अमेरिकाको टेनेसीमा उमेश दाहालका हत्या अभियुक्त विशाल राईलाई आज अदालतमा पेश
प्रकाशित मिति : असार २७, २०८१ बिहीबार
अमेरिकाको टेनेसीको नासभिलमा ४१ बर्षको उमेश दाहालको हत्या अभियुक्त २६ बर्षीय विशाल राईलाई आज विहिबार अदालतमा पेश गरिएको छ । जुन २९ शनिबार नासभिलमा मन्त्र ब्याण्डको लाइभ कन्सर्टका क्रममा भएको झगडा मिलाउन खोज्दा आक्रमणमा परेका दाहालको मंगलबार बिहान मृत्यु भएको थियो ।
राईले दाहालको टाउकोमा लात्तिले हानेपछि दाहालको टाउकोमा गहिरो चोट लागेको थियो । नासभिलको अदालतको रेकर्ड अनुशार आज राईलाई दोश्रोपटक अदालतमा पेश गरिएको हो । यस अगाडि जुलाई ३ मा अदालतमा न्यायाधिस मेलिसा ब्लाकबर्नसमक्ष पेश गरिएकोमा आज बिहिबार स्थानीय समय अनुशार विहान सबा ९ बजे अदालतमा न्यायाधिस जिम टोड समक्ष पेश गरिएको हो ।
आक्रमणकारी विशाल राईलाई अघिल्लो सोमबार नै प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले आक्रमणकारीका रुपमा राईलाई पहिचान गरेपछि घटनास्थल टप गल्फबाट १४ माइल दक्षिणपूर्वमा रहेको एन्टिओकस्थित घरबाट पक्राउ गरिएको थियो । राईलाई सुरुमा उत्तेजित आक्रमणको आरोप लगाइएपनि उमेशको मृत्यु पछि उक्त अभियोग आपराधिक हत्यामा अपग्रेड गरिने प्रहरीले जनाएको छ ।
उमेश दाहाल नासभिलमा रहेको टप गल्फको तल्लो तहमा नेपाली समुदायका अन्य सदस्यहरूसँग सांगितकि कार्यक्रममा भाग लिइरहेका बेला कार्यक्रमस्थलमा हिंसात्मक झगडा भएको थियो । उक्त कन्सर्ट टप गल्फको तल्लो तहमा ६३५ व्यक्ति क्षमताको लाइभ प्रदर्शन स्थल द कावानमा आयोजना गरिएको थियो । मानिसहरू झगडा गर्दै बाहिर पार्किङ स्थलमा पुगेका थिए ।
त्यसपछि उमेशले विवादलाई मिलाउन खोज्दा उनीमाथि नै मुक्का प्रहार गरिएको थियो । त्यसपछि उनी लडेर कंक्रिटमा टाउको ठोक्किएको थियो । भुइँमा लडिरहेका बेला उमेशको टाउकोमा राईले लात हानेको जनाइएको छ । जसका कारण उनी सख्त घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको थियो ।उमेश दाहालको शनिबार अन्त्येष्टी गरिएको छ । मृतक उमेश दाहाल २ बच्चाका पिता हुन् । उनी नेपालको झापाबाट अमेरिका आएका हुन् ।
न्यायिक आयुक्तले राईलाई सुनुवाई नहुँदासम्म धरौटी विना नै थुनामा राख्न आदेश दिएको छ । राईलाई नासभिल डाउनटाउन डिटेन्सन सेन्टरमा राखिएको छ भने रिहाइको लागि योग्य नभएको जनाइएको छ । जेल रेकर्ड अनुशार राईको मामलमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसमा समेत पठाइएको छ ।
उनीमाथि गत वर्ष पनि जघन्य आक्रमण र घाँटी थिचेको अभियोग लगाइएको थियो । तर अदालतको अभिलेख अनुसार मुद्दा खारेज भएको देखिएको छ ।
कभरमा अभियुक्त विशाल राई ।