इजरायली सेनाको गोली प्रहारबाटै गल्तीले गाजामा मारिए तीन इजरायली बन्धक
प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार
इजरायली सेनाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गाजामा हमासद्वारा बन्धक बनाएका तीनजना इजरायली सेनाबाट गल्तीले मारिएको जनाएको छ। गाजा शहर क्षेत्रको घना छिमेक शेजैयामा लडाई को क्रममा गल्तीले तीन इजरायली बन्धकहरूलाई खतराको रूपमा पहिचान गरेर इजरायली सेनाले गोली हानेको र तिनीहरू मारिएको इजरायल रक्षा बलले बताएको छ ।
इजरायली सेनाले शव इजरायल फिर्ता गरिएको र तीन जनाको पहिचान पुष्टि भएको बताएको छ। समेर तलल्का र योटाम हाइम मारिएका दुई जना बन्धक हुन् । उनीहरुलाई इजरायलमा हमासले अक्टोबर ७ मा गरेको आक्रमणमा किबुट्ज कफर अजाबाट अपहरण गरेको थियो । तेस्रो बन्धक एलोन शम्रिजलाई पनि किबुट्ज कफर अजाबाट अपहरण गरिएको थियो।
इजरायली सेनाले तत्काल घटनाको समीक्षा सुरु गरेको बताएको छ। यो सक्रिय लडाई क्षेत्र भएको तथा पछिल्ला केही दिनहरूमा त्यहाँ लडाइँ चलिरहेको इजरायली सेनाको भनाई छ। घटनाबाट तत्काल पाठ सिकिएको सेनाको विज्ञप्तिमा भनिएको छ। यस दुखद घटनामा गहिरो पश्चाताप व्यक्त गर्ने र परिवारहरूलाई हार्दिक समवेदना पठाउने विज्ञप्तिमा उल्लेख छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एक विज्ञप्तिमार्फत सम्पूर्ण इजरायलका जनतासँग आफू गहिरो शोकमा शिर झुकाउने र हाम्रा तीन जना बन्धकहरूको मृत्युमा शोक गर्ने बताएका छन् । यो एक असहनीय त्रासदी रहेको र सम्पूर्ण इजरायल शोकमा रहेको उनले बताएका छन् । इजरायली सरकारले अनुमानित १३७ जना अझै पनि हमासद्वारा बन्धक रहेको बताएको छ।
ह्वाइट हाउसले बन्धकहरूको मृत्युलाई हृदयविदारक भनेको छ । यसैबीच कैयौं दर्जन व्यक्तिहरूले शुक्रबार राति तेल अवीभमा इजरायली सैन्य मुख्यालय बाहिर प्रदर्शन गरेका छन् । गाजामा बाँकी बन्धकहरूको रिहाइको लागि कारबाहीको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले प्यालेस्टिनी राष्ट्रपतिसँगको शुक्रबारको भेटमा गाजामा नागरिकहरूको लागि मानवीय सहायताको प्रवाह बढाउने प्रयासहरूबारे छलफल गरेका छन् । इजरायली सरकारले पनि अक्टोबर ७ यता पहिलो पटक इजरायलबाट सिधै गाजामा सहायता पठाउन अनुमति दिने घोषणा गरेको छ। विस्थापित झण्डै २० लाख मानिसले विषाक्त खानेकुराको सामना गरिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।