नेपालमा विमान खरिदमा घुस दिएको स्वीकारपछि एएआरले अमेरिकी सरकारलाई ५५ मिलियन डलर तिर्ने


प्रकाशित मिति : पुस ७, २०८१ आईतबार

व्यावसायिक र सरकारी ग्राहकहरुलाई विश्वब्यापी रुपमा विमान मर्मत सेवा प्रदान गर्दै आएको अमेरिकी कम्पनी एएआरका सहायक कार्यकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरिद प्रकरणमा नेपालका सरकारी अधिकारीहरुलाई घुस दिएको स्वीकार गरेपछि अमेरिकी कम्पनी एएआरले अमेरिकी सरकारलाई ५५ मिलियन डलर तिर्ने भएको छ । नेपाली अधिकारीहरूलाई २०९ दशमलव ६ मिलियन डलरको एयरबस सम्झौताको ठेक्कामा शिलबन्दी गर्न साढे २ मिलियन डलर घुस दिइएको र यो नेपालको उड्डयन इतिहासमा सबैभन्दा ठूलो रहेको अमेरिकी अदालतमा दायर कागजातहरूमा उल्लेख गरिएको छ ।

अमेरिकाको इलिनोइसमा मुख्यालय रहेको उड्डयन सेवा कम्पनीले नेपाल र दक्षिण अफ्रिकामा सरकारी अधिकारीहरूलाई घुस दिने योजनाहरूमा संलग्न भई विदेशी भ्रष्टाचार अभ्यास ऐनको उल्लङ्घन गरेकोमा अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिस र र सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिशनलाई ती अनुसन्धानहरू समाधान गर्नका लागि ५५ मिलियन भन्दा रकम तिर्ने भएको हो । एएआरले डिपार्टमेन्ट अफ जस्टिससँग रकम तिर्नका लागि १८ महिनाको गैर अभियोग सम्झौता गरेको छ । सन् २०१५ देखि २०२० सम्म एएआरले नेपाल र दक्षिण अफ्रिकामा सरकारी स्वामित्वको एयरलाइन्ससँग व्यापार प्राप्त गर्न सरकारी अधिकारीहरूलाई घुस दिने षड्यन्त्र गरेको र त्यसबापत लगभग २४ मिलियन डलरको नाफा प्राप्त गरेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले जनाएको छ ।

एएआरले नेपाल र दक्षिण अफ्रिकामा सरकारी स्वामित्वको एयरलाइन्ससँग व्यापार प्राप्त गर्न उच्च स्तरका सरकारी अधिकारीहरूलाई घूस दिएवापत लगभग २४ मिलियन डलर अवैध नाफा कमाएको डिपार्टमेन्ट अफ जस्टिसका आपराधिक डिभिजनका मुख्य सल्लाहकार ब्रेन्ट वाइबलले बताएका छन् । डिपार्टमेन्ट अफ जस्टिस अन्तर्राष्ट्रिय भ्रष्टाचारमा संलग्न भएकोमा कम्पनी र व्यक्तिहरूलाई जवाफदेही बनाउन जारी राख्ने उनको भनाई छ ।

वासिंटन डिसीका लागि अमेरिकी अधिवक्ता म्याथ्यू एम ग्रेभ्सले घूसखोरी योजनाहरू अमेरिका भित्र वा बाहिर जहाँ भएपनि उपभोक्ताहरू र कम्पनीहरूलाई हानि गर्ने भएकाले आफूहरुले भ्रष्ट वा गैरकानूनी माध्यमबाट लाभ लिन खोज्ने कुनै पनि व्यक्ति वा कम्पनीविरुद्ध अनुसन्धान जारी राख्ने बताएका छन् । एएआरले नेपाल र दक्षिण अफ्रिकाका सरकारी अधिकारीहरूलाई घूस लिएर अमेरिकी व्यवसायहरूले विदेशी भ्रष्टाचारमा संलग्न हुन नदिने सुनिश्चित गर्नका लागि बनाएको अमेरिकी कानूनको उल्लङ्घन गरेको होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन एचएसआईको न्युयोर्क फिल्ड अफिसका विशेष एजेन्ट इन चार्ज विलियम एस वाकरले बताएका छन् ।

दीपक शर्मा

नेपालमा एएआरले विभिन्न बिचौलिया कम्पनीहरु मार्फत नेपाली अधिकारीहरुलाई घूस प्रस्ताव गरी दुईवटा एयरबस विमान बिक्री गर्ने सम्बन्धमा नेपालको सरकारी वायुसेवा कम्पनी नेपाल वायुसेवा निगमसँग भ्रष्टाचार गरी कारोबार गरेको डिपार्टमेन्ट अफ जस्टिसको भनाई छ । सम्झौता अनुशार एएआरले २६ मिलियन डलर जरिवाना र १८ मिलियन प्रशासनिक जफत वापत तिर्न सहमत भएको छ ।

गत अगस्तमा नेपाली मूलका बेलायती नागरिक दीपक शर्माले वाइड बडी जहाज खरिद–बिक्री प्रक्रियामा खुस दिएको स्वीकार गरेका थिए । निगमलाई अमेरिकी कम्पनी एएआर कर्पोरेसनले दुई थान वाइड बडी जहाज बिक्री गरेको थियो । निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसको जहाज खरिद गरे पनि लिजिङ कम्पनी एएआरमार्फत खरिद गरेको थियो ।

सोही एएआरको प्रतिनिधिका रूपमा शर्माले वायुसेवा निगमसँग जहाज खरिद–बिक्रीको मध्यस्थता गरेका थिए । शर्मा एएआर अन्तर्गतको इन्टिग्रेटेड सोलुसन्सका पूर्वअध्यक्ष पनि हुन् । शर्मा र उनको टोलीले नेपाल वायुसेवा निगमलाई जहाज बेच्न नेपाली तथा विदेशी सरकारी अधिकारीहरूलाई घुस खुवाएको र तीमध्ये वायुसेवा निगममा सन् २०१५ देखि २०१९ सम्म उच्च तहमा बसेका एक अधिकारी पनि रहेको एफसीपीएले अनुसन्धान प्रतिवेदनमा भनेको छ । नेपाली सरकारी अधिकारीहरूलाई घुस खुवाउन शर्मा र उनको टोलीले अमेरिका, आयरल्यान्ड, युनाइटेड अरब इमिरेट्स लगायत देशमा बैंक खाता खोलेको प्रतिवेदनमा छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com