अमेरिकाले चालु आर्थिक बर्षमा १ लाख २५ हजारसम्म शरणार्थी भित्राउने


प्रकाशित मिति : कार्तिक २, २०८१ शुक्रबार

अमेरिकाले चालु आर्थिक बर्षमा १ लाख २५ हजारसम्म शरणार्थी भित्राउने योजना बनाएको छ । राष्ट्रपति जो बाइडेनले उक्त संख्यामा चालु आर्थिक बर्ष २०२५ मा अमेरिकामा शरणार्थीहरु भित्राउनका लागि अनुमति दिएका हुन् । यसबारे आज फेडरल रजिष्ट्ररमा सुचना प्रकाशित गरिएको छ ।

उक्त नम्बर विभिन्न ५ वटा क्षेत्रमा विभाजन गरिएको छ । जस अन्तरगत अफ्रिकाबाट ३० देखि ५० हजार, पूर्वी एसियाबाट १० देखि २० हजार, युरोप र मध्य एसियाबाट २ देखि ३ हजार, ल्याटिन अमेरिका र क्यारेबियनबाट ३५ देखि ५० हजार, नियर इस्ट र दक्षिण एसियाबाट ३० देखि ४५ हजारसम्म शरणार्थी अमेरिका भित्राउन बाइडेन प्रशासनले स्वीकृति दिएको छ ।

क्षेत्रहरुलाई प्रदान गरिएको दायरा आवश्यकता अनुशार लचिलोपन प्रदान गर्ने उद्देश्यले तय गरिएको छ । तर सबै क्षेत्रहरूमा कुल भर्नाहरू १ लाख २५ हजारभन्दा बढी नहुन सक्छ। संसदको न्यायिक समितिहरूलाई सूचना प्रदान गरेपछि विशेष क्षेत्रका लागि तोकिएको र प्रयोग नभएको संख्या अन्य क्षेत्रमा स्थानान्तरण गर्न सकिने प्रावधान छ ।

गत आर्थिक बर्षका लागि पनि यो संख्या १ लाख २५ हजार नै तय गरिएको थियो । आर्थिक बर्ष २०२२ र २०२३ मा पनि बार्षिक कोटा १ लाख २५ हजार नै तोकिएको थियो । तर २०२४ मा झण्डै १ लाखलाई शरणार्थीका रुपमा अमेरिका प्रवेश दिइयो भने २०२३ मा ६० हजारलाई र २०२२ मा झण्डै २५ हजारलाई शरणार्थीका रुपमा अमेरिका प्रवेश दिइएको थियो ।

२०२१ का लागि ६२ हजार ५ सयको कोटा भएतापनि ११ हजार ४ सय ११ जनलाई शरणार्थीका रुपमा अमेरिका प्रवेश दिइएको थियो । ट्रम्प प्रशासनले आर्थिक बर्ष २०२० का लागि १८ हजारको कोटा तय गरेकोमा ११ हजार ८ सय १४ जनालाई शरणार्थीका रुपमा अमेरिका प्रवेश दिइएको थियो ।

त्यस्तै २०१९ मा ३० हजार, २०१८ मा ४५ हजारको कोटा तोकिएकोमा २०१९ मा सबै कोटा प्रयोग भएको थियो भने २०१८ मा २२ हजार ६ सय ५५ जनालाई शरणार्थीका रुपमा अमेरिका प्रवेश दिइएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com