भर्जिनियाबाट बेपत्ता नेपाली नर्सका श्रीमानविरुद्ध शव लुकाएको अभियोग, भोलि अदालतमा पेश गरिने
प्रकाशित मिति : भाद्र ६, २०८१ बिहीबार
भर्जिनियाबाट बेपत्ता नेपाली नर्स ममता काफ्लेका श्रीमान् नरेश भाट (भट्ट) लाई शव लुकाएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई शुक्रबार अदालतमा पेश गरिने भएको छ । भर्जिनियाको मनासस पार्क प्रहरीले बिहीबार बिहान नरेश भाट (भट्ट) लाई पक्राउ गरेको हो । उनलाई विना धरौटी हिराशतमा राखिएको छ ।
ममताकी एकबर्षकी छोरीलाई डिपार्टमेन्ट अफ सोसल सर्भिसको हेरचाहमा राखिएको छ । बच्चा सुरक्षित भएको र डिपार्टमेन्ट अफ सोसल सर्भिस तथा प्रहरीद्वारा अनुमोदित उपयुक्त हेरचाहकर्ताद्वारा हेरचाह गरिएको प्रहरीको भनाई छ ।
घरमा रातभर खानतलासीपछि विहान नरेशलाई ममता भाट बेपत्तासँग सम्बन्धित भएको ठहर गर्दै पक्राउ गरेको हो । अधिकारीहरूले नरेश भाट (भट्ट) लाई बिहान १०ः४५ बजेतिर हत्कडी लगाएर घरबाट बाहिर निकालेका थिए ।
अहिलेसम्म ममताको अवस्था अज्ञात छ। मंगलबार १ वर्ष पुगेकी उनकी छोरीलाई बिहीबार बिहान प्रहरीले घरबाट निकालेका थिए ।
भर्जिनियाको मनसास पार्कबाट नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको घटनामा अनुसन्धान गरिरहेको मनासस पार्क प्रहरीले घटनाको अनुसन्धानमा उनका श्रीमान् नरेश भाट (भट्ट) ले समन्वय नगरेको बताएको थियो । बुधबार बेलुदेखि घरमा खानतलासी सुरु गरेको प्रहरीले खानतलासीकै बीचमा गरेको पत्रकार सम्मेलनमा अनुसन्धानमा उनका श्रीमान् नरेश भाट (भट्ट) ले सहयोग नगरेको बताएको थियो ।
प्रहरीले उनका श्रीमान् प्रहरी अनुसन्धानमा चासोको व्यक्ति अर्थात् पर्सन अफ इन्ट्र्रेस्ट भएको समेत बताएको थियो । प्रहरीले घरमा बुधबार बेलुकी ५ बजेतिर खानतलासी सुरु गरेको थियो । उक्त खानतलासी रातीसम्म चलेको थियो ।
मनाससबाट जुलाई ३१ देखि बेपत्ता ममता काफ्लेको बारेमा बुझ्न अगस्ट २ मा प्रहरी अधिकारीहरू उनका घरमा पुगेर उनका श्रीमान नरेश भाट (भट्ट) सँग कुरा गरेका थिए । तर श्रीमान नरेश भाट (भट्ट) ले त्यतिबेला उनी हराएको रूपमा रिपोर्ट गर्न चाहेका थिएनन् । अगस्ट ५ मा मात्र भाट (भट्ट) ले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएका थिए ।