थिए । उनलाई मृत्यु भएको केही घण्टापछि अदालतमा पेश गर्ने तयारी गरिएको थियो भने उनको अदालतको अर्को सुुनुवाईको मिति अक्टोबर २७ का लागि तय गरिएको थियो । तर जेलमा राखेको झण्डै एकसातामा नै उनको मृत्यु भएको रेकर्डमा खुलेको छ ।
सन् १९९६ मा जन्मिएका उनी ५ फिट ६ इन्च अग्ला र १५० पाउण्ड तौल भएका रेकर्डमा उल्लेख छ । उनको कालो कपाल र खैरा आँखा थिए । उनको मुद्दाको प्रतिनिधित्व गर्दै आएको न्युयोर्कको लिगल एड सोसाइटीले पनि यसको पुष्टी गरेको छ । सोसाइटीले कुँवरको निधनमा शोक व्यक्त गरेको छ । राइकर्स आइल्याण्डमा उनको निधन भएको खबरले आफूहरु स्तब्ध र आक्रोशित भएको एक विज्ञप्तीमा उल्लेख छ । कुँवरको परिवार, साथीहरू र समुदायप्रति सोसाइटीले गहिरो समवेदना प्रकट गरेको छ ।
उनलाई उपचारको सट्टा जेल राखेका कारण यो हानी भएको सोसाइटीको भनाई छ । आफूलाई चाहिने सेवा र स्थिर आवासमा पहुँच गरेको भए आजको त्रासदीबाट बच्न सकिने वित्रप्तीमा उल्लेख छ । हिरासतमा रहेका न्युयोर्कवासीहरूको भलाइ सुनिश्चित गर्न करेक्सन विभाग निरन्तर असफल भएको र आधारभूत जेलका कार्यहरू व्यवस्थापन गर्न असमर्थ भएको कुरा अस्वीकार्य भएको विज्ञप्तीमा जनाइएको छ ।