राष्ट्रसंघले भन्यो : दक्षिणी लेबनानबाट शान्ति सैनिकहरू हट्दैनन


प्रकाशित मिति : आश्विन २९, २०८१ मंगलबार

संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानबाट शान्ति सैनिकहरू नहट्ने बताएको छ । यद्यपि इजरायलले शान्ति सैनिकहरुलाई आफ्नो सेनाको बाटोबाट हटाउन बारम्बार माग गर्दै आएको छ ।

संयुक्त राष्ट्रसंघको शान्ति अभियान प्रमुख जीन पियरे लाक्रोइक्सले न्यूयोर्कमा बताए अनुसार युनिफिल फौजलाई त्यहाँ नै राख्ने निर्णयलाई संयुक्त राष्ट्र सुरक्षा परिषद् र फौजमा योगदान दिने सदस्य राष्ट्रहरूको पूर्ण समर्थन छ ।

आइतबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दक्षिणी लेबनानमा रहेको संयुक्त राष्ट्रसंघका अड्डाहरू हटाउन कडा चेतावनी दिनुभएको थियो । उहाँले ती अड्डाहरूले हिजबुल्लाह लडाकुलाई मानव ढालको रुपमा काम गराइरहेको आरोप समेत लगाउनु भयो ।

शान्ति अभियान प्रमुखले संयुक्त राष्ट्रसुरक्षा परिषद्ले दिएको जिम्मेवारी पूरा गर्न र नागरिक जनतालाई सहयोग पुर्याउनका लागि ब्लू हेलमेट लगाएका शान्ति सैनिकहरूलाई त्यहाँ नै रहनु आवश्यक देखिएको बताएका छन ।

संयुक्त राष्ट्रसंघले हिजबुल्लाहलाई सुरुङ निर्माण गर्न र सीमा नजिकै रकेट र मिसाइलजस्ता हतियार तैनाथ गर्न रोक्न असफल भएको इजरायलले बताएको छ ।
यी गतिविधिहरू १८ वर्षअघि भएको अन्तिम युद्ध अन्त्य गर्ने सम्झौताको उल्लङ्घन भएको इजरायलको दाबी छ ।

संयुक्त राष्ट्रसंघले मिशनको उद्देश्य द्वन्द्वमा रहेका पक्षहरूलाई सहयोग गर्नु हो, सम्झौता लागू गराउनु होइन भनेको छ ।

संयुक्त राष्ट्रसंघले इजरायलमाथि आफ्ना शिविरहरूलाई जानाजान निशाना बनाएको आरोप लगाएको छ । जसमा गत हप्तामा पाँच जना शान्ति सैनिक घाइते भएका थिए । नेतन्याहुले यो आरोप लाई अस्वीकार गरिरहनु भएको छ ।

इजरायलले यस्ता घटनाहरूलाई रोक्न आफ्नोतर्फबाट अधिकतम प्रयास गरिने बताउदै संयुक्त राष्ट्रसंघका शान्ति सैनिकहरूले खतरा हुने क्षेत्रबाट हट्नुपर्ने भन्दै दवाव दिइरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com