अमेरिकी राष्ट्रपति चुनाव: ब्याटलग्राउण्ड राज्य जर्जियामा अग्रिम मतदानको पहिलो दिन रेकर्डब्रेक


प्रकाशित मिति : आश्विन २९, २०८१ मंगलबार

१६ इलेक्टोरल मतभार रहेको ब्याटलग्राउण्ड राज्य जर्जियामा आजदेखि अमेरिकी राष्ट्रपति राष्ट्रपति चयनका लागि अग्रिम मतदान सुरु भएको छ । नोभेम्बर १ सम्म अग्रिम मतदान हुने जर्जियामा चुनावको मुख्य दिन नोभेम्बर ५ भन्दा अगाडि नै मतदान गर्नेहरुको संख्या उल्लेख्य देखिएको हो ।

मङ्गलबार ३ लाख भन्दा बढीले मतदान गरेको जर्जियाको सेक्रेटरी अफ स्टेटको कार्यालयले जनाएको छ । अग्रिम मतदानको पहिलो दिन यसअगाडि सन् २०२० मा १ लाख ३६ हजारले मतदान गरेका थिए । अमेरिकामा चुनावको मुख्य दिन भींडभाड हुने र लाइन लामो हुने भएकाले उक्त लामो लाइनमा बस्न नचाहने तथा चुनावको मुख्य दिन अन्य काममा जानुपर्नेहरुले अग्रिम मतदान गर्नसक्ने प्रावधान रहेको छ ।

ब्याटलग्राउण्ड राज्यका रुपमा चिनिने जर्जियाको चुनावलाई चासोका साथ हेरिएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्ष पहिले त्यहाँ राष्ट्रपति जो बाइडेनसँग सानो अन्तरले हारेका थिए । त्यसपछि ट्रम्प र उनका सहयोगीहरूले ट्रम्पको पराजयलाई उल्टाउन असफल प्रयास गरेका थिए । बाइडेनले सन् २०२० मा जर्जियामा ११ हजार ७७९ भोटको अन्तरले चुनाव जितेका थिए ।

सन् २०२० को चुनावमा बाइडेनले २४ लाख ७३ हजार ६ सय ३३ मत ल्याएका थिए भने ट्रम्पले २४ लाख ६१ हजार ८ सय ५४ मत ल्याएका थिए । २०१६ मा भने ट्रम्पले २० लाख ८९ हजार १ सय ४ मत ल्याएर जर्जियामा चुनाव जितेका थिए । सन् २०२० को चुनावमा बाइडेनले जितेपनि त्यसअगाडिका ६ वटा राष्ट्रपति चुनावमा जर्जियामा रिपब्लिकन उम्मेदबारले लगातार जितेका थिए ।

अक्टोबर १५ सम्मको न्युयोर्क टाइम्सको सर्वेक्षण अनुशार जर्जियामा ट्रम्पका पक्षमा ४९ प्रतिशत र कमला ह्यारिसका पक्षमा ४८ प्रतिशत मतदाताहरु देखिएका छन् । राष्ट्रपति चुनावको मुख्य दिन आउन झण्डै ३ साता बाँकी रहँदा भएका अधिकांश सर्वेक्षणहरुमा ट्रम्प र ह्यारिसबीच नेक टु नेक प्रतिस्पर्धा देखिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com