बाइडेनको प्रतिबन्धपछिको पहिलो महिना झन् बढे विनाभिसा अमेरिका छिर्न खोज्ने नेपाली


प्रकाशित मिति : आश्विन २८, २०८१ सोमबार

अमेरिकी राष्ट्रपति जो बाइडेनको एसाएलम प्रतिबन्धपछिको पहिलो महिनामा मानवतस्करमार्फत विनाभिसा मेक्सिकोहुँदै अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ पर्ने नेपालीहरुको संख्यामा बृद्धि भएको देखिएको छ । पक्राउ पर्नेहरुको कुल संख्यामा गिरावट आएतापनि नेपालीको संख्यामा भने बृद्धि देखिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ ।

बाइडेन प्रशासनले जुनको पहिलोसातादेखि सिमाक्षेत्रमा एसाइलममा प्रतिबन्धहरु लागु गरेको थियो । प्रतिबन्ध लागु भएको जुन महिनामा विनाभिसा मेक्सिकोहुँदै अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ पर्ने नेपालीहरुको संख्या २ सय रहेको थियो । जबकी अघिल्लो महिना अर्थात् प्रतिबन्ध लागु हुनु अगाडि मे महिनामा १८० जना नेपालीहरु मेक्सिकोको सिमाक्षेत्रबाट विनाभिसा अमेरिका प्रवेश गरेका थिए ।

योसँगै गत आर्थिक बर्षका ९ महिनामा २८६० नेपालीलाई मानवतस्करमार्फत विनाभिसा मेक्सिकोहुँदै अमेरिका प्रवेश गर्ने क्रममा अमेरिकी सिमा सुरक्षा गस्तीले पक्राउ गरेको तथ्यांक सार्वजनिक भएको छ । नेपालीका सन्दर्भमा जुलाई, अगस्त र सेप्टेम्बरको तथ्यांक अझै आइसकेको छैन ।

विनाभिसा मेक्सिकोहुँदै अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ पर्नेहरु २०२४ को जनवरीमा २०० जना, फेब्रुअरीमा २३० जना, मार्चमा १६०, अप्रिलमा ३१० जना रहेका थिए । सन् २०२३ को डिसेम्बरमा ४२० जना, नोभेम्बरमा ५५० जना र अक्टोबरमा ६१० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए ।

आर्थिक बर्ष २०२४ का पछिल्ला महिनाहरुमा यो संख्यामा केही गिरावट देखिएको छ । बाइडेनको प्रतिबन्ध अगाडि आर्थिक बर्ष २०२३ को १२ महिना  र २०२४ को ९ महिनाको यो तथ्यांक विगतका बर्षहरुको तुलनामा निकै उच्च रहेको छ ।

२०१४ देखि २०२२ सम्म ९ बर्षको अवधिमा जम्मा ५१८० जना नेपालीहरु मेक्सिकोको सिमाक्षेत्रबाट विनाभिसा अमेरिका प्रवेश गर्दा पक्राउ परेका थिए । तर त्यसको तुलनामा २०२२ को अक्टोबरदेखिको २१ महिनामा धेरै नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गर्दा पक्राउ परेको तथ्यांक डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छ, जुन संख्या ६ हजार रहेको छ । यो संख्या केबल अमेरिका प्रवेशका क्रममा सिमा सुरक्षा गस्तीसँग जम्काभेट हुनेहरुकोमात्र हो ।

अघिल्लो आर्थिक बर्ष २०२३ मा अहिलेसम्मकै इतिहासमा सबैभन्दा धेरै ३१४० जना नेपालीहरु विनाभिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए । उक्त आर्थिक बर्षको पहिलो महिना २०२२ को अक्टोबरमा १७०, नोभेम्बरमा २२०, डिसेम्बरमा ३२०, २०२३ को जनवरीमा १४०, फरबरीमा १००, मार्चमा १३०, अप्रिलमा २६०, मेमा ४६०, जुनमा ४८०, जुलाईमा ३१०, अगस्तमा २४०, सेप्टेम्बरमा ३३० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए ।

आर्थिक बर्ष २०२२ मा यसरी अमेरिका प्रवेश गर्ने नेपालीहरुको संख्या १४९० थियो भने २०२१ मा ४२० जना नेपालीहरुमात्र विनाभिसा अमेरिका प्रवेश गरेका थिए । बाइडेन प्रशासनमा ७ हजार ४ सय १० नेपालीहरु विनाभिसा प्रवेश गर्ने क्रममा पक्राउ परेका छन् जबकी ट्रम्प प्रशासनको ४ बर्षमा १८५० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए । अर्थात् आर्थिक बर्ष २०१७ मा ६५०, २०१८ मा ७२०, २०१९ मा ३४० र २०२० मा १४० जना नेपालीहरु मेक्सिकोबाट विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परे ।

त्यस अगाडि २०१४ मा ४६०, २०१५ मा ४१०, २०१६ मा ५५० जना नेपालीहरु मेक्सिकोबाट विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए । उनीहरु दलाललाई हजारौं डलर तिरेर विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा सिमा सुरक्षा गस्तीको जम्काभेटमा परेका हुन् । तीमध्ये कतिपय तत्काल अमेरिकामा रिहा भएका थिए भने कतिपयलाई अध्यागमन हिराशतमा राखिएको थियो । त्यसमध्ये केही अमेरिकाबाट देशनिकालामा समेत परेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com