ममता बेपत्ता हुनुभन्दा महिनौं अघि नरेशले ‘श्रीमतीको मृत्युपछि विवाह’बारे इन्टरनेट सर्च गरेको खुलासा
प्रकाशित मिति : भाद्र १०, २०८१ सोमबार
ममता काफ्ले बेपत्ताको घटना हुनुभन्दा महिनौं अघि उनका श्रीमान् नरेश भट्टले कम्प्युटरमा ‘श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ?’ भन्नेबारे सर्च गरेको खुलासा भएको छ । नरेशले आफ्नो कामको कम्प्युटरमा श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय लाग्छ भन्नेबारे गुगल गरेको पत्ता लागेको अभियोजकले सोमबार अदालतमा बताएका छन् ।
प्रिन्स विलियम काउन्टीका अभियोजक सारा सामीले मास्टर बेडरूम र बाथरूममा भेटिएको रगतको मात्राले ममता काफलेलाई जीवित नहुनेगरी चोटपटक लागेको सङ्केत गर्ने अदालतसमक्ष बताएकी छिन् । यस मामलाका प्रत्येक सङ्केतले ममता अब जीवित नभएको देखिएको र शवबिना नै नरेशविरुद्ध हत्याको आरोप लगाउन सकिने अभियोजकको भनाई छ ।
अभियोजन पक्ष र नरेशका पक्षका वकिलबीच सोमबार श्रीमती बेपत्ता भएको बेला कसरी शव लुकाएको अभियोग लगाइयो भन्नेबारेमा बहस केन्द्रीत भएको थियो । तीव्र जनआक्रोशले उचित प्रमाणविना मुद्दा अगाडि बढाएको नरेश पक्षका वकिलले तर्क गरेका छन् । यो अभियोग लगाउनका लागि मृत शरीर हुनु आवश्यक भएको तर अहिलेसम्म भएको प्रमाण केबल रगतमात्र भएको उल्लेख गर्दै नरेश भट्टका पक्षका वकिल शालेव बेन अब्राहमले सञ्चारमाध्यमको ठूलो उन्माद भएका कारण पक्राउ गरिएको तथा मानसास पार्क प्रहरी प्रमुख केही गर्न दबाबमा रहेको अदालतसमक्ष बताएका थिए ।
अभियोजकले नरेश भट्ट विरुद्धको प्रमाण पर्याप्त रहेको भन्दै थप अभियोगहरू आउन लागेको बताएका छन् । अभियोजक सारा सामीले रगतको मात्रा र सेक्रेट सर्भिसले उपलब्ध गराएको इन्टरनेट खोज इतिहासलाई जोड दिएकी थिइन् । घरमा भेटिएको रगत ममताकै भएको पुष्टी भएको छैन । तर प्रारम्भिक परीक्षणबाट रगत मान्छेको भएको निष्कर्ष निकालिएको छ ।
नरेशका वकिलले नरेश भट्टको भाग्ने कुनै योजना नरहेको दावी गरेका छन् । उनले हालै आफ्नो टेस्ला बेचेका थिए भने घरबेच्ना दुई सम्भावित क्रेतासँग कुरा गरेका थिए । तर गाडी बिक्री र घर बेच्ने प्रयास परिवारको लागि पैसा उपलब्ध गराउनका लागिमात्र रहेको नरेशका वकिलको तर्क थियो ।
अभियोजकका तर्फबाट सोमबार अदालतमा ममता र नरेशबीचको सम्बन्ध समस्याग्रस्त रहेको थप विवरणहरू पनि प्रदान गरिएको थियो । फेब्रुअरीमा घरमा प्रहरी बोलाइएको र प्रहरी अधिकारीहरूले ममतासँग कुरा गर्दा उनका श्रीमान् नरेशले आधिकारिक कागजातहरू नदिने बताएको तथा ममताको फोन नष्ट गरेको बताएको पनि अभियोजक सारा सामीले अदालत समक्ष बताइन् । ममता घरेलु हिंसाको सिकार भएको र उनको पतिसँगको झगडामा चोटपटक लागेको विवरण पनि अभियोजकका तर्फबाट अदालतमा बताइएको थियो ।
साथीहरू र परिवारसँग नियमित रूपमा कुराकानी गर्ने सक्रिय सामाजिक सञ्जाल प्रयोगकर्ता ममताले जुलाई २९ मा आफ्नो फोन प्रयोग गर्न बन्द गरेको र अगस्त १ मा लाउडन काउन्टी नजिकको नेटवर्कमा उक्त फोन जडान भएको अभियोजकले अदालतलाई बताएका छन् । प्रहरीले घरमा खानतलासी गर्दा मास्टर बेडरूममा रगतका निशानहरू फेला परेका तथा बेडरुमबाट बाथरूमसम्म केही घिसारिएको पत्ता लागेको अभियोजकले अदालतमा बताए ।
अनुसन्धानकर्ताहरुले भित्तामा छरिएको र नुहाउने ठाउँको सम्पूर्ण भुइँलाई छोपेको रगतको मात्रा पत्ता लगाएको तथा घटनास्थलमा अनुसन्धानकर्ताहरुले यति धेरै रगत कहिल्यै नदेखेको बताएको अभियोजकले अदालतमा बताएका छन् । प्रहरीले खानतलासी लिंदा कार्पेट सफा गर्ने सामाग्रीहरु बेडरुममा बाहिर नै रहेको र जसमा नरेशले जुलाई ३१ मा खरिद गरेको कार्पेट क्लिनरको खाली बोतल पनि रहेको अभियोजक सामीले बताइन् ।
