सिनेटमा रिपब्लिकन नियन्त्रण कायम, हाउसमा अहिलेको ट्रेण्ड कायम रहे ट्रम्प शक्तिशाली राष्ट्रपति बन्ने
प्रकाशित मिति : कार्तिक २२, २०८१ बिहीबार
अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि रिपब्लिकन पार्टीकै नियन्त्रण कायम भएको छ । रिपब्लिकनले आफ्नो लक्षित संख्यामा प्रतिस्पर्धी सिट जितेका छन् र सिनेटमा आफ्नो नियन्त्रण सुरक्षित गरिसकेका छन्। १०० सिटको सिनेटमा नियन्त्रण कायम गर्नका लागि कम्तीमा ५१ सिटमा जित हासिल गर्नुपर्छ तर रिपब्लिकनहरुले ५२ सिटमा जित हासिल गरिसकेका छन् । अब रिपब्लिकनहरुलाई सिनेटबाट साधारण बहुमतले पारित हुने कुनै पनि बिलहरु पारित गराउन कुनै समस्या हुनेछैन ।
यस अगाडि सिनेटमा डेमोक्र्या्टसको नियन्त्रण कायम रहेको थियो । बाइडेन निर्वाचित भएपछिको ११७ औं संसदमा सिनेट पचास पचास सिटमा विभाजित थियो । यो अवस्थामा निर्णायक मत अमेरिकी उपराष्ट्रपतिले दिन पाउने प्रावधान भएका कारण डेमोक्र्याट्सले नै नियन्त्रण कायम गरेका थिए । त्यस्तै २०२३ जनवरीदेखि २०२५ जनवरीसम्मको ११८ औं संसदमा सिनेटमा डेमोक्र्याटसको ५१ र रिपब्लिकनको ४९ सिट कायम भएकाले डेमोक्र्याटस्कै नियन्त्रण कायम थियो । तर राष्ट्रपतिमा पराजयसँगै योपटक डेमोक्र्याटसहरुले सिनेटमा पनि नियन्त्रण गुमाएका छन् ।
यद्यपी विगतमा डोनाल्ड ट्रम्प राष्ट्रपति भएकै बखत पनि सिनेटमा रिपब्लिकनकै नियन्त्रण कायम थियो । २०१७ देखि २०१९ सम्मको शत्रमा रिपब्लिकनको ५१ सिट र २०१९ देखि २०२१ सम्मको शत्रमा रिपब्लिकनको ५३ सिट कायम थियो । २०१७ देखि २०१९ सम्म सिनेटमा रिपब्लिकनको बहुमत हुँदा प्रतिनिधिसभामा पनि रिपब्लिकनहरुकै बहुमत थियो । त्यो बेला डोनाल्ड ट्रम्पले आफूले चाहेका साधारण बहुमतबाट पारित हुने बिलहरु दुबै सदनबाट पारित गराउनसक्ने शक्ति राख्थे । तर २०१९ देखि २०२१ सम्म पनि प्रतिनिधिसभामा रिपबिलकनले नियन्त्रण गुमाएर डेमोक्र्याटसहरुले बहुमत कायम गरेका थिए । प्रतिनिधिसभामा नियन्त्रण कायम गर्नका लागि कम्तीमा २१८ सिट जित्न आवश्यक छ ।
जो बाइडेनको कार्यकालमा ११६ औं संसदमा प्रतिनिधिसभा र सिनेट दुबैमा डेमोक्र्याटसको नियन्त्रण कायम थियो । बाइडेनले आफूले चाहेका साधारण बहुमतबाट पारित हुने बिलहरु दुबै सदनबाट पारित गराउनसक्ने शक्ति राख्थे । तर २०२३ देखि २०२५ सम्मको ११७ औं ससदमा भने प्रतिनिधिसभामा डेमोक्र्याटसले नियन्त्रण गुमायो । र रिपब्लिकनले नियन्त्रण कायम गर्न पुग्यो । गत मंगलबार भएको निर्वाचनको परिणामहरु आउँदै गर्दा अहिलेकै ट्रेण्ड कायम रहेमा प्रतिनिधिसभामा यसपटक पनि रिपब्लिकनले नियन्त्रण कायम गर्नेछ । अहिलेसम्म नियन्त्रणका लागि आवश्यक पर्ने २१८ मध्ये २०५ सिटमा रिपब्लिकनले जित हासिल गरिसकेको छ भने १८ सिटमा अग्रता कायम गरेको छ ।
सिनेटमा रिपब्लिकनले नियन्त्रण कायम गरिसकेको अवस्थामा प्रतिनिसभामा पनि नियन्त्रण कायम गरेमा डोनाल्ड ट्रम्प अमेरिकाको शक्तिशाली राष्ट्रपति बन्नेछन् । अर्थात् उनले चाहेका साधारण बहुमतले पारित हुनसक्ने बिलहरु संसदका दुबै सदनबाट पारित गराउन रिपब्लिकनलाई कुनै अप्ठ्यारो हुनेछैन । तर कैयन महत्वपूर्ण बिलहरु रिपब्लिकन र डेमोक्र्याट्स दुबैले संसदका दुबै सदनमा आफ्नो नियन्त्रण कायम भएको अवस्थामा नभई एउटा सदनमा नियन्त्रण गुमेको अवस्थामा मात्र ल्याउने गरेका छन्, जसका कारण त्यस्ता बिलहरु पारित हुनबाट रोकिने गरेका छन् ।