न्युयोर्कको रिजउडमा श्रीस्वस्थानी व्रतकथा महोत्सव जारी, पहिलो सातामा २४ हजार डलर संकलन
प्रकाशित मिति : माघ ९, २०८१ बुधबार

न्युयोर्कको रिजउडमा रहेको दुर्गा मन्दिरमा चलिरहेको श्रीस्वस्थानी व्रतकथा महोत्सवका क्रममा पहिलो सातामा नै २४ हजार अमेरिकी डलर दान, भेटी र सहयोग संकलन भएको छ । रिजउड नेपाली समाजले विभिन्न संघसंस्थासँगको सहकार्यमा आयोजना गरेको श्रीस्वस्थानी व्रतकथामा मन्दिर तथा नेपाली समुदाय र सांस्कृतिक केन्द्र स्थापनाका लागि पहिलो सातामा २४ हजार १०८ डलर संकलन भएको आयोजकले जानकारी दिएका छन् ।
कार्यक्रमले समुदायमा धार्मिक आस्था, एकता, र सहयोगको भावना झल्काउँदै नेपाली परम्परा र संस्कृति जर्गेना गर्ने उद्देश्यलाई अगाडि बढाएको छ। ब्रतकथामा विभिन्न नेपाली अमेरिकी संघसंस्थाका प्रतिनिधिहरू, समुदायका सदस्यहरू, र अतिथिहरूले उत्साहजनक सहभागिता जनाउँदै आएका छन् ।
जनवरी १३ मा श्रीस्वस्थानी व्रतकथा महोत्सवको सुरुवात गरिएको थियो । सचिव अमित प्रताप शाहले संचालन गरेको कार्यक्रममा रिजउड नेपाली समाजका संस्थापक ट्रस्टीहरूको सहभागिता थियो । कार्यक्रममा न्युयोर्कको मेयर कार्यालयाके फेथ बेस्ड एण्ड कम्युनिटी पार्टनरसिपका कार्यकारी निर्देशक पास्टर गिलफोर्ड टी मोनरोस र राज्य सांसद जेनिफर राजकुमारको कार्यालयका उपप्रमुख पनि उपस्थित भएर मन्तव्य राखेका थिए । साथै, रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्टले पनि समारोहलाई सम्बोधन गरेका थिए ।
जनवरी १३ देखि फेब्रुअरी १२ सम्म एक महिनासम्म हरेक दिन बेलुका ७ बजे देखि ९ बजेसम्म सञ्चालन भइरहेको श्रीस्वस्थानी महोत्सव कार्यक्रमले समुदायमा धार्मिक आस्था, एकता, र सहयोगको भावना झल्काउँदै नेपाली परम्परा र संस्कृति जर्गेना गर्ने उद्देश्यलाई अगाडि बढाएको अध्यक्ष भट्टले बताएका छन् । भट्टले महोत्सवले नेपाली समुदायलाई एकताबद्ध गर्न मात्र होइन, सांस्कृतिक पहिचान र धार्मिक आस्थालाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै यो अभियानमा सहभागिता जनाउने सबैलाई धन्यवाद दिएका थिए ।
मूल समारोह समितिका अध्यक्ष तथा संस्थाका उपाध्यक्ष तुलसीराम आचार्यले आफ्नो आफूहरुको प्रमुख लक्ष्य मन्दिर र सांस्कृतिक केन्द्र स्थापना गरेर आगामी पुस्ताहरूका लागि हाम्रो परम्परालाई संरक्षण गर्नु रहेको बताएका छन् । महोत्सवमा देखिएको सहभागिता र सहयोगले यो सपना पूरा गर्न अझ धेरै ऊर्जा दिएको उनले बताए ।
कार्यक्रमका संयोजक पण्डित उद्धव शास्त्रीले संसारभरिका नेपालीहरू एक हुनुपर्ने र आफ्नो संस्कार र संस्कृतिको जर्गेना गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले यस स्वस्थानी महोत्सवमा गरिएको दान केवल धार्मिक कार्यमा सीमित नभएको तथा यसले नेपाली समुदायको एकता मजबुत बनाउन र नयाँ पुस्ताका लागि मन्दिर तथा सांस्कृतिक केन्द्र स्थापना जस्ता ऐतिहासिक कार्यमा ठूलो योगदान दिने बताए ।
समारोहमा विभिन्न नेपाली अमेरिकी संघसंस्थाका प्रतिनिधिहरू, समुदायका सदस्यहरू, र अतिथिहरूको उत्साहजनक सहभागिता जारी छ। यसपालिको कार्यक्रमको मुख्य उद्देश्य न्यूयोर्कमा मन्दिर र नेपाली कम्युनिटी तथा कल्चर सेन्टर स्थापना गर्नका लागि कोष संकलन गर्नु रहेको छ।
कार्यक्रम आयोजकले सबैलाई निरन्तर सहयोगका लागि अपिल गरेका छन् । आफ्नो समय, योगदान र सहकार्यमार्फत यो ऐतिहासिक पहललाई सफल बनाउन अझ धेरै सहभागी हुन र आफ्नो भूमिका निभाउन आयोजकले अनुरोध गरेका छन्।
सहयोगदाताहरुको विवरण