टेक्सासमा दिपक ओली(३०)को गोली हानी हत्यापछि ५ बर्षकी छोरी र पत्नी वियोगमा, सहयोगको अपिल
प्रकाशित मिति : श्रावण १४, २०८१ सोमबार
टेक्सासको ग्यास स्टेशनमा कार्यरत नेपाली ३० बर्षका दिपक ओलीको गोलीहानी हत्यापछि नेपालमा रहेका उनका ५ बर्षका छोरी र पत्नी वियोगमा परेका छन् । गतबर्षमात्र दलाललाई लाखौं रुपिया बुझाएर मेक्सिको हुँदा विना भिसा अमेरिका आएका पश्चिम रुकुमको बाफिकोटका ओलीको अमेरिकी सपना आइतबार विहानको गोलीकाण्डसँगै समाप्त भएको हो ।
नेपालमा रहेका बुबाआमा, पत्नी र ५ बर्षकी छोरीलाई वियोगमा छाडेर भौतिक संसार छाडेका ओलीको दाहसंस्कार र परिवारको सहयोगका लागि गोफण्डमीमा आर्थिक अभियान सुरु गरिएको छ । ओलीप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना व्यक्त गर्दै २५ हजार डलरको लक्ष्यसहित सुरु गरिएको उक्त गोफण्डमीमा सहयोग गर्न अपिल गरिएको छ ।
सहयोगका लागि यहाँ क्लीक गर्नुहोला।
गोलीकाण्डको घटनाबारे म्याक्लेनन काउन्टीको प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको जनाएको छ । आइतबार विहान एल्म मोटको आई ३५ र रस रोड नर्थमा रहेको गेटोर स्टप ३ मा उक्त घटना भएको हो । ओलीले स्टोरमा क्यासियरका रुपमा काम गर्दै आएका थिए ।
बिहान ५ बजेको समयमा ओली कार्यरत ग्याँस स्टेशनमा आएका दुई लुटेराले गोली हानेका थिए । एक जना श्वेत र अर्का अश्वेत लुटेराहरुले स्टोरमा पसेर गोली प्रहार हानेको र ओलीको घटनास्थलमै निधन भएको जनाइएको छ ।
मृतकका परिवारलाई घटनाबारे जानकारी गराइएको अधिकारीहरुले बताएका छन् । अनुसन्धानकर्ताहरुले घटनास्थलमा थप अनुसन्धान र गरिरहेको अधिकारीहरुको भनाई छ । म्याक्लेनन काउन्टी प्रहरीको कार्यालयले घटनाको बारेमा जानकारी भएका जो कोहीलाई प्रहरीसमक्ष जानकारी दिन अनुरोध गरेको छ ।
अमेरिकाका ग्यास स्टेशनहरुमा लुटेराहरुको आक्रमणमा ज्यान गुमाउने र घाइते हुने नेपालीहरुको संख्या उल्लेख्य रहेको छ । प्राय यस्ता घटनाहरु रातीको समयमा हुने गरेका छन् ।
गतबर्ष अमेरिकाको कोलोराडोमा आफ्नै स्टोरमा काम गर्दै आएका नेपाली भेषराज लामिछानेको बन्दुकधारीद्धारा गोली हानी हत्या भएको थियो । लामिछानेलाई हुईटरीज, कोलोराडोको कन्भिनियन्स स्टोरमा काम गरिरहेको अबस्थामा गोली हानी हत्या गरिएको थियो ।
गतबर्ष नै टेक्सासको युलेसमा बस्दै आएका नेपाली युवा दिपेन्द्र जोशी ग्यास स्टेशनमा काम गरेर फर्कदा गोली लागी घाइते भएका थिए । त्यस्तै गतबर्ष नै टेक्सासको अष्टिनमा ग्यास स्टेशनमा काम गरिरहेका बेला हतियारधारी लुटेराको समुहले ३२ बर्षका भिम बहादुर नाथमाथि गोली प्रहार गर्दा उनी सख्त घाइते भएका थिए ।