न्युयोर्क लगायत १२ राज्यमा निशुल्क ट्याक्स फाइल गर्ने आफ्नै प्रणाली लागु गर्दै आईआरएस
प्रकाशित मिति : पुस २१, २०८० शनिबार
अमेरिकाको आन्तरिक राजस्व सेवा आईआरएसले यस वर्ष एक दर्जन राज्यका केही बासिन्दाहरूका लागि संघीय ट्याक्स फाइल गर्नको लागि निशुल्क प्रणाली सुरु गर्ने भएको छ । आईआएसकै प्रणालीबाट निशुल्क ट्याक्स फाइल गर्न सकिने सेवा सुरु हुन लागेको यो पहिलोपटक हो । यसभन्दा अगाडि थर्डपार्टी निजी कम्पनीहरुले आईआरएससँगको सहकार्यमा यस्तो सेवा संचालन गर्दै आएका थिए ।
निशुल्क ट्याक्स फाइल गर्नका लागि १२ राज्यका योग्य हुनेछन् तर तिनीहरूले निश्चित मापदण्डहरू भने पूरा गर्नुपर्नेछ । गत महिना एजेन्सीले इनहाउस फाइलिङ प्रणालीको परीक्षण गर्ने आफ्नो योजनाको विवरण प्रकाशित गरेको थियो, जसमा करदाताहरूले आफ्नो संघीय ट्याक्स फाइल सिधै आईआरएसलाई कुनै शुल्क बिना नै पेश गर्न पाउँछन् ।
सुरुमा एरिजोना, क्यालिफोर्निया, फ्लोरिडा, म्यासाचुसेट्स, नेभाडा, न्यू ह्याम्पशायर, न्यूयोर्क, साउथ डकोटा, टेनेसी, टेक्सास, वाशिंगटन राज्य र वायोमिङ यसमा सहभागी छन्। ती राज्यहरू मध्ये धेरैले राज्य स्तरमा आय कर लिदैनन् । तर गर्ने चार राज्यहरु एरिजोना, क्यालिफोर्निया, म्यासाचुसेट्स र न्यूयोर्कले भने लिन्छन् । यी ४ राज्यका सहभागीहरूलाई राज्यको सहयोगमा संचालित उपकरणमा मार्गदर्शन गरिनेछ, जसबाट उनीहरूले आफ्नो राज्यको ट्याक्स फाइल गर्न सक्छन् । त्यसकारण यी राज्यमा भने आईआरएसको वेवसाइटबाट सिधा फाइल गर्दा राज्यको छुट्टै फाइल गर्नुपर्ने भएकाले केही झन्झटिलो हुनसक्छ ।
गभर्नर क्याथी होकुलको कार्यालयको एक घोषणा अनुसार न्यूयोर्कमा प्रत्यक्ष फाइल प्रयोगकर्ताहरूले कोड अफ अमेरिकाको फाइलिङ उपकरण प्रयोग गरेर संघीय ट्याक्स रिटर्नमा जानकारी शेयर गर्न सक्षम हुनेछन्। यस उपकरणले प्रदान गरिएको डाटा प्रयोग गरेर अधिकांश राज्यले रिटर्न तयार गर्नेछ। धेरै करदाताहरूले आफ्नो न्यूयोर्क रिटर्न पूरा गर्न केही साधारण प्रश्नहरू भन्दा बढी जवाफ दिनु पर्दैन।
यो नविनतम प्रयासको लागि एक महत्वपूर्ण कदम रहेको र करदाताहरूलाई आईआरएसमा सिधै आफ्नो ट्याक्स फाइल गर्नको लागि नयाँ विकल्प प्रदान गर्ने सम्भाव्यता परीक्षण गरिने आईआरएसका आयुक्त ड्यानी वेर्फेलले बताएका थिए । डेमोक्र्याट सांसदहरूले सामान्यतया निशुल्क, प्रत्यक्ष फाइलिङलाई समर्थन गरेका छन् भने रिपब्लिकनहरूले यसबाट आईआरएसको भार बढ्ने भन्दै विरोध गरेका छन् ।
आईआरएसमा सिधै फाइल गर्न मिल्ने कार्यक्रम कुनै झन्झट नभएका साधारण ट्याक्स फाइल गर्ने कम र मध्यम आम्दानी भएक करदाताहरूका लागि खुला हुनेछ। योग्य हुन ट्उाक्स फाइल गर्नेले फाइलरहरूले स्टाण्डर्ड डिडक्सनको विकल्प लिनुपर्छ । डब्ल्यु टु फारम, सोसल सेक्युरिटी र बेरोजगारीमा रिपोर्ट गरिएको आम्दानीमात्र हुनुपर्छ भने ब्याज १५ सय डलरभन्दा कममात्र प्राप्त गरेको हुनुपर्छ । उबर चालकहरु लगायत एप्लीकेशनहरुमार्फत काम गर्नेहरु योग्य छैनन्।
आईआरएसले आफ्नै प्रणाली विकाश गरेपनि अन्य कम्पनीहरुसँगको आईआरएसको निशुल्क ट्याक्स फाइल कार्यक्रम भने जारी रहनेछ । इन्टुईटले टर्बोट्याक्सलाई निशुल्क फाइल कार्यक्रमबाट हटाएपनि अरु कम्पनीहरुले भने भाग लिइरहेका छन् । अर्थात् ती कम्पनीहरुमार्फत निश्चित आम्दानी भएका करदाताले निशुल्क फाइल गर्न पाउनेछन् । परीक्षण गर्न लागेको प्रणाली थप विकल्प हुने आईआरएको भनाई छ । तर नयाँ प्रणालीमार्फत फाइलिङ प्रक्रियालाई थप सुव्यवस्थित गर्ने लक्ष्य राखिएको छ।
२०२२ को मुद्रास्फीति न्यूनीकरण ऐनले आईआरएसलाई प्रत्यक्ष फाइलिङ अध्ययन गर्न निर्देशन दिएको थियो । गत मे महिनामा एजेन्सीले संसदमा एउटा रिपोर्ट पेश गर्दै अधिकांश करदाताहरू प्रत्यक्ष फाइल उपकरण प्रयोग गर्न इच्छुक हुने र आईआरएसले परीक्षणको लागि तयारी गर्न थालेको जनाएको थियो । प्रतिवेदनमा प्रत्यक्ष फाइल प्रणालीको वार्षिक लागत ६४ मिलियन देखि २४९ मिलियन सम्म हुन सक्ने अनुमान गरिएको छ।
प्रत्यक्ष ट्याक्स फाइल गर्ने प्रणालीले प्रयोगकर्ताहरूलाई ट्याक्स फाइल गर्दा व्यावसायिक सफ्टवेयरले जस्तै तयारीका चरणहरू मार्फत लैजानेछ । यो सेवा मोबाइल मैत्री हुनेछ र अंग्रेजी र स्पेनिश भाषामा उपलब्ध हुनेछ। प्रयोगकर्ताहरूले प्रत्यक्ष अनलाइन च्याट मार्फत एजेन्सीबाट मद्दत प्राप्त गर्न सक्छन् र आवश्यक परेमा फोनमा ग्राहक सेवा प्रतिनिधिसँग कुरा गर्ने विकल्प हुनेछ।