अमेरिकी दूतावास काठमाडौंबाट नोभेम्बरमा २६१ जनालाई डाइभर्सिटी भिसा


प्रकाशित मिति : पुस ८, २०८० आईतबार

आर्थिक बर्ष २०२४ को पहिलो महिना अक्टोबरमा कसैलाई पनि डाइभर्सिटी भिसा नदिएको काठमाडौंमा रहेको अमेरिकी दूतावासले गत महिना अर्थात् नोभेम्बरमा भने उल्लेख्य संख्यामा डाइभर्सिटी भिसा जारी गरेको छ । नोभेम्बरमा काठमाडौंमा रहेको अमेरिकी दूतावासले २५६ जनालाई डाइभर्सिटी भिसा दिएको तथ्यांक अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको छ ।

नोभेम्बरमा अमेरिकी दूतावास काठमाडौं र अन्य दूतावासबाट डाइभर्सिटी भिसा पाउने कुल नेपालीहरुको संख्या भने २६१ रहेको छ । अक्टोबरमा काठमाडौंमा रहेको अमेरिकी दूतावासले कसैलाई पनि डाइभर्सिटी भिसा जारी नगरेपनि काठमाडौंबाहेक अन्य क्षेत्रबाट भने ३ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गर्न सफल भएका थिए ।

नोभेम्बरमा काठमाडौंबाट आप्रवासी भिसाको कुनै पनि श्रेणीमा सबैभन्दा धेरै डाइभर्सिटी भिसा नै जारी गरिएको छ । दोश्रोमा अमेरिकी नागरिकका बाबुआमाहरुले भिसा पाएका छन् । नोभेम्बरमा अमेरिकी दूतावास काठमाडौंबाट अमेरिकी नागरिकका १७२ बाबुआमाहरुले भिसा पाए । अक्टोबरमा यो श्रेणीमा काठमाडौंबाटमात्र ३३० जनाले आप्रवासी भिसा पाएका थिए ।

सामान्यतया डिभी २०२४ का विजेताहरु अक्टोबर १ बाट भिसा पाउन योग्य हुने भएतापनि अमेरिकी दूतावास काठमाडौंले भने पहिलो महिना कसैलाई पनि भिसा दिएको थिएन । गतबर्ष पनि अमेरिकी दूतावास काठमाडौंले पहिलो महिना कसैलाई पनि डाइभर्सिटी भिसा प्रदान गरेको थिएन । सामान्यता जनवरीबाट अमेरिकी दूतावास काठमाडौंले डिभी विजेताहरुलाई उल्लेख्य संख्यामा भिसा प्रदान गर्दै आएकोमा यो बर्ष नोभेम्बरदेखि नै भिसा जारी गरेको छ ।

डिभी २०२४ का विजेता नेपालीहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्ने गरी  अक्टोबर र नोभेम्बरमा १३ सय सम्म केस नम्बर तोकिएको थियो । आर्थिक बर्ष २०२४ का डिभी विजेता नेपालीहरुको संख्या ३८६३ रहेको छ । आर्थिक बर्ष २०२३ का लागि ३८०८ जनाले डिभी लोटरी पारेका थिए । २०२४ मा पनि नेपाल धेरै डिभी लोटरी पार्नेमा एसियामा तेश्रो भएको छ । एसियामा सबैभन्दा धेरै इरानका ५ हजार ७७ जनाले र दोश्रोमा अफगानिस्तानका ४५३६ जनाले डिभी पारेका छन् ।

नतिजा सन् २०२४ को सेप्टेम्बरसम्म अनलाइनमा हेर्न सकिनेछ । गतबर्षको अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म डिभी लोटरी भरेकाहरुले आफू छनौट भए नभएको हेर्न सक्नेछन् ।

कुल १ लाख ४३ हजार जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले मात्र भिसा पाउनसक्नेछन् । अर्थात् डिभी पर्दैमा सबैजना अमेरिका आउन पाउने ग्यारेन्टी हुँदैन । डिभी २०२४ का लागि विश्वभरबाट २ करोड २१ लाख ८५ हजार ६ सय १९ योग्यले डिभीका लागि आवेदन दिएका थिए । डिभी २०२३ को तुलनामा २०२४ मा धेरै व्यक्ति सहभागी भएका थिए । डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए भने २०२४ का लागि दोब्बरभन्दा धेरै सहभागी भए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com