सोमबारको सुनुवाईपछि नरेशलाई अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ । धरौटीमा रिहा गर्ने नगर्ने फैसला गर्न सोमबार विहान उनलाई अदालतमा पेश गरिएको थियो । न्यायाधीशले नरेश भट्ट भाग्नसक्ने जोखिममा रहेको र समुदायका लागि खतरा भएको विश्वास गर्दै धरौटीमा रिहा गर्न अस्वीकार गरेका हुन् । नरेशका वकिलले ममता फेला नपरेकाले यस मुद्दामा धरौटीविना राख्नुपर्ने कुनै सम्भावित कारण नभएको भन्दै तर्क गर्न खोजेपनि अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो ।
सोमबार विहान साढे ८ बजे प्रिन्स विलियम जुभेनाइल एण्ड डोमेस्टिक रिलेशन डिस्ट्रिक्ट कोर्टको कोर्टरुम ६ मा उक्त सुनुवाई भएको थियो । उक्त सुनुवाईमा पनि नरेशलाई भौतिक रुपमा नै उपस्थीत गराइएको थियो । अर्को सुनुवाई अब अक्टोबर २४ का लागि तय गरिएको छ ।
यस अघि नरेशलाई पहिलोपटक शुक्रबार अदालतमा पेश गरिएको थियो । प्रिन्स विलियम काउन्टीका अभियोजकले शुक्रबार भएको सुनुवाईमा यो मुद्दामा थप विवरणहरु दिएका थिए । नरेशले आफ्नो टेस्ला बेचेको, सुटकेसहरू प्याक गरेको र आफ्नी श्रीमती बेपत्ता भएपछि आफ्नो घर बेच्ने बारे अरूसँग कुरा गरेको विवरणहरु अदालतमा पेश गरिएको थियो । उनले भाग्ने प्रयास गरिरहेको अधिकारीहरुले विश्वास गरेका छन् ।
नरेशलाई आफ्नी श्रीमती बेपत्ता सम्बन्धमा शव लुकाएको अभियोग लगाउनु अघि जम्मा गरिएका प्रमाणका नयाँ विवरणहरू प्रस्तुत गर्दै अभियोजकले घरमा रगतका टाटा फेला पारेको बताएका छन् । तर यो ममता काफ्लेसँग सम्बन्धित भए नभएको भने अझै पुष्टी भएको छैन । नरेशले जुलाई ३० मा तीनवटा चक्कु र सरसफाइका सामग्री फरक–फरक स्थानबाट खरिद गरेको समेत खुलेको थियो । अनुसन्धानकर्ताहरुले अझै २ वटा चक्कुहरु फेला पारेका छैनन् । सरसफाईका सामाग्रीहरु अपराध स्थल सफा गर्न प्रयोग गरेको हुनसक्ने अधिकारीहरूले आशंका गरेका छन् ।
नरेशले आफू अपराधमा संलग्न भए नभएकोबारे केहीपनि स्वीकार वा अस्वीकार गरेका छैनन् । नरेशमाथि थप अभियोगहरु लाग्ने सम्भावना रहेको अभियोजकले बताएका छन् । ममताकोबारेमा नरेशले धेरै असंगत वयानहरु दिएको अभियोजकको भनाई छ । अभियोजकहरुका अनुशार श्रीमती बेपत्ता हुँदा उनी बेरोजगार थिए ।
अदालती कागजातमा ३० जुलाई २०२४ वा त्यसको आसपासमा आरोपी नरेशले आफ्नी श्रीमती ममताको हत्या गरेको र घटना उनकै निवासमा भएको उल्लेख छ । अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको रिपोर्टमा जनाइएको छ । त्यस्तै शव घरभित्रै रहेको र घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण भेटिएको पनि अदालती कागजातमा उल्लेख गरिएको छ ।
उनीविरुद्ध शव लुकाएको सम्बन्धमा छैठौं श्रेणीको अपराधको अभियोग लगाइएको छ । भर्जिनियामा यो अभियोगमा कम्तीमा १ बर्षदेखि ५ बर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान रहेको छ ।
घरमा रातभर खानतलासीपछि बिहीबार विहान नरेशलाई ममता बेपत्तासँग सम्बन्धित भएको ठहर गर्दै पक्राउ गरिएको थियो । अधिकारीहरूले नरेशलाई बिहान पौने ११ बजेतिर हत्कडी लगाएर घरबाट बाहिर निकालेका थिए ।
ममताकी एकबर्षकी छोरीलाई डिपार्टमेन्ट अफ सोसल सर्भिसको हेरचाहमा राखिएको छ । छोरीलाई कम्बलले लपेटेर घरबाहिर निकालिएको थियो । बच्चा सुरक्षित भएको र डिपार्टमेन्ट अफ सोसल सर्भिस तथा प्रहरीद्वारा अनुमोदित उपयुक्त हेरचाहकर्ताद्वारा हेरचाह गरिएको प्रहरीको भनाई छ ।
अहिलेसम्म ममताको अवस्था अज्ञात छ। प्रहरीले ममता जीवित रहेको कुनै संकेत नरहेको बताएको छ । मनाससबाट जुलाई ३१ देखि बेपत्ता ममता काफ्लेको बारेमा बुझ्न अगस्ट २ मा प्रहरी अधिकारीहरू उनका घरमा पुगेर उनका श्रीमान नरेशसँग कुरा गर्दा उनले त्यतिबेला उनी हराएको रूपमा रिपोर्ट गर्न चाहेका थिएनन् । अगस्ट ५ मा मात्र नरेशले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएका थिए ।
कभर तस्वीर सांकेतिक