अमेरिकामा अब घर किनबेचमा रियल्टरले पाउने ६ प्रतिशत कमिशन खारेज, घर किन्दा अब थोरै लागत


प्रकाशित मिति : चैत्र ३, २०८० शनिबार

gray wooden house

अमेरिकामा अब घर किनबेचमा रियल्टरले ६ प्रतिशतसम्म कमिशन पाउने प्रावधान अब समाप्त भएको छ । नेशनल एसोसिएसन अफ रियल्टर्स अब घर जग्गा एजेन्टहरूलाई क्षतिपूर्ति दिने तरिका परिवर्तन गर्ने राष्ट्रव्यापी सम्झौता गरेको हो । एउटा मुद्दामा भएको सम्झौता अनुशार नेशनल एसोसिएसन अफ रियल्टर्सले अब ४ बर्षभित्र ४१८ मिलियन डलर तिर्नुपर्नेछ ।

बर्षौदेखि अमेरिकामा क्रेता र बिक्रेताका तर्फबाट रियल्टर वा एजेण्टले ६ प्रतिशतसम्म कमिशन प्राप्त गर्दै आएका थिए । तर अब घर किनबेचमा लागत नाटकीय रूपमा घटाउने अपेक्षा गरिएको कदमका रुपमा रियल्टरहरूको राष्ट्रिय संघले शुक्रबार घर बिक्रेताहरूको समूहसँग सम्झौताको घोषणा गरेको हो । नेशनल एसोसिएसन अफ रियल्टर्स र ब्रोकरको समुह ४१८ मिलियन क्षतिपूर्ति तिर्न र कमिसनमा आफ्नो नियम हटाउन सहमत भएको छ ।

गत नोभेम्बरमा मिजौरीको संघीय जूरीले एजेन्ट कमिसनलाई कृत्रिम रूपमा उच्च राख्ने षड्यन्त्र गरेकोमा नेशनल एसोसिएसन अफ रियल्टर्स र दुई ब्रोकरहरूलाई १ दशमलव ८ बिलियन डलर क्षतिपूर्तिको लागि उत्तरदायी पाएका थिए । नेशनल एसोसिएसन अफ रियल्टर्सले मुद्दामा पुनरावेदन गर्ने वाचा गरेपनि अन्य अन्य ब्रोकरहरु सेटलमेन्टमा जान चाहेपछि अहिलेको सेटलमेन्ट भएको हो ।

नेशनल एसोसिएसन अफ रियल्टर्सविरुद्ध मुद्दा हालेका झण्डै ५ लाख घर बिक्रेताले प्रतिस्पर्धात्मक बजारमा खरिदकर्ताको एजेन्टको कमिशनको लागत बिक्रेताले नभई सेवा पाएका क्रेताले तिर्नु पर्ने तर्क गरेका थिए । नेशनल एसोसिएसन अफ रियल्टर्स र ब्रोकरहरुविरुद्ध मुद्दा हालेका बिक्रेताहरूले खरिदकर्ताहरू आफ्नो एजेन्टसँग शुल्कबारे मोलतोल गर्न सक्षम हुनुपर्ने र बिक्रेताहरूले तिर्न नपर्ने तर्क गरेका थिए ।

न्यायाधीशले स्वीकृति दिनुपर्ने ४१८ मिलियन डलरको सेटलमेन्टपछि थप प्रतिस्पर्धी आवास बजारको लागि ढोका खुल्ने अपेक्षा गरिएको छ । रियाल्टरहरूले अब सम्भावित खरीदकर्ताहरु घर किन्न प्रतिबद्ध हुनु अघि कमिशनका दरहरूमा मोलतोल गर्न सक्छन् । ब्रोकरहरूले आफ्नो शुल्कको विज्ञापन गर्न सुरु गर्न सक्छन् जसले गर्दा ग्राहकहरूलाई कम लागतका एजेन्टहरू छनौट गर्न सहज हुनेछ ।

