भिसा कुरेका ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कमका छोराछोरीहरुका लागि खुशीको खबर, अन्य श्रेणीमा निराश


प्रकाशित मिति : आश्विन २४, २०८१ बिहीबार

बिहिबार सार्वजनिक नोभेम्बरको भिसा बुलेटिनले भिसा कुरिरहेका ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कमका छोराछोरीहरुका अनुहारमा थोरै भएपनि मुस्कान ल्याएको छ । विगत ५ महिनादेखि उनीहरुले आप्रवासी भिसा पाउने मितिमा कुनै फेरबदल भएको थिएन । अर्थात् यो श्रेणीमा फाइनल एक्सन डेट जुन महिनादेखि नै १५ नोभेम्बर २०२१ कायम भएको थियो ।

यो मिति अक्टोबरमा एकसाता सरेर २२ नोभेम्बर २०२१ कायभ भएकोमा नोभेम्बरका लागि भने १ महिना १ साता सरेर १ जनवरी २०२२ कायम भएको छ । अर्थात् नोभेम्बर महिनामा १ जनवरी २०२२ भन्दा अगाडि प्राथमिकता मिति भएका ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कमका छोराछोरीहरुले आप्रवासी भिसाका लागि दूतावासमा अप्वाइन्टमेन्ट प्राप्त गर्न र भिसा पाउन योग्य हुनेछन् ।

उनीहरुको आवेदन युएससीआईएसबाट स्वीकृत भइसकेको खण्डमा भने जुलाई १५, २०२४ भन्दा अगाडि दिएको आवेदन नेशनल भिसा सेन्टरले डकुमेन्ट्री क्वालीफाइड हुनका लागि प्रकृया अगाडि बढाउँछ । तर भिसा अन्तरवार्ताका लागि भने भिसा बुलेटिनमा रहेको फाइनल एक्सन डेट नै प्रतिक्षा गर्नुपर्छ । युएससीआईएसले आई १३० आवेदन प्रकृयामा लैजान भने लामो समय लगाउने गरेको छ ।

यो मितिका आधारमा अमेरिकी दूतावासले परिवारमा आधारित आप्रवासी भिसा अप्वाइन्ट तय गर्ने र भिसा जारी गर्ने गर्छ ।

अमेरिकाभित्र हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका लागि ग्रिनकार्ड फाइल गर्ने मिति गतबर्षको अगस्तसम्म कन्करेन्ट रहदै आएकोमा गतबर्षको सेप्टेम्बरदेखि भने कन्करेन्ट छैन । अथात् अमेरिकाभित्रै हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले आई १३० पिटिसन र ग्रिनकार्ड आवेदन आई ४८५ एकसाथ भने फाइल गर्न पाउँदैनन् ।

नोभेम्बरको भिसा बुलेटिनमा परिवारमा आधारित अधिकांश श्रेणीका ग्रिनकार्ड आवेदन दिने मिति र प्राप्त गर्ने मितिमा भने अक्टोबरको तुलनामा कुनै टसमस भएको छैन । जसका कारण अधिकांश श्रेणीमा परिवारमा आधारित ग्रिनकार्डको प्रतिक्षा गरिररहेकाहरु निराश भएका छन् । नोभेम्बरमा अधिकांश श्रेणीमा ग्रिनकार्ड फाइल गर्न र आप्रवासी भिसा वा ग्रिनकार्ड पाउन लाग्ने अवधि अझ थपिएको छ ।

अक्टोबरमा अमेरिकाभित्रै हुने ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीहरुको ग्रिनकार्ड फाइल गर्ने मिति जुलाई १५, २०२४ कायम भएको थियो । नोभेम्बरका लागि यो मितिमा फेरबदल आएको छैन । अर्थात् जुलाई १५, २०२४ भन्दा अगाडि आई १३० आवेदन फाइल गरेका अमेरिकाभित्र भएकाहरुले नोभेम्बरमा यो श्रेणीमा ग्रिनकार्ड आवेदन आई ४८५ पनि फाइल गर्न सक्नेछन् ।

यो मितिका आधारमा अमेरिकाभित्र हुनेहरुले परिवारमा आधारित ग्रिनकार्डका लागि आई ४८५ आवेदन दिनसक्छन् ।

नोभेम्बरको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुलाई ग्रिनकार्ड पाउन लाग्ने अवधि १७ बर्ष २ महिना पुगेको छ । १ अगस्त २००७ भन्दा अगाडि आई १३० आवेदन पेश गरेर स्वीकृत भई नेशनल भिसा सेन्टरबाट सबै प्रकृया पूरा भएकाहरुले अक्टोबरमा आप्रवासी भिसाका लागि अन्तरवार्ताको मिति पाउन सक्नेछन् ।

अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुलाई ग्रिनकार्ड पाउन लाग्ने अवधि बढेको बढ्यै रहेको छ । जसका कारण सन् २००७ भन्दा पछाडि आई १३० आवेदन दिएका अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुले आप्रवासी भिसा पाउन सकेका छैनन् । लामो समयको प्रतिक्षा अवधिका कारण भिसा कुरेर बसेका उनीहरु निराश भएका छन् ।

नोभेम्बरको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरीहरुका लागि भिसा पाउन लाग्ने अवधि ९ बर्ष १ महिना रहेको छ । अर्थात् २२ अक्टोबर २०१५ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले नोभेम्बरमा भिसा पाउन सक्नेछन् ।

ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरीहरुका लागि भिसा पाउन लाग्ने अवधि ८ बर्ष ६ महिना रहेको छ । अर्थात् १ मे २०१६ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले नोभेम्बरमा भिसा पाउन सक्नेछन् ।

अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुका लागि भिसा पाउन लाग्ने अवधि १४ बर्ष ६ महिना रहेको छ । अर्थात् १५ अप्रिल २०१० भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले नोभेम्बरमा भिसा पाउन सक्नेछन् । अर्थात् अवधि झण्डै २ साता सरेको छ । अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा ग्रिनकार्ड आवेदन दिन पाउने मिति पनि ९ महिना सरेको छ । यद्यपी परिवारमा आधारित अन्य श्रेणीमा अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा ग्रिनकार्ड आवेदन दिन पाउने मितिमा अक्टोबरको तुलनामा नोभेम्बरमा कुनै फेरबदल आएको छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com