न्युयोर्कमा पनि मनाइयो पौष्टिक तत्वका लागि प्रेरित गर्ने शेर्पाहरुको चाड फाग्ङी


प्रकाशित मिति : श्रावण २४, २०८१ बिहीबार

पौष्टिक तत्वका लागि प्रेरित गर्ने चाड फाग्ङी न्युयोर्कमा पनि मनाइएको छ । नेपालको हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा प्रख्यात यो चाड मनाउन शनिबार न्युयोर्कको गुल्शन टेरेस हलमा खुम्बु पासाङ ल्हामु शेर्पा समाजले कार्यक्रम गरेको थियो ।

भोट चन्द्र पात्रो अनुसार छैटौं महिनामा मनाइने गृष्मकालिन चाड फाग्ङीको बेलामा सागसब्जी, मुला, फाकरिल र फलफूल खाँदा अत्यन्त पौष्टिक पदार्थ पाइने र शरीर हृष्टपुष्ट हुने विश्वास गरिन्छ। गृष्म ऋतुमा बालीनालीहरु हरियाली, प्रशस्त सागसब्जी र फलफूल फल्ने समयमा मौलिक नाच र कार्यक्रमका साथ छ्यंगुर, डेसिल र फाकरिल खाएर यो चाड मनाइन्छ।

न्युयोर्कमा संस्थाका अध्यक्ष आङ ग्याल्जेन शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष फुनुरु शेर्पा, शेर्पा किदुक अमेरिकाका अध्यक्ष इन्जिनियर तेम्बा शेर्पा, युएस नेपाल क्लाइम्बर्स एसोसिएसनका अध्यक्ष पासाङ निमा शेर्पा, अल्पाइन स्पोर्ट्स एसोसिएसन युएसएका उपाध्यक्ष छेवाङ शेर्पा, अप स्टेट शेर्पा कम्युनिटीका अध्यक्ष छेची शेर्पा, कनेक्टिकट शेर्पा समाजका अध्यक्ष सोनाम शेर्पा, बुद्ध एजुकेशन न्यूयोर्कका बोर्ड सदस्य तथा शेर्पा किदुकका पूर्व ट्रस्टी समन्वयक पेम्बा ग्याल्जेन शेर्पा लगायतका व्यक्तिको सहभागिता थियो ।

बौद्ध धर्मगुरु लोपोन ग्युर्मे छ्योडकले साङ सेर्किम पूजा गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रममा फाग्ङी चाडको महत्वबारे संस्थाका उपाध्यक्ष पासाङ दावा शेर्पा, लोपोन ग्युर्मे छ्योडक लगायतले फाग्ङी चाडको महत्वबारे बोलेका थिए । प्रथम महाधिवेशनमा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन अधिकृत पासाङ शेर्पा र सह निर्वाचन अधिकृत लाक्पा जाङबु शेर्पालाई कार्यक्रममा सम्मान गरियो ।

त्यसपछि लाक्पा तेन्जी शेर्पाले मनोरञ्जनतात्मक कार्यक्रम संचालन गरेका थिए, जसमा शेर्पा सङ एन्ड म्युजिक ग्रुप र फरक श्यब्रु ग्रुपले मौलिक श्यब्रु नृत्य प्रस्तुत गरे। अन्य कलाकारहरुले नेपाली तथा तिब्बती नृत्यहरु प्रस्तुत गरे। कलाकार महादेव त्रिपाठी र पार्कर खेलाडी दिनेश सुनारका प्रस्तुती पनि रोचक थिए । सांस्कृतिक कार्यक्रमपछि सबैले सामूहिक शेर्पा मौलिक श्यब्रु नृत्य गरे ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com