१ मिलियन भन्दा बढी रियल्टरहरूको प्रतिनिधित्व गर्ने नेशनल एसोसिएसन अफ रियल्टर्सले नयाँ नियमहरू जारी गर्न सहमत भएको छ । जसमध्ये एक नियमले एजेन्टहरूको बहु सूचीकरण सेवापावत एजेण्टहरुको कमिशनलाई रोक्छ । तर नयाँ नियमका कारण एजेण्टहरुले ग्राहकहरूलाई थप महँगो सम्पत्तिहरू किन्न प्रेरित गर्नसक्ने चिन्ता व्यक्त गरेका छन् । अर्को नयाँ नियमले खरिदकर्ताका एजेण्टहरुलाई आफ्ना खरिदकर्ताहरूसँग लिखित सम्झौताहरू गर्न आवश्यक हुनेछ।

अब हालको घर खरीद र बिक्री व्यवसाय मोडेल समाप्त भएको छ जसमा बिक्रेताहरूले उनीहरूको एजेण्ट र खरिदकर्ताको एजेण्ट दुवैलाई तिर्छन् । नयाँ प्रावधान अनुशार रियल इस्टेट कमिसनहरू २५ देखि ५० प्रतिशतसम्म घट्ने अपेक्षा गरिएको छ। रियल इस्टेट फर्महरू जिलो र कम्पास दुवैको शेयर शुक्रबार १३ भन्दा बढीले घटेको छ किनभने एजेन्टहरूका लागि कम कमिसन दरले रियल इस्टेट प्लेटफर्महरूको लागि कम व्यापार निम्त्याउन सक्ने लगानीकताको डर छ । रियल इस्टेट ब्रोकरेज रेडफिनको सेयर पनि झण्डै ५ प्रतिशतले घटेको छ ।

अमेरिकामा ४ लाख १७ हजारको मूल्यको घर बिक्रीको लागि बिक्रेताहरूले ब्रोकरेज शुल्कमा २० हजार डलर भन्दा बढी तिरिरहेका थिए । ती लागतहरू खरिदकर्तालाई हस्तान्तरण गरिने भएकाले त्यसको अमेरिकामा घरहरूको मूल्य बढाउने गरेको थियो । त्यो शुल्क अब ६ हजारदेखि १२ हजारको बीचमा झर्नेछ ।

उदाहरणका लागि कुनै ब्रोकरले घर किनाउनका लागि आफ्नो शुल्क ३ हजार डलर तोक्नसक्छ भने अर्कोले २ हजार तोकेको खण्डमा अब ग्राहक अर्को ब्रोकरसमक्ष जानसक्छ । अमेरिकामा ब्रोकर शुल्क विश्वका कुनै पनि देशको तुलनामा उच्च रहदै आएको थियो । इजरायल, सिंगापुर, यूके जस्ता देशमा ब्रोकर शुल्क १ देखि २ प्रतिशतसम्ममात्र रहेको छ ।

अमेरिकामा रियल इस्टेट कमिसनहरूमा वार्षिक रूपमा लगभग १ सय बिलियन खर्च हुदै आएको छ । अब अमेरिकी घर क्रेता र बिक्रेताहरूको लागि घर किनबेच गर्दा रकम बचाउन सक्नेछन् । अब क्रेता र बिक्रेताको ५० बिलियन डलर बार्षिक रुपमा बचत हुने अपेक्षा गरिएको छ । उदाहरणका लागि ५ लाख डलरको घर बेच्दा बिक्रेताले अघिल्लो ६ प्रतिशतको सट्टा ३ प्रतिशतमात्र कमिसन दिएमा ९ हजार डलर वा बढी बचत गर्न सक्छ।

यदि तपाइँ चाँडै आफ्नो घर बेच्ने योजनामा हुनुहुन्छ भने नयाँ कम कमिसन मोडेलहरू लागु हुम्दासम्म पर्खने विचार गर्नु लाभदायक हुन सक्छ। वैकल्पिक रूपमा तपाईले कमिसन दरहरूबारे एजेन्टसँग मोलतोल गरेर अधिकतम बचत गर्न सक्नुहुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com