ओली बाइडेन भेटको फोटो सार्वजनिक, के के हुन्छ १ मिनेटभन्दा छोटो भेटघाटमा?


प्रकाशित मिति : आश्विन ११, २०८१ शुक्रबार

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्दाको तस्वीर सार्वजनिक भएको छ । अमेरिकी राष्ट्रपति बाइडेन र प्रथम महिला जिल बाइडेनले आयोजना गरेको रिसेप्सनमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री पत्नी राधिका शाक्य सहभागी भएका हुन् ।

प्रधानमन्त्री ओलीले ट्रम्पलाई नेपाली पोशाक दौरा, सुरुवाल, कोट र टोपी लगाएर भेटेका थिए । यस अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बाइडेनलाई दौरा, सुरुवाल, कोट र टोपी लगाएर नै भेटेका थिए । त्यसअगाडिका प्रधानमन्त्री माधवकुमार नेपाल, डाक्टर बाबुराम भट्टराई लगायतले भने अमेरिकी राष्ट्पतिलाई टाइसुटमा भेटेका थिए ।

संयुक्त राष्ट्रसंघ महासभाका बेलामा अमेरिकी राष्ट्रपतिले राष्ट्रप्रमुखहरुका लागि रिसेप्सेन पार्टीको आयोजना गर्ने प्रचलन रहेको छ । जस अनुशार विभिन्न देशका राष्ट्रप्रमुख दम्पत्ति र अमेरिकी राष्ट्रपति दम्पत्तिको फोटो सेसन हुने गर्छ । यो रिसेप्सनमा नेपालका प्रधानमन्त्री ओलीलाई मात्र नभएर सबै देशका राष्ट्रप्रमुखहरुलाई अमेरिकी राष्ट्रपतिले १ मिनेट वा त्यो भन्दा अझ कम समय भेट्ने कार्यक्रम हुन्छ ।

यो रिसेप्नसमा सबै देशका राष्ट्रप्रमुखसँग सामान्य हालखबर सोध्ने र फोटो खिच्नेमात्र काम हुन्छ । यद्यपी आफूले महत्व दिएका राष्ट्रप्रमुखहरुलाई अमेरिकी राष्ट्रपतिले रिसेप्सेन कार्यक्रम बाहेक अरु समयमा छुट्टै भेटघाट समेत गर्ने गर्छन् ।

प्रधानमन्त्री ओली दम्पत्तिलाई ढोका बाहिरसम्म छोड्न राष्ट्रसंघका लागि नेपाल मिसनको कार्यालय न्युयोर्कका कर्मचारीहरु र अन्य अधिकारीहरुले साथ दिएका थिए । त्यसपछि ओली दम्पत्तिले भित्र पसेपछि आफ्नो पालो आउनासाथ अमेरिकी राष्ट्रपति बाइडेन दम्पत्तिलाई भेटेका थिए । यो भेटमा सञ्चै हुनुहुन्छ ? भनेर सामान्य व्यक्तिगत हालखबर सोध्नेबाहेक अरु कुराकानी हुँदैन ।

प्रधानमन्त्री ओली दम्पत्ति पनि यो भेटघाटमा हात मिलाएर र फोटो खिचेर फर्केका थिए । यसपटक यो बाहेक ओली र बाइडेनबीच छुट्टै भेटघाट भने सम्भव भएन ।

मेट्रोपोलिटन म्युजियम अफ आर्ट न्युयोर्कमा बुधबार बेलुका भएको उक्त रिसेप्सनमा बाइडेनले छोटो स्वागत मन्तव्य समेत दिएका थिए । ५ बजेर ४९ मिनेटमा सुरु भएको मन्तव्य ५ बजेर ५४ मिनेटमा अर्थात् ५ मिनेटमा सकिएको थियो । ५ बजेर ४९ मिनेटमा सुरु भएको मन्तव्य ५ बजेर ५४ मिनेटमा अर्थात् ५ मिनेटमा सकिएको थियो ।

सुरुमा जिल बाइडेनले मन्तव्य सुरु गर्दै जो बाइडेनका लागि कुटनीति व्यक्तिगत कुरा रहेको बताएकी थिइन् । त्यसैले ५० वर्षभन्दा बढी समयदेखि उनले विश्व नेतासँग गहिरा व्यक्तिगत सम्बन्धहरू सिर्जना गरेको उनले बताइन् । साथै बाइडेनले सहयोगी र साझेदारहरूको लागि उपस्थित हुने गरेको तथा उनले सुन्ने र सधैं जटिल अन्तर्राष्ट्रिय मुद्दाहरूमा साझास्थल खोज्न बहस गर्न तत्पर हुने जिलले बताएकी थिइन् । अमेरिकामा पहिलो महिला हुनु आफ्नो जीवनको गर्वको कुरा रहेको जिल बाइडेनले बताइन् ।

राष्ट्रपति र पहिलो महिलाको रूपमा यो आफूहरुको अन्तिम संयुक्त राष्ट्रसंघ महासभा भएको बताउँदै जिलले यो क्षणलाई जो बाइडेनको सम्मान गर्न र बाइडेनले विश्वनेतासँग बनाएका सम्बन्धहरूलाई एक उज्ज्वल भविष्यको लागि मनाउन चाहने बताएकी थिइन् । त्यसपछि जो बाइडेनले आफ्नो स्वागत मन्तव्य सुरु गरेका थिए ।

बाइडेनले आफ्नो मन्तव्यमा आमा क्याथरीन यूजेनिया फिन्नेगन बाइडेनलाई सम्झेका थिए । आमाले आफूलाई कहिल्यै नझुक्न र हार नमान्न सम्झाउने गरेको उनले बताए । बाइडेनले आफूले संयुक्त संघमा विश्वले भोगिरहेका चुनौती युक्रेन, गाजा, सुडान, हैती, युद्ध, भोकमरी, गरिबी, जलवायु परिवर्तन लगायतलाई चिनेको बताएको उल्लेख गर्दै भने – ‘तर आजको रात मेरो सन्देश यो हो कि हामीले कहिल्यै झुक्नुपर्दैन, कहिल्यै मुड्नुपर्दैन, कहिल्यै हार मान्नुपर्दैन। र सबैभन्दा महत्त्वपूर्ण, हामीले कहिल्यै विश्वास गुमाउनु हुँदैन — हाम्रो क्षमतामा विश्वास गुमाउनु हुँदैन।’

आफू अमेरिकाको सिनेटमा २९ वर्षको उमेरमा निर्वाचित भएको स्मरण गर्दै बाइडेनले भने – ‘त्यसपछि मैले असम्भवलाई वास्तविकता बनिरहेको देखेको छु। मैले बर्लिनको पर्खाल ढलेको देखेको छु। मैले आणविक युद्ध रोक्नको लागि एकसाथ गरेका मानवीय प्रयास देखेको छु। मैले युद्ध अपराधी र तानाशाहहरू मानव अधिकार उल्लंघनका लागि न्याय र उत्तरदायित्वको सामना गर्दै देखेको छु। र मैले मध्य पूर्वका देशहरूलाई शान्ति बनाउन देखेको छु।’

उनले अगाडि भने – ‘मैले चाइनाका सीसँग धेरै समय बिताएँ । हामी तिब्बती पठारमा थियौं । त्यो बेला मैले ९० घण्टा एक्लै उनीसँग बिताएको समय थियो। उनले मलाई हेरेर अमेरिकाको परिभाषा दिन भने । मैले एक शब्दमा अमेरिकाको परिभाषा दिदै भनें सम्भावनाहरू । हामी विश्वास गर्छौं कि जुनसुकै कुरा सम्भव छ। म साँच्चै भन्न चाहन्छु। केहि असम्भव छैन। हाम्रो समयमा हामीले समस्याहरूको सम्पूर्ण श्रृंखलामा पृष्ठ परिवर्तन गर्यौं। हामीले पृष्ठ बदल्यौं । मैले भनेजस्तो केहि असम्भव छैन । हामीले एक शताब्दीको सबैभन्दा खराब महामारीको पृष्ठ बदल्यौं । तानाशाहले यसलाई नक्शाबाट मेट्न धम्की दिएका बेला हामीले युक्रेनलाई बचाइरहेका छौं । हामीले जलवायु परिवर्तनसँग लड्नका लागि इतिहासमा सबैभन्दा ठूलो लगानी गरेका छौं ।’

मन्तव्यको अन्त्यमा उनले आफ्ना हजुरबा र हजुरआमालाई पनि सम्झेका थिए । उनले भने – ‘मेरा हजुरबुबाले भनन्नुहुन्थो – जो विश्वास राख्नू। मेरी हजुरआमाले भन्नुहुन्थ्यो – जो विश्वास फैलाउनु ।’

राष्ट्रपति बाइडेनको मोटरकेड बेलुका ७ बजेर ३९ मिनेटमा म्युजियमबाट बाहिरिएको थियो । त्यसपछि उनी बुधबार बेलुका नै ह्वाइट हाउस फर्किएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com