२०२४ को पहिलो क्वार्टरमामात्र २३४० नेपालीलाई अमेरिकी ग्रिनकार्ड, १५७० लाई नागरिकता


प्रकाशित मिति : आश्विन ५, २०८१ शनिबार

आर्थिक बर्ष २०२४ को पहिलो क्वार्टर अर्थात् गत अक्टोबरदेखि डिसेम्बरसम्म २३४० जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाएको तथ्यांक अमेरिकी सरकारको डिपार्टमेन्टअफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छ । जसमध्ये अमेरिकाबाहिरबाट आप्रवासी भिसा लिएर आउनेहरु १४६० जना रहेका छन् भने अमेरिकाभित्रै आई ४८५ फाइल गरेर ग्रिनकार्ड प्राप्त गर्नेहरु ८८० जना रहेका छन् ।

यो अवधिमा १५७० जना नेपालीहरुले अमेरिकी नागरिकता प्राप्त गरेको पनि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । यो अवधिमा १२ हजार ८ सय १० जना नेपालीहरु पनि गैर आप्रवासी भिसामा अमेरिका प्रवेश गरेका थिए । गैरआप्रवासी भिसामा अमेरिका आउनेको संख्या भने आई ९४ को आधारमा गणना गरिएको हो ।

खसोखासले मासिक रुपमा नै गैर आप्रवासी र आप्रवासी भिसा पाउने नेपालीहरुको संख्या ट्रयाक गर्दै आएपनि पछिल्लो विवरणमा भने भिसा पाएर अमेरिकाभित्र प्रवेश गरेकाहरुको संख्या समेटिएको छ । बार्षिक रुपमा अमेरिकी ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या १० हजारभन्दा बढी रहेको छ ।जसमा डिभीमार्फत अमेरिका आउनेहरुको संख्या पनि उल्लेख्य रहेको छ ।

नेपालीहरुले परिवारमा आधारित र रोजगारमा आधारित ग्रिनकार्ड पाउने संख्या अहिलेकै दरमा बृद्धि भएमा आगामी केहीबर्षमा नेपाल डिभी लोटरीका लागि अयोग्य हुने संकेत देखिएको छ । पछिल्ला केहीबर्षमा नेपालीहरुले परिवार र रोजगारमा आधारित ग्रिनकार्ड पाउदे दरमा उल्लेख्य बृद्धि भएको हो ।

अमेरिकी कानुन अनुशार परिवार र रोजगारमा आधारित ग्रिनकार्ड पाउने दर उच्च भएका देशहरु डिभीका लागि अयोग्य हुने प्रावधान रहेको छ । जस अनुशार पछिल्ला ५ बर्षमा रोजगार र परिवारमा आधारित ग्रिनकार्ड पाउनेहरुको संख्या ५० हजार पुगेमा त्यो देश डिभी लोटरीका लागि स्वत अयोग्य हुन्छ ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले बार्षिक रुपमा यो गणना गर्नेगर्छ । यो संख्यामा विगतमा डिभी लोटरीमार्फत आएका वा एसाइलम गरेकाहरुको भने गणना गरिदैन । हाल डिभी लोटरीमार्फत अमेरिका आएका र एसाइलम गरेकाहरुबाहेक पनि रोजगार र परिवारमा आधारित ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या बार्षिक १० हजारको निकट पुग्न लागेको छ । कुनै पनि ५ बर्षको गणना गर्दा यो संख्या ५० हजार नाघेको खण्डमा त्यसपछिको बर्षका लागि नेपाल डिभी लोटरीका लागि अयोग्य हुनेछ ।

सन् २०१३ यताको तथ्यांक हेर्दा कुनै पनि ५ बर्षको अवधिमा ५० हजारको हाराहारी वा सोभन्दा बढी नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाएका छन् । तर यो संख्यामा डिभी लोटरी र एसाइलमबाट ग्रिनकार्ड पाउनेहरुको संख्या पनि समावेश भएकाले नेपाली डिभी कार्यक्रमका लागि योग्य भइरहेको हो ।

अमेरिकी दूतावासले आप्रवासी भिसा अन्तरवार्ताको दर बृद्धि गदै भिसा जारी गर्ने संख्या बढाएमा वा युएससीआईएसले रोजगार र परिवारमा आधारित नेपालीहरुको ग्रिनकार्ड स्वीकृत गर्ने दर अलिकतिमात्र बढाएको खण्डमा पनि नेपालीहरु आगामी केही बर्षमा डिभीका लागि अयोग्य हुनेछन् । आई १३० वा आई १४० आवेदन स्वीकृत भएर परिवार र रोजगारमा आधारित ग्रिनकार्डका लागि पर्खिरहेका नेपालीहरुको संख्या पनि निकै ठूलो भइसकेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com