अमेरिकाको विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट स्लट भोलि नोभेम्बर ५ मा खोलिने
प्रकाशित मिति : कार्तिक १९, २०८१ सोमबार
सेप्टेम्बरदेखि अमेरिकी दूतावास काठमाडौंले हरेक महिना भिजिटर र विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट स्टलहरु खोल्न सुरु गरेको छ । प्रत्येक महिनाको एक मितिमा नयाँ विद्यार्थी भिसा अप्वाइनटमेन्टका स्लटहरु खोल्ने र ती मितिहरू अग्रिममा घोषणा गर्ने दूतावासको भनाई अनुशार मार्च २०२५ का लागि नोभेम्बर ५ मंगलबार अप्वाइन्टमेन्ट स्लटहरु खोलिने भएको छ ।
नोभेम्बर ५ मा मार्च २०२५ का लागि विद्यार्थी र भिजिटर भिसाका अप्वाइन्टमेन्ट लिन सकिनेछ । अप्वाइन्टमेन्टहरु विहान ८ बजे खुल्ने अमेरिकी दूतावास काठमाडौंले जनाएको छ । यस अगाडि जनवरी र फेब्रुअरीका लागि सेप्टेम्बर र अक्टोबरमा भिसा अप्वाइन्टमेन्ट स्लटहरु खोलिएको थियो ।
अमेरिकी दूतावासहरुमा भिसा अप्वाइन्टहरु पाउन निकै लामो समय कुनुपर्ने बाध्यता रहेको अवस्थामा अमेरिकी दूतावास काठमाडौंले त्यसलाई सहज बनाउन नयाँ योजना ल्याएको हो । विगतमा पनि अमेरिकी दूतावासले बेलाबेलामा भिसाका अतिरिक्त नयाँ अप्वाइन्टमेन्ट स्टलहरु खोल्दै आएपनि मासिक रुपमा नियमित भने गरेको थिएन । दूतावासले आवेदकको चापलाई मध्यनजर गरेर बेलाबेलामा विदाको दिन आइतबार समेत भिसा अन्तरवार्ता लिने गरेको थियो ।
अमेरिकी दूतावास काठमाडौंमा भिजिटर र विद्यार्थी भिसाका लागि अप्वाइन्टमेन्ट पाउन औषतमा १० महिना कुनुपर्ने बाध्यता रहेको छ । तर विद्यार्थी भिसाका लागि १० महिनापछिको अप्वाइन्टमेन्ट लिंदा पढाई छुट्ने समस्या भएकाले उक्त अवधिलाई घटाउन दूतावासले नयाँ कदम चालेको हो । २०२५ मा अमेरिका अध्ययनका लागि आउन चाहनेहरुले अब थप भिसा अप्वाइन्टमेन्ट स्लटबाट फाइदा लिन सक्ने भएका छन् ।
अमेरिकाको विद्यार्थी भिसाका लागि आवेदन दिने नेपालीहरुको चाप पछिल्लो समयमा अत्यन्तै बढेको छ । यो चापसँगै विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्यामा पनि ऐतिहासिक रेकर्ड कायम भएइसकेको छ । आर्थिक बर्ष २०२४ मा कुल १३ हजार ५ सय २४ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका छन् भने भिसा पाउने उनीहरुका डिपेन्डेन्टहरुको संख्या अलग छ ।
सेप्टेम्बरमा ७६२ र १४५० जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए । अगस्तमा उनीहरुका थप ६८ डिपेन्डेन्टहरु र सेप्टेम्बरमा ३४ जना उनीहरुका डिपेन्डेन्टहरुले अमेरिकाको एफ टु श्रेणीको भिसा पाएका थिए ।
जुलाईमा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीको संख्यामा गत आर्थिक बर्षमै अभूतपूर्व रेकर्ड कायम भएपनि त्यसको तुलनामा अगस्तमा केही कमी देखिएको थियो । जुलाईमा कुल १७८८ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए, जुन गत आर्थिक बर्षकै सबैभन्दा धेरै हो । उनीहरुका ६३ जना डिपेन्डेन्टहरुले पनि एफ टु भिसा पाएका थिए ।
गत जुनमा पनि अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्यामा नयाँ रेकर्ड कायम भएको थियो । जुनमा १७ सय जना नेपाली विद्यार्थीहरु र ७६ जना उनीहरुका डिपेन्डेन्टहरुले अमेरिकाको भिसा पाएका थिए । यो संख्या गत आर्थिक बर्षको ९ महिनामा सबैभन्दा धेरै थियो ।
मे महिनामा सन् २०२४ को जनवरीयताकै सबैभन्दा धेरै १५०८ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए । उनीहरुका ६० जना डिपेन्डेन्टहरुले पनि एफ टु श्रेणीको भिसा पाए ।
जनवरीमा ११०१ जना, फेब्रुअरीमा २०१ जना, मार्चमा ३९५ जना र अप्रिलमा १३९९ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए । अमेरिकाको आर्थिक बर्ष २०२४ को सुरुको ३ महिना अर्थात् सन् २०२३ को अक्टोबर, नोभेम्बर र डिसेम्बरको अवधिमा २८९६ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए ।
अक्टोबरमा ५०८, नोभेम्बरमा ७८४ र डिसेम्बरमा १६०४ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए । त्यो बाहेक उनीहरुका १११ जना डिपेण्डेटहरुले पनि अमेरिकाको एफ टु श्रेणीको भिसा प्राप्त गरेको अमेरिकी सरकारको विदेश मन्त्रालय, ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांकमा उल्लेख छ ।
अघिल्लो आर्थिक बर्ष २०२३ मा ६ हजार २ सय ३ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएको रेकर्ड अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको छ । उक्त संख्याको तुलनामा २०२४ मा जारी विद्यार्थी भिसा संख्या दोब्बरभन्दा पनि बढी हो ।
यद्यपी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जारी गरेको तथ्यांक अनुशार आर्थिक बर्ष २०२३ मा १० हजार २ सय २० जना नेपाली विद्यार्थी र एक्सचेन्ज भिजिटरका रुपमा अमेरिका प्रवेश गरेका थिए । होमल्याण्ड सेक्युरिटीको तथ्यांक जारी भिसाका आधारमा नभई आई ९४ का आधारमा गणना गरिएकाले उनीहरु सबै २०२३ मा भिसा पाउनेहरु भने होइनन्, विगतमा भिसा पाएर २०२३ मा अमेरिकाबाहिर गएर फर्कनेहरु पनि यसमा समावेश छन् ।
अमेरिकामा विद्यार्थी भिसामा आउने नेपालीहरु हरेकबर्ष थपिदै गर्दा विद्यार्थीहरुका समस्या र मानसिक अवस्थाबारे पनि चासो बढ्न थालेको छ । पढाई र आर्थिक दवावका कारण विद्यार्थीहरुले भोगेका मानसिक समस्याबारे नेपाली समाजमा बहसमा बृद्धि भएको छ ।