युएससीआईएसबाट ग्रिनकार्ड आवेदकसहित आप्रवासीहरुका सामाजिक सञ्जाल चेकजाँच सुरु
प्रकाशित मिति : चैत्र २७, २०८१ बुधबार

अमेरिकी नागरिकता र आप्रवासन सेवा युएससीआईएसले आप्रवासीहरुका सामाजिक सञ्जाल चेकजाँच सुरु गरिएको घोषणा गरेको छ । आप्रवासन लाभका लागि आवेदन दिने विदेशी नागरिकहरूको सामाजिक सञ्जाल गतिविधिको मूल्याङ्कन सुरु गरिएको युएससीआईएसले जनाएको छ । जसमा विशेष रूपमा यहूदी विरोधी सामग्री वा व्यवहार पहिचान गर्नमा ध्यान केन्द्रित गरिनेछ।
यो नयाँ उपाय होमल्याण्ड सेक्युरिटीको राष्ट्रिय सुरक्षालाई सुदृढ गर्ने व्यापक प्रयासमा अपनाइएको हो । यो चेक जाँचले ग्रिनकार्ड आवेदक, विदेशी विद्यार्थी र यहूदी विरोधी गतिविधिहरूसँग सम्बन्धित शैक्षिक संस्थाहरूसँग आबद्ध व्यक्तिहरूलाई तत्काल प्रभाव पार्ने युएससीआईएसको भनाई छ । यो नीति यहूदी व्यक्तिहरूविरुद्ध शारीरिक उत्पीडनका कार्यहरूसम्म पनि विस्तार हुने जनाइएको छ । यस्ता गतिविधिलाई अब ग्रिनकार्ड लगायतका आप्रवासन अनुरोध अस्वीकार गर्ने आधार मानिनेछ।
यो पहल राष्ट्रपति ट्रम्पका कार्यकारी आदेशहरूबाट उत्पन्न भएको हो। नयाँ मार्गदर्शनअन्तर्गत युएससीआईएसले विशेष रूपमा सामाजिक सञ्जाल पोस्टहरू र अन्य गतिविधिहरूको जाँच गर्नेछ । खासगरी यहूदी विरोधी आतङ्कवाद, हिंसात्मक विचारधारा वा हमास, प्यालेस्टिनी इस्लामिक जिहाद, हिजबुल्लाह र अन्सार अल्लाह जस्ता आतङ्कवादी संगठनहरूलाई समर्थन गरेको देखिएकोमा त्यसको चेकजाँच हुनेछ ।
अमेरिकामा विश्वका बाँकी आतङ्कवादी समर्थकहरूका लागि कुनै ठाउँ नभएको र तिनीहरूलाई भर्ना गर्न वा यहाँ रहन दिन बाध्य नहुने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी उच्च अधिकारी ट्रिसिया म्याकलफलिनले बताएकी छिन् । अमेरिकामा आएर पहिलो संशोधनको आडमा यहूदी विरोधी हिंसा र आतङ्कवादको वकालत गर्न खोज्नेलाई अमेरिकामा स्वागत नगरिने उनको भनाई छ ।
यो नीति अनुशार युएससीआईएस अधिकारीहरूले अब यहूदी विरोधी आतङ्कवाद वा सम्बन्धित संगठनहरूलाई समर्थन, प्रचार वा सहयोग गरेको प्रमाणलाई आप्रवासन लाभसम्बन्धी निर्णयहरूमा नकारात्मक कारकको रूपमा लिनेछन् । यसमा भिसा आवेदन, ग्रीन कार्ड आवेदन वा एजेन्सीद्वारा प्रशोधन गरिएका अन्य अनुरोधहरू समावेश हुनेछन् । अनलाइन गतिविधिहरूभन्दा बाहिर यहूदी विरोधी उत्पीडनका शारीरिