न्युयोर्कको पार्कमा बालिका बलात्कारको अभियुक्त देशनिकालाको आदेश पाएको कागजातविहिन


प्रकाशित मिति : असार ५, २०८१ बुधबार

न्युयोर्क सिटीको क्वीन्समा किसेना पार्कमा १३ वर्षका बालबालिकालाई पार्कको झाडीमा लगेर बालिकाको बलात्कार गर्ने अभियुक्त २ बर्ष अगाडि देशनिकालाको आदेश पाएको कागजपत्रविहिन इक्वेडरको नागरिक भएको खुलासा भएको छ । न्युयोर्क सिटीका एक अध्यागमन न्यायाधीशले २५ वर्षीय क्रिस्चियन जियोभानी इन्गा ल्यान्डीलाई फेब्रुअरी २, २०२२ मा देशनिकालाको आदेश दिएका थिए ।

उक्त व्यक्ति सन् २०२१ को जुन २५ मा छोराको साथ इगल पास टेक्सासहुँदै विना भिसा मेक्सिकोबाट अमेरिका छिरेको जनाइएको छ । त्यसपछि पक्राउ परेको उक्त व्यक्ति र ३ बर्षको छोरालाई नोटिस टु अपियर जारी गरेर छाडिएको थियो ।

इंगाले १३ जुनमा १३ बर्षका दुईजना बालबालिकाहरुलाई चक्कु देखाएर किसेना पार्कको झाडीमा लगेको र उनीहरुको सेल फोन खोसेर बाँधेर राखेपछि बालिकाको बलात्कार गरेको प्रहरीले जनाएको छ। अभियुक्तको ५ दिनसम्म खोजी गरिरहेको प्रहरीले जुन १८ मा मात्र पक्राउ गर्न सफल भएको हो । इन्गाले बलात्कार, यौन दुव्र्यबहार र लुटपाट जस्ता आरोपहरूको सामना गरिरहेको छ ।

प्रहरीले सोमबार शंकास्पद व्यक्तिको फुटेज सार्वजनिक गरेको थियो जसमा उसलाई फेला पार्न जनताको सहयोग मागिएको थियो। त्यसपछि स्थानीय बासिन्दाहरूले उक्त व्यक्तिलाई सडकमा देखेका थिए । त्यसपछि प्रहरी नआउन्जेलसम्म स्थानीय बासिन्दाले उक्त व्यक्तिलाई नियन्त्रणमा लिएर राखेका थिए ।

गत जुन १३ मा १३ बर्षका केटा र केटी फ्लसिङस्थित किसेना पार्कमा दिउँसो करिब ३ः३० बजेतिर गएका थिए । त्यसपछि उनीहरुलाई २५ बर्षको व्यक्तिले देखेपछि चक्कु निकालेर उनीहरुलाई झाडी क्षेत्रमा लगेको थियो । त्यसपछि उनीहरुको सेल फोन पनि जर्बजस्ती लिएको थियो भने उनीहरुलाई बाँधेर राखेको थियो । त्यसपछि उक्त व्यक्तिले घटनास्थलबाट भाग्नुअघि बालिकालाई बलात्कार गरेको थियो । बालबालिकाहरु त्यसपछि दौडेर नजिकैको स्कूलमा पुगेका थिए, जहाँ कर्मचारीहरूले ९११ मा फोन गरेका थिए ।

कालो घुमाउरो कपाल भएको संदिग्ध व्यक्ति करिब ५ फिट ५ इन्च अग्लो रहेको भन्दै प्रहरीले स्केच पनि जारी गरेको थियो । उसलाई पछिल्लो पटक हरियो झोला बोकेको र रातो जुत्ता लगाएको देखिएको थियो । उसको छातीमा रातो आँखा भएको बँदेलको ट्याटु रहेको प्रहरीले जनाएको थियो । उक्त व्यक्तिले दाँतमा ब्रासहरु लगाएको र हिस्पानिक मुलको भएको प्रहरीले जनाएको थियो । प्रहरीले यस बलात्कार घटनाको बारेमा जानकारीको लागि १० हजार डलर सम्मको पुरस्कार समेत घोषणा गरेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com