अमेरिकाको टेनेसीमा भीषण आँधीका कारण कम्तीमा ६ जनाको मृत्यु
प्रकाशित मिति : मंसिर २३, २०८० शनिबार
अमेरिकाको टेनेसीमा भीषण आँधीका कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ भने व्यापक क्षति पुगेको छ । मध्य टेनेसीमा चर्केको भीषण आँधीले शनिबार धेरै घरहरू र व्यवसायहरू क्षतिग्रस्त बनाएको छ भने झन्डै दुई दर्जनलाई अस्पतालमा भर्ना गरिएको छ ।
केन्टकी राज्य नजिकै न्यासभिलको उत्तरमा रहेको मोन्टगोमेरी काउन्टीमा आएको आँधीका कारण एक बालक सहित तीन जनाको मृत्यु भएको काउन्टी अधिकारीहरूले एक समाचार विज्ञप्तिमा बताएका छन् । मोन्टगोमेरी काउन्टीका अधिकारीहरूका अनुशार त्यहाँ अन्य २३ जनाको अस्पतालमा उपचार भइरहेको छ।
न्यासभिल आपतकालीन अपरेशन सेन्टरले सामाजिक सञ्जाल मार्फत त्यहाँ ठूलो आँधीले थप तीन जनाको मृत्यु भएको जनाएको छ । मोन्टगोमेरी काउन्टी प्रहरीको कार्यालयले यो अझै पनि प्रकोपका कारण खोजी र उद्धार कार्य जारी रहेको उल्लेख गरेको छ।
मोन्टगोमेरी काउन्टीका मेयर वेस गोल्डेनले शनिबार साँझ सामाजिक सञ्जालमार्फत क्लार्कभिल र मोन्टगोमेरी काउन्टीमा आँधीबेहरीले धेरै नराम्ररी प्रहार गरेको बताएका छन् । क्लार्क्सभिल फायर डिपार्टमेन्टले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरहरूमा क्षतिग्रस्त घरहरू देखाइएको छ ।
बासिन्दाहरूलाई घरमा नै बस्न भनिएको छ । प्रारम्भिक अवस्थाको मूल्याङ्कनपछि उनीहरुलाई घरमै बस्न भनिएको हो । मोन्टगोमेरी काउन्टी प्रहरी कार्यालयले अघिल्लो विज्ञप्तिमा दिउँसो २ बजेतिर आँधीबेहरी आएको र स्थानीय हाई स्कूलमा आश्रय स्थापना गरिएको बताएको थियो।
टेनेसीका १६ र केन्टकीमा आठ वटा सहित अन्य राज्यहरूमा ४१ वटा टोर्नेडो रेकर्ड झण्डै २ बर्षपछि यो आँधी आएको हो । २ बर्ष अगाडिको आँधीमा केन्टकीमा मात्रै ८१ जनाको मृत्यु भएको थियो ।