क्यालिफोर्नियामा खतरनाक आगलागी, २७ मिलियन बासिन्दा रेड फ्ल्याग चेतावनीभित्र
प्रकाशित मिति : कार्तिक २२, २०८१ बिहीबार
राष्ट्रिय मौसम सेवाले बिहीबार बेलुकी ६ बजेसम्मका लागि रेड फ्ल्याग चेतावनी जारी गरेको छ । अत्यन्त खतरनाक र जनजीवनलाई जोखिममा पार्ने आगलागीको अवस्थामा रेड फ्ल्याग चेतावनी जारी गरिन्छ । यो चेतावनीले दक्षिणी क्यालिफोर्निया र ग्रेटर सान फ्रान्सिस्को बे एरियाका करिब २७ मिलियन मानिसलाई असर गर्ने अनुमान छ।
यस हप्ताको सुरुमा मौसमविद्हरुले यो अवस्था दक्षिणी क्यालिफोर्नियामा इतिहासकै खराब आगलागी जस्तै खतरनाक रहेको बताएका थिए। लस एन्जलसको उत्तरपश्चिमी भेगमा रहेको भेन्चुरा काउन्टीका सबै विद्यालयहरु आगलागीका कारण शुक्रबारसम्म बन्द गरिएको छ।
बुधबार भेन्चुरा काउन्टीको माउन्टेन फायरको आकार बढेको छ । शक्तिशाली सान्टा एना हावाले अत्यन्तै सुक्खा हावासँग मिलेर आगो फैलाइरहेको थियो। भेन्चुरा काउन्टीका फायर चिफ डस्टिन गार्डनरले बुधबारको पत्रकार सम्मेलनमा उक्त आगो खतरनाक गतिमा फैलिरहेको बताउँदै कृषियोग्य क्षेत्रमा आगलागी भइरहेको जानकारी दिएका थिए ।
साउथ माउन्टेनमा माउन्टेन फायर नियन्त्रण गर्न ८०० भन्दा बढी अग्निनियन्त्रक र ५८ अग्निशमन गाडी परिचालन गरिएका छन्। फायर क्याप्टेन ट्रेभर जोन्सनले हेलिकप्टरबाट आगो नियन्त्रण असुरक्षित रहेको बताएका छन् । क्यामारिलो हिल्सको क्षेत्रमा रातको समयमा रुख र घरमा सुन्तला रंगका आगोका ज्वाला देखा परेका थिए । धेरै संरचनाहरु ध्वस्त भएका छन् र केही घरहरु पूर्ण रूपमा जलिसकेका छन्।
कुनकुन संरचना क्षतिग्रस्त भएका छन् भन्ने आधिकारिक जानकारी भने आएको छैन। क्यालिफोर्नियाका गभर्नरले फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेंसीको सहयोग घोषणा गर्दै करिब ३,५०० घर, संरचना र व्यवसाय प्रभावित भएको अनुमान गरेका छन्। कम्तिमा दुई व्यक्तिलाई सम्भावित धुँवाको असरका कारण अस्पताल लगिएको छ।
बिहीबार बिहानसम्म क्यालिफोर्निया वन र अग्नि सुरक्षा विभागका अनुसार माउन्टेन फायरले १४,१४८ एकड जमिन जलाएको छ । भेन्चुरा काउन्टीका प्रहरी कार्यालयका अनुसार १४,००० भन्दा बढी मानिसहरुलाई घर छाड्न भनिएको छ ।
५० वर्षीया क्रिस्टिना नोरेन र उनका ६२ वर्षीय पति पाउल बुटिनले बुधबार मध्यान्ह क्यामारिलो हाइट्सको आफ्नो घर छाडेका थिए । उनीहरुले आफ्नो कुकुर, ल्यापटप, केही लुगा र बुटिनको थाइराइड औषधि मात्र ल्याउन पाएका थिए ।
थाइराइड क्यान्सरको उपचार गरिरहेका बुटिनले गत हप्तामात्र सम्बन्धित शल्यक्रिया गरेका थिए, जसका कारण उनीहरु धुवाँ सासमा नजाओस् भनेर घर छाडेर होटेलतिर गएका थिए ।
लस एन्जलसको मालिबुमा पनि अझै डढेलो नियन्त्रणमा आएको छैन । यसले दुईवटा संरचना क्षतिग्रस्त बनाएको र केही समयका लागि प्यासिफिक कोस्ट हाइवे बन्द गरेको थियो। धेरै तिब्र हावाका कारण आगो छिटो फैलिएको थियो ।
यस वर्ष क्यालिफोर्नियामा आगलागीले हालसम्म १,०१५,१३८ एकड भन्दा बढी जमिन जलाएको छ। दुई प्रमुख विद्युत् प्रदायकले सम्भावित आगलागी रोक्न हजारौं क्यालिफोर्नियावासीको विद्युत् आपूर्ति बन्द गरेका छन्। बुधबार बिहानदेखि ११,००० भन्दा बढी साउथर्न क्यालिफोर्निया इडिसन ग्राहकहरूको विद्युत् आपूर्ति बन्द गरिएको छ।