थप आवेदन चाहिने भन्दै अमेरिकाको ६५ हजार कामदार भिसाका लागि खोलियो दोश्रोपटक लोटरी
प्रकाशित मिति : श्रावण २१, २०८१ सोमबार
आर्थिक बर्ष २०२५ का लागि अमेरिकाले दोश्रोपटक कामदार भिसा एचवानबीको लोटरी खोलिएको छ । आर्थिक बर्ष २०२५ का तोकिएको भिसाको कोटा पूरा गर्न थप आवेदकहरु चाहिने निर्धारण गर्दै गत मार्च २५ सम्म अनलाइन दर्ता गरेर छनौट नभएका आवेदकमध्येबाटै छनौट गर्नका लागि लोटरी खोलिएको हो ।
यसअगाडि मार्चमा कामदार भिसा एचवानबीका लागि अनलाइन दर्ता गर्ने अवधि तोकेर प्राप्त आवेदनहरु लोटरीमार्फत छनौट गरिएको थियो । यसरी छनौट गरिएका आवेदकहरुलाई भिसा प्रकृया अगाडि बढाउनका लागि अप्रिल १ देखि जुन ३० सम्मको अवधि दिइएको थियो । उक्त अवधिमा भिसा प्रकृया अगाडि बढाइएका आवेदनको मूल्यांकन गरेर थप आवेदक चाहिने निष्कर्ष निकालिएको हालै युएससीआईएसले जनाएको थियो ।
मार्चमा अनलाइनमार्फत दर्ता गरेकाहरुमध्येबाटै छनौट गरिने भएकाले नयाँले भने लोटरीमा समावेश हुनका लागि दर्ता गर्न पाएनन् । पहिले नै दर्ता गरेका तर छनौट नभएकाहरुलेमात्र मौका पाएका छन् । लोटरीमार्फत दोश्रो राउण्डको छनौट गरिएपछि यसबारे छनौट भएका आवेदकहरुलाई जानकारी गराइसकिएको र अब उनीहरुले भिसा प्रकृया अगाडि बढाउनसक्ने युएससीआईएसले जनाएको छ ।
अमेरिकाले नियमिततर्फ ६५ हजार र अमेरिकामा मास्टर्स डिग्री लिएका २० हजार गरी हरेकबर्ष ८५ हजारलाई कामदार भिसा एचवानबी प्रदान गर्दै आएको छ । तर अमेरिकामा मास्टर्स डिग्री लिएकाहरुका सन्दर्भमा भने दोश्रो लोटरी खोलिएन । केबल ६५ हजारका लागिमात्र खोलियो ।
मार्चमा खोलिएको लोटरीबाट १ लाख १४ हजार जनालार्ई छनौट गरिएको थियो । गतबर्षको तुलनामा यसपटक कामदार भिसाको लोटरीमा दर्ता संख्यामा उल्लेख्य गिरावट आएको छ । गतबर्षको तुलनामा यो पटक झण्डै ३ लाख कम आवेदनहरु प्राप्त भएका थिए । गतबर्ष ७ लाख ८० हजार ८ सय ८४ आवेदनहरु लोटरीका लागि दर्ता गरिएकोमा यसपटक जम्मा ४ लाख ७९ हजार ९ सय ५३ आवेदनहरुमात्र दर्ता भए । जुन झण्डै ३९ प्रतिशत कम हो ।
यो बर्ष रोजगारदाताको संख्यामा भने गतबर्षको तुलनामा सामान्य बृद्धि देखिएको छ । गतबर्ष ५२ हजार रोजगारदाताहरु रहेकोमा यो बर्ष ५२ हजार ७ सय रोजगारदाताहरु रहेको युएससीआईएसले जनाएको छ । गतबर्षको लोटरीमा सुरुमा १ लाख १० हजार आवेदनहरु छनौट गरिएकोमा पछि यसमा बृद्धि गरेर १ लाख ८८ हजार आवेदन छनौट गरिएको थियो । जसका कारण छनौट भएका अधिकांशले भिसा पाएनन् । अघिल्ला बर्षहरुमा भने लोटरीमा छनौट भएका आधाभन्दा धेरैले भिसा पाएका थिए ।
यो भिसाका लागि अमेरिका आउन चाहने व्यक्तिले आफै अनलाइनमा गएर सिधा आवेदन दिन सक्दैन । यदि उसलाई अमेरिकामा रहेको कम्पनीले रोजगारको अफर गरेको छ भनेमात्र उक्त रोजगारदाता कम्पनी वा उसको प्रतिनिधि वा उसको कानुन व्यवसायीलेमात्र अनलाइनमा गएर आवेदन दर्ता गर्नसक्छ । एचवानबी भिसामार्फत आउने पदका लागि लाभग्राहीको कम्तीमा स्नातक वा त्यो भन्दामाथिको शिक्षा हासिल गरेको वा सो सरह हुन जरुरी छ ।
कम्पनीमा गर्ने काम उक्त डिग्री भएको व्यक्तिलेमात्र गर्नसक्ने पुष्टी हुनुपर्छ । वा कम्पनीको कामका लागि डिग्री हुनु सामान्य मापदण्ड भएको पुष्टी हुनुपर्छ । यसको मतलव कम्पनी यदि डिग्री नचाहिने खालको छ भने किन डिग्री होल्डरको आवश्यकता छ भन्ने पुष्टी गर्नुपर्छ वा कम्पनी डिग्री चाहिने खालको हुनुपर्छ । लाभग्राही अमेरिकाको मान्यताप्राप्त कलेज वा युनिभर्सिटीबाट स्नातक वा त्योभन्दा माथिको डिग्री हासिल गरेको हुनुपर्छ । अमेरिकामा डिग्री हासिल गरेर स्वदेश फर्किसकेको छ भने पनि फरक पर्दैन ।
वा, अमेरिकाको स्नातक वा त्योभन्दामाथिको डिग्रीसरह मान्यता पाउनेगरी विदेशको डिग्री प्राप्त गरेको हुनुपर्छ । वा, विशेष पेशामा आवद्ध भएर काम गर्नका लागि राज्यका तर्फबाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । जुन लाइसेन्सले विशेष पेशाको अभ्यासका लागि अनुमति प्रदान गर्छ । वा, कुनै विषयगत शिक्षा वा प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ । जुन विशेष डिग्री सरह नै हुन्छ । यसो हुँदा सम्बन्धित विषयमा विज्ञ भएको हुनुपर्छ ।
सामान्यता यी मापदण्डहरु पूरा गरेको रोजगारदाता र लाभग्राहीले अमेरिकाको कामदार भिसा एचवानबी बाट फाइदा लिनसक्छन् । चालु आर्थिक बर्षको चार महिनामा मात्र ३९५ जना नेपालीहरुले कामदार भिसा एचवान बी पाएका थिए भने ९९ जना उनीहरुका आश्रितहरुले एचफोर भिसा पाएका थिए । गत आर्थिक बर्ष २०२३ मा ११३५ जना नेपालीहरुले अमेरिकाको कामदार भिसा एच प्राप्त गरेका थिए ।