मुना पाण्डेको हत्यामा पक्राउ बबी सिंह शाहविरुद्धको अभियोगमा मृत्युदण्ड समेत हुनसक्ने प्रावधान


प्रकाशित मिति : भाद्र १३, २०८१ बिहीबार

टेक्सासको ह्युष्टनमा २१ बर्षकी नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या अभियोगमा पक्राउ गरिएको व्यक्ति बबी सिंह शाहविरुद्ध लगाइएको जघन्य हत्याको मुद्दामा दोषी ठहर भएमा टेक्सासमा मृत्युदण्ड समेत हुनसक्ने प्रावधान रहेको छ । जघन्य हत्याको अभियोग टेक्सासमा हत्याको सबैभन्दा गम्भीर रूप हो।

टेक्सासको कानुन अनुशार जघन्य हत्या पुष्टी हुनका लागि विशिष्ट उत्तेजित परिस्थितिहरु पूरा गर्दछ। अपहरण वा लुटपाटका क्रममा कसैको हत्या भएमा त्यसलाई जघन्य हत्या मान्न सकिन्छ भने चोरी वा आगजनी जस्ता अन्य अपराधको कार्यको क्रममा व्यक्तिको हत्या भएमा पनि त्यसलाई जघन्य हत्या मान्न सकिन्छ। त्यस्तै यौन आक्रमण र बदला लिने हत्यालाई पनि जघन्य हत्या मान्न सकिन्छ । हत्याका लागि अपराधीलाई भुक्तान गरिएको वा भुक्तानीको वाचा गरिएको सन्दर्भमा पनि जघन्य हत्या अभियोग लाग्नसक्छ ।

टेक्सासमा यस्तो हत्याको सजाय या त बिना परोल आजिवन जेल  वा मृत्युदण्ड हो। टेक्सासमा पहिलो डिग्री हत्यामा दोस्रो डिग्री हत्याको तुलनामा ठूलो सजाय हुन्छ । तर जघन्य हत्या टेक्सासमा तिनीहरू दुवैको शीर्षमा रहेको छ । टेक्सास अमेरिकामा मृत्युदण्डलाई अनुमति दिने २७ राज्यहरू मध्ये एक हो ।

अभियुक्त ५१ वर्षीय शाहविरुद्ध २६२ औं स्टेट डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्यको अभियोग दायर गरिएको हो । ह्यारिस काउन्टी जिल्ला सरकारी वकिलको कार्यालयलाई सम्पर्क गरी उनको विरुद्ध जघन्य हत्याको अभियोग लगाइएको थियो ।

शाहलाई बुधबार बेलुका ८ बजे लगत्तै उत्तरपश्चिम ह्युस्टन ट्राफिक स्टपमा पक्राउ गरिएको हो । ह्युष्टन प्रहरीको विशेष हतियार र रणनीति टिमका अधिकारीहरू, ह्युष्टन प्रहरीको अपराध न्यूनीकरण इकाई र टेक्सास डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीको समन्वयकारी प्रयासबाट शाहलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । शाहलाई ह्यारिस काउन्टी जेलमा राखिएको छ ।

प्रहरीले बुधबार दिउसो संदिग्धको फोटो सार्वजनिक गरेको गरेको केही घण्टापछि पक्राउ गरेको हो । सीटीटिभी फुटेजबाट लिइएको फोटो अगस्त २४ शनिबार राती ९ बजेर ४८ मिनेटको थियो ।

मुना पाण्डे सोमबार साँझ गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको ह्युष्टन प्रहरीले बताएको थियो ।

घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली वेष्ट एयरपोर्ट ब्लुभार्डमा रहेको घटनास्थलमा पुगेको र त्यहाँ पुग्दा २१ बर्षकी महिला मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । गोली लागेको अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागि पठाइएको छ ।

ह्युस्टन प्रहरीले जारी गरेको विज्ञप्तीमा गस्ती अधिकारीहरूले पीडितलाई अपार्टमेन्ट भित्र धेरैवटा बन्दुकको गोली लागेको भेट्टाएको बताइएको थियो । प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेको थियो । अपार्टमेन्ट कम्प्लेक्सका कर्मचारीहरूले ९११ मा कल गर्नु अघि उनीहरूलाई अपार्टमेन्ट भित्रको शवको बारेमा अज्ञात कल प्राप्त भएको प्रहरीलाई बताएका थिए ।

उनी परिवारमा एकमात्र सन्तान हुन् । उनको शनिबारदेखि नै फोन अफ रहेकाले घटना शनिबार नै भएको हुनसक्ने आशंका गरिएको छ । तर घटना कहिले र कसरी भएको हो भन्नेबारे अझै पुष्ट विवरण प्राप्त भएको छैन । घटनाको उद्देश्य के थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com