नर्थ क्यारोलिना र जर्जियाको ट्रेण्ड कायम रहेमा राष्ट्रपति बन्न कमलाले पेन्सिलभेनिया जित्नैपर्ने


प्रकाशित मिति : कार्तिक २०, २०८१ मंगलबार

नर्थ क्यारोलिना र जर्जियाको ट्रेण्ड कायम रहेमा राष्ट्रपति बन्न कमला ह्यारिसले पेन्सिलभेनिया जित्नैपर्ने भएको छ । किनभने अहिलेसम्मको मतगणनामा जर्जिया र नर्थ क्यारोलिनामा ट्रम्पले अग्रता कायम गरेका छन् । जर्जियामा १६ र नर्थ क्यारोलिनामा १६ इलेक्टोरल मत रहेका छन् । जर्जियामा झण्डै ४० लाख मतगणना हुँदा ट्रम्पले झण्डै २१ लाख र ह्यारिसले झण्डै १९ लाख मत ल्याएकी छिन् । नर्थ क्यारोलिनामा झण्डै ३१ लाख मत गणना हुँदा ट्रम्पले झण्डै १६ लाख र ह्यारिसले झण्डै १५ लाख मत ल्याएकी छिन् ।

अहिलेसम्म ट्रम्पले  कुल १७८ इलेक्टोरल मत जितेका छन् भने कमला ह्यारिसले ९९  इलेक्टोरल मत जितेकी छिन् । अमेरिकामा राष्ट्रपतिको चुनावमा निर्वाचित हुनका लागि जम्मा ५३८ इलेक्टोरल मतमध्ये  कम्तीमा २७० इलेक्टोरल मत ल्याउन आवश्यक हुन्छ भने हरेक राज्यका लागि इलेक्टोरल मतभार फरक फरक तोकिएको हुन्छ ।

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ । अमेरिकामा अधिकांश राज्यमा विगतको इतिहास र पार्टीको प्रभावको आधारमा चुनाव कस्ले जित्छ भन्ने लगभग सुनिश्चित जस्तै नै हुने गर्छ । तर अमेरिकाका केही राज्यहरु त्यस्ता राज्यहरु छन् जसले पटकपटक आफ्नो चुनावी परिणाम बदल्ने गरेका छन् । त्यसैले अमेरिकी राष्ट्रपति चुनाव कस्ले जित्छ भन्ने कुराको निर्धारण यी राज्यहरुको चुनावी परिणाममा निर्भर गर्ने गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com