मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी निराजन नेपालीलाई इन्टरपोलको सहयोगमा नेपाल फिर्ता
प्रकाशित मिति : मंसिर २५, २०८१ मंगलबार
मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी निराजन नेपालीलाई इन्टरपोलको सहयोगमा नेपाल ल्याइएको छ । नेपाली नागरिक निराजन नेपालीलाई मंसिर २५ गते नेपाल एयरलाइन्सको उडानद्वारा संयुक्त अरब इमिरेट्सबाट नेपाल ल्याइएको हो । निराजन नेपाली, पूर्वी रुकुम स्थायी ठेगाना भई मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी हुन्।
नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको अपराध अनुसन्धान विभागको इन्टरपोल शाखाले उनीविरुद्ध रेड नोटिस जारी गरी यूएईमा पक्राउ गरेको थियो। गिरफ्तारीपछि नेपालीलाई नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीको टोलीले बुझेर थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।
४५ वर्षीय निराजन नेपालीलाई मानव बेचबिखनमा संलग्न भएको अभियोगमा लामो समयदेखि खोजी भइरहेको थियो। नेपाल प्रहरीले उनलाई अन्तर्राष्ट्रिय अपराध अनुसन्धान सञ्जाल इन्टरपोलको सहयोगमा पक्राउ गरेको हो।
प्रहरीले निराजन नेपालीलाई हाल अनुसन्धानका लागि हिरासतमा राखेको छ। मुद्दाको छानबिन पूरा गरी न्यायिक प्रक्रियामा अगाडि बढाउन उनलाई नियन्त्रणमा लिइएको हो । पछिल्ला दिनमा नेपाल प्रहरीले अन्तर्राष्ट्रिय सहकार्य र आधुनिक प्रविधिको प्रयोगले फरार अभियुक्तहरूलाई पक्रन प्रभावकारी भूमिका खेल्दै गएको छ ।