एक्सले दुई देशहरूमा नयाँ प्रयोगकर्ताहरूलाई बार्षिक १ डलर शुल्क लिने
प्रकाशित मिति : आश्विन ३०, २०८० मंगलबार
यदि तपाइँ पहिले ट्विटर भनेर चिनिने सेवा एक्समा सामेल हुन चाहनुहुन्छ भने र तपाई न्युजिल्याण्ड वा फिलिपिन्समा हुनुहुन्छ भने तपाईले अब प्रतिबर्ष एक डलर शुल्क तिर्नुपर्नेछ । ट्वीटरको वेबसाइट मार्फत नयाँ एकाउन्ट खोल्नेहरुलाई यो शुल्क लिइने जनाइएको छ ।
यो शुल्क ‘नट अ बट’ कार्यक्रमको एक हिस्सा हो । नक्कली खाताको गतिविधिलाई कम गर्न यसको डिजाइन गरिएको एक्सले जनाएको छ । थप रूपमा न्यूजील्याण्ड र फिलिपिन्समा नयाँ वेब प्रयोगकर्ताहरूले फोन नम्बरको साथ आफ्नो खाता प्रमाणित गर्नुपर्नेछ । एक्सको घोषणा सार्वजनिक हुनु अगाडि नै बार्षिक १ डलर शुल्क लिने एलन मस्कको तयारी रहेको बारे केही संचारमाध्यममा समाचार आएका थिए ।
किन नयाँ एक डलर शुल्क मोबाइल एपबाट नभई वेब मार्फत सामेल हुने नयाँ प्रयोगकर्ताहरूका लागि मात्र हो भन्नेबारे केही बताइएको छैन । किन ‘नट अ बट’ दुई देशहरूमा मात्र लागु भइरहेको छ भन्नेबारे पनि थप व्याख्या गरिएको छैन । एक्सले यी क्षेत्रहरूबाट अरू भन्दा धेरै नक्कली एकाउन्टका गतिविधि देखेको हुनसक्ने र वेबसाइट मार्फत नक्कली खाताहरूको गुच्छा सिर्जना गर्न धेरै सजिलो रहेको बताइएको छ ।
सदस्यता नलिने नयाँ प्रयोगकर्ताहरूले पोष्टहरू हेर्ने र भिडियोहरू हेर्ने सेवामात्र लिनसक्नेछन् । उनीहरुलाई अन्य सेवाहरु प्रदान गरिनेछैन । एक्सको यो नयाँ कार्यक्रम निलो चेकमार्कमा लागि तिर्ने मासिक ८ डलरभन्दा अतिरिक्त हो ।