फेब्रुअरीकालागि थपियो डिभी २०२४ का नेपाली विजेताको केस नम्बर, ४५ सयसम्मलाई भिसा
प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार
डिभी २०२४ का नेपाली विजेताको केस नम्बर फेब्रुअरीका लागि थपिएको छ । अब फेब्रुअरीमा ४५ सयसम्म केस नम्बर हुने नेपालीहरुले भिसा पाउन सक्नेछन् ।
जनवरीमा ३ हजारसम्म केस नम्बर हुनेहरुका लागि भिसा सिमित गरिएको छ भने यो नम्बर डिसेम्बरका लागि २५ सय रहेको छ । अक्टोबर र नोभेम्बरमा केस नम्बर १३ सय सम्ममा सिमित गरिएको थियो । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार फेब्रुअरी लागि केस नम्बरको सिमाबन्दी ३ हजार बनाइएको हो ।
आर्थिक बर्ष २०२४ का डिभी विजेता नेपालीहरुको संख्या ३८६३ रहेको छ, जुन चालु आर्थिक बर्षको तुलनामा धेरै हो । आर्थिक बर्ष २०२३ का लागि ३८०८ जनाले डिभी लोटरी पारेका थिए । २०२४ मा पनि नेपाल धेरै डिभी लोटरी पार्नेमा एसियामा तेश्रो भएको छ । एसियामा सबैभन्दा धेरै इरानका ५ हजार ७७ जनाले र दोश्रोमा अफगानिस्तानका ४५३६ जनाले डिभी पारेका छन् ।
नतिजा सन् २०२४ को सेप्टेम्बरसम्म अनलाइनमा हेर्न सकिनेछ । गतबर्षको अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म डिभी लोटरी भरेकाहरुले आफू छनौट भए नभएको हेर्न सक्नेछन् ।
कुल १ लाख ४३ हजार जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले मात्र भिसा पाउनसक्नेछन् । अर्थात् डिभी पर्दैमा सबैजना अमेरिका आउन पाउने ग्यारेन्टी हुँदैन । डिभी २०२४ का लागि विश्वभरबाट २ करोड २१ लाख ८५ हजार ६ सय १९ योग्यले डिभीका लागि आवेदन दिएका थिए । डिभी २०२३ को तुलनामा २०२४ मा धेरै व्यक्ति सहभागी भएका थिए । डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए भने २०२४ का लागि दोब्बरभन्दा धेरै सहभागी भए ।
अक्टोबरमा काठमाडौंबाट डाइभर्सिटी भिसा शुन्य
आर्थिक बर्ष २०२४ को पहिलो महिना अक्टोबरमा काठमाडौंमा रहेको अमेरिकी दूतावासले कसैलाई पनि डाइभर्सिटी भिसा नदिएको खुलासा भएको छ । यद्यपी काठमाडौंबाहेक अन्य क्षेत्रबाट भने ३ जना नेपालीहरुले अक्टोबरमा डाइभर्सिटी भिसा प्राप्त गर्न सफल भएको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।
सामान्यतया डिभी २०२४ का विजेताहरु अक्टोबर १ बाट भिसा पाउन योग्य हुने भएतापनि अमेरिकी दूतावास काठमाडौंले भने पहिलो महिना कसैलाई पनि भिसा नदिएको हो । गतबर्ष पनि अमेरिकी दूतावास काठमाडौंले पहिलो महिना कसैलाई पनि डाइभर्सिटी भिसा प्रदान गरेको थिएन । सामान्यता जनवरीबाट अमेरिकी दूतावास काठमाडौंले डिभी विजेताहरुलाई उल्लेख्य संख्यामा भिसा प्रदान गर्दै आएको छ ।
अक्टोबरमा अमेरिकी नागरिकका दम्पत्तिहरुलाई भने उल्लेख्य संख्यामा आप्रवासी भिसा प्रदान गरिएको छ । काठमाडौंबाटमात्र यो श्रेणीमा २८८ जनालाई भिसा प्रदान गरिएको थियो भने अमेरिकी नागरिकका बाबुआमालाई पनि सबैभन्दा धेरै आप्रवासी भिसा प्रदान गरिएको छ । अक्टोबरमा यो श्रेणीमा काठमाडौंबाटमात्र ३३० जनाले आप्रवासी भिसा पाएका छन् ।
त्यस्तै अक्टोबरमा अमेरिकी दूतावास काठमाडौंले भिजिटर र विद्यार्थी भिसा पनि उल्लेख्य संख्यामा जारी गरेको छ । काठमाडौं दूतावासले अक्टोबरमा १६७५ जनालाई भिजिटर भिसा जारी गरेको छ भने ४९५ जनालाई विद्यार्थी भिसा जारी गरेको छ । सेप्टेम्बरसम्म २०२३ को डाइभर्सिटी भिसामा बढी ध्यान केन्द्रीत गरेपनि अक्टोबरदेखि भने अन्य श्रेणीका भिसामा दूतावासले बढी अप्वाइन्टमेन्ट उपलब्ध गराएको थियो ।