बाइडेन प्रशासनले अक्टोबर १ देखि सिमाक्षेत्रमा एसाइलमको नियम झन् कडा बनाउने


प्रकाशित मिति : आश्विन १४, २०८१ सोमबार

बाइडेन प्रशासनले अक्टोबर १ देखि सिमाक्षेत्रमा एसाइलमको नियम झन् कडा बनाउने भएको छ । आज राष्ट्रपति जो बाइडेनले अमेरिकी दक्षिणी सीमामा एसाइलममा पहुँच सीमित गर्ने आफ्नो कार्यकारी आदेशमा अपडेट जारी गरेका छन् ।

अपडेट गरिएको नियमन अन्तर्गत बाइडेन प्रशासनले अब विनाभिसा सीमा पार गर्नेहरूको संख्या २८ दिनसम्म लगातार १५ सयभन्दा कम रहेको खण्डमामात्र प्रतिबन्ध हटाउनेछ । गत जुनमा बाइडेन प्रशासनले ल्याएको नियममा एकसातासम्म लगातार विनाभिसा प्रवेश गर्नेको संख्या १५ सयभन्दा कम रहेमा प्रतिबन्ध हटाउने उल्लेख थियो । तर अब उक्त समयसिमा बढाइएको छ ।

दैनिक थ्रेसहोल्डमा यस अगाडि गैर सम्बन्धित देशहरूका बाबुआमाको साथमा नरहेका बालबालिकाहरु समावेश नभएकोमा अहिले यो संख्या समेत समावेश गरिएको छ । नयाँ नीति अक्टोबर १, २०२४ मा मध्यरातबाट तुरुन्तै लागू हुनेछ।

अमेरिकी राष्ट्रपति बाइडेनको एसाइलम प्रतिबन्ध लागु भएदेखि अमेरिका मेक्सिको सीमामा आप्रवासीको गिरफ्तारी घटेको छ । गैरकानूनी रूपमा अमेरिका मेक्सिको सीमा पार गर्ने आप्रवासीको संख्या घटेको हो । यसले नयाँ बाइडेन प्रशासनको नयाँ नीतिले केही अवैध आप्रवासनलाई रोकिरहेको संकेत गरेको छ।

नोभेम्बर ५ को चुनाव अघिको महिनाहरूमा अध्यागमनको विषय अमेरिकीहरूको लागि शीर्ष मुद्दाको रूपमा देखा परेको छ । किनभने उक्त चुनावले ह्वाइट हाउस र संसदमा कस्को नियन्त्रण हुने भन्ने कुराको निर्णय गर्नेछ।

बाइडेनको नियमले विनाभिसा सिमा पार गर्नेहरुको संख्या औषतमा १५ सयभन्दा माथि भएपछि सिमाक्षेत्रमा एसाइलममा प्रतिबन्ध लगाउँछ । गैरकानूनी क्रसिङहरू हटाउन देशनिकालाको उपाय महत्त्वपूर्ण रहेको अधिकारीहरुले बताएका छन् ।

आइसले हरेक दिन लगभग पाँच देखि सातवटा देशनिकालाका उडानहरु सञ्चालन गर्दै आएको छ । मुख्य रूपमा मध्य अमेरिका र पश्चिमी गोलार्धका अन्य राष्ट्रहरूमा देशनिकालाका लागि यी उडानहरु संचालित छन् । ती उडानहरूले सामान्यतया लगभग १०० देखि १२० जना निर्वासितहरू बोक्छन्। उडानहरूलाई तिनीहरूको लागतको अतिरिक्त महत्त्वपूर्ण योजना र समन्वय आवश्यक पर्दछ।

बाइडेन प्रशासनले उडानका अतिरिक्त मेक्सिकोसँगको स्थल सीमामार्फत थप आप्रवासीहरूलाई फिर्ता पठाइरहेको छ । मेक्सिकोका अधिकारीहरूले मध्य अमेरिकीहरू, क्युबालीहरू, हाइटियनहरू र भेनेजुएलाका नागरिकहरुलाईमात्र फिर्ता लैजाने सिमितता कायम गरेकाले अरु देशका नागरिकहरुलाई उडानमार्फत पठाउनुपर्छ ।

मेक्सिकोले नेपाल, चीन, भारत, अफ्रिकाका राष्ट्रहरू र विश्वका अन्य ठाउँहरूबाट अमेरिका प्रवेश गरेका आप्रवासीहरूलाई फिर्ता लिदैन । ती देशका नागरिकहरुलाई शरण लिन अयोग्य सावित गर्दा पनि नयाँ प्रतिबन्धहरूले उनीहरुलाई द्रुत निर्वासन गर्न सक्दैन । किनभने उनीहरुलाई उडानमार्फत फरक प्रकृया अपनाएर देशनिकाला गर्नुपर्ने हुन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com