को हुन् ट्रम्पमाथि गोली चलाउने २० बर्षीय थोमस म्याथ्यू क्रुक्स ?


प्रकाशित मिति : असार ३०, २०८१ आईतबार

अमेरिकी राष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्पको हत्या प्रयास गर्ने व्यक्तिलाई २० बर्षीय थोमस म्याथ्यू क्रुक्सका रुपमा एफबीआईले पहिचान गरेको छ । पेन्सिलभेनियाको बेथेल पार्क निवासी क्रुक्सको सेक्रेट सर्भिसका स्नाइपरको सुरक्षा कारवाहीमा घटनास्थलमा नै मृत्यु भएको थियो ।

उनले ट्रम्पले बोलिरहेको स्टेजको लगभग ४०० फिट उत्तरमा रहेको एउटा सानो भवनको छतबाट गोली चलाउँदा ट्रम्पको दाहिने कानमा चोट लागेको थियो । बोल्ने क्रममा ट्रम्पले थोरै पोजिशन परिवर्तन गरेका कारणमात्र उनी कन्चटमा गोली लाग्नबाट जोगिएका थिए ।

थोमस क्रुक्सका साथमा परिचयपत्र थिएन । त्यसैले अनुसन्धानकर्ताहरुले उसको पहिचान गर्न डीएनए परीक्षण प्रयोग गरेको एफबीआईको भनाई छ । थोमस क्रुक्स बस्दै आएको पेन्सिल्भेनियाको बेथेल पार्क क्षेत्र हत्याको प्रयास भएको स्थानबाट करिब ४३ माईल अर्थात् ७० किलोमिटर टाढा रहेको छ ।

उनले २०२२ मा बेथेल पार्क हाई स्कूल सकाउँदा गणित र विज्ञानका लागि उत्कृष्ट नम्बर ल्याएका थिए । जसवापत उनलाई ५०० डलर पुरस्कार समेत प्रदान गरिएको थियो । क्रुक्सले आफ्नो घरबाट केही टाढाको स्थानीय नर्सिङ होमको भान्छामा काम गर्थे ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार राज्यको मतदाता रेकर्डले उनी सन् सेप्टेम्बर २०२१ देखि रजिष्टर्ड रिपब्लिकन भएको देखाएको छ । त्यसअगाडि उनले २०२१ कै जनवरीमा डेमोक्रेटिक पार्टी मतदाताहरू बीचको मतदान सुधार गर्न समर्पित संस्था उदार अभियान समूह एक्टब्लुलाई १५ डलर डोनेशन गरेको पनि रिपोर्ट गरिएको छ। उनकी आमा डेमोक्र्याट्स र बुबा लिबरटेरियन रहेको जनाइएको छ ।

क्रुक्सले डिमोलिसन रान्चको टी शर्ट लगाएका थिए । यो बन्दुक र विष्फोटक सामग्री बारेको युट्युब च्यानल हो । यस च्यानलमा बन्दुक र विस्फोटक उपकरणहरूका भिडियोहरू देखाइन्छ ।

अधिकारीहरूले डोनाल्ड ट्रम्पलाई गोली हान्न प्रयोग गरिएको हतियार क्रुकका बुबाले किनेको विश्वास गरेका छन् । क्रक्सका बुबाले कम्तिमा छ महिना अघि हतियार किनेको जनाइएको छ ।

क्रुक्सको गाडीमा अन्य बिष्फोटक पर्दाहरु पनि फेला परेको छ । बम प्राविधिकहरूलाई घटनास्थलमा बोलाएर उपकरणहरू सुरक्षित गर्न र जाँच गर्न लगाइएको थियो । क्रुक्सको पहिचान स्थापित गरेपछि अधिकारीहरुले उनको आशय अनुसन्धान गरिरहेका छन्। क्रुक्स आफ्ना आमाबाबुसँग बस्ने घरको बाटोलाई प्रहरीले बन्द गरेको थियो ।

अधिकारीहरूले छिमेकीहरुलाई मध्यरातमा कुनै चेतावनी बिना नै बाहिर निकालेका थिए । बेथेल पार्क प्रहरीले क्रुक्सको घर वरिपरि बमबारे अनुसन्धान गरेको थियो । त्यस क्षेत्रका बासिन्दाहरूलाई मात्र भित्र बाहिर गर्न अनुमति दिइएको छ।

घटना योजनावद्ध रहेको अधिकारीहरुको विश्वास छ । तर योजनामा ​​कति समय लागेको थियो भन्नेबारे अनुसन्धानको विषय बनेको छ । प्रहरीले घटना उनी एक्लैले गराएको विश्वास गरेको छ ।

सन् २००३ को सेप्टेम्बर २० मा जन्मिएका उनको यस अगाडि कुनै आपराधिक रेडर्क थिएन । सहपाठीहरू र स्कूलका अधिकारीहरूले उनलाई शान्त विद्यार्थी रहेको चित्रण गरेका छन् भने सहपाठीहरूले उनीमाथि प्रायः दुर्व्यवहार हुने गरेको बताएका छन् ।

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com