के विदेशी पर्यटकलाई अमेरिका प्रवेश गर्न निश्चित रकम चाहिन्छ?
प्रकाशित मिति : असार २, २०८१ आईतबार
तपाईलाई अमेरिका आउने क्रममा विमानस्थलमा सीबीपी अधिकारीहरुले तपाईसँग कति रकम छ भनेर प्रश्न गरेका हुनसक्छन् । यसको कारण छ । विदेशबाट अमेरिका भ्रमण गर्ने यात्रुहरूले सीबीपी अधिकारीहरु समक्ष उनीहरूसँग घुम्नका लागि पर्याप्त रकम भएको प्रमाणित गर्न सक्षम हुनुपर्दछ । क्रेडिट कार्ड, नगद, ट्राभलर चेक, मनी अर्डरले अमेरिकामा यात्रा गर्ने क्रममा आवास, मनोरञ्जन, खाना, इत्यादिको खर्च बेहोर्न प्रमाणित गर्नुपर्छ ।
यात्रुसँग सीमित रकम हुनसक्ने विभिन्न परिस्थितिहरूबारे सीबीपी अधिकारीहरु सचेत छन् । त्यस्ता अवस्थाहरूमा यात्रुहरुले आफूसँग अपर्याप्त रकम भएको कारण देखाउन सक्नुपर्छ । कसैले स्पोन्सर गरेको, कुनै कार्यक्रममा सहभागी हुनका लागि आउँदा आयोजकले खर्च बेहोरेको लगायतका अवस्थामा यात्रुसँग कम रकम हुनसक्छ । यो अवस्था हेरेर उनीहरुलाई अमेरिका प्रवेशका लागि स्वीकृति दिइन्छ ।
यदि कसैले तपाईंलाई अमेरिका आउन निमन्त्रणा दिएको थियो र तपाईलाई घरमा राख्ने तथा खाना उपलब्ध गराउँदैछन् भने उक्त निमन्त्रणा लिखित रूपमा पुष्टि गर्नुपर्छ । सबीपी अधिकारीले मागेको खण्डमा देखाउनको लागि त्यस्ता कागजात आफूसँग राख्न सुझाव दिइएको छ। पत्रमा पूरा नाम र ठेगाना समावेश हुनुपर्छ। यसले अमेरिकामा प्रवेशको ग्यारेन्टी नगरेपनि सीबीपी अधिकारीलाई उनीहरूको अवस्थाको पूर्ण मूल्याङ्कन गर्न मद्दत गर्नेछ।
इन्टरनेटमा भएका कुराकानी, प्रेम प्रदर्शन र रोमान्टिक रुचि देखाएर कतिपय यात्रुले अमेरिकी नागरिकहरूलाई स्पोन्सर गर्न लगाएर धोका दिने समेत गरेको सीबीपीको भनाई छ । त्यस्ता यात्रुहरुले अमेरिकी नागरिकलाई उनीहरूको क्रेडिट कार्ड जानकारी दिन, वा यात्रा तथा भिसा खर्चको लागि पैसा पठाउन सोध्छन् । जसमा उनीहरू अमेरिका आउँदा सीबीपी अधिकारीलाई देखाउन २ हजार डलर हुनुपर्ने उल्लेख गर्दै रकम पठाउन भनिएको हुन्छ । सीबीपीले आमनेसामने नभेटेका कसैलाई पैसा नपठाउन सुझाव दिएको छ ।
अमेरिका प्रवेश गर्ने अन्तर्राष्ट्रिय यात्रुहरूले १० हजार डलरभन्दा बढी नगद वा उक्त मूल्यको सामान ल्याएमा सीबीपीको घोषणा फर्म र वित्तीय अपराध प्रवर्तन नेटवर्कको फर्म भर्नुपर्छ । त्यसैले सीबीपी अधिकारीले तपाईसँग कति रकम छ भनेर सोध्नुको अर्थ घुम्नका लागि प्रयाप्त रकम भए नभएको निर्धारण गर्नुमात्र नभई १० हजार डलरभन्दा बढी बोकेको छ कि छैन भनेर निर्धारण गर्नु समेत हो । अमेरिकाबाट बाहिर जाँदा पनि १० हजार डलरभन्दा बढी नगद लैजानेहरुले वित्तीय अपराध प्रवर्तन नेटवर्कको फर्म भर्नुपर्छ ।
तस्वीरहरु एआईबाट जेनेरेट गरिएको हो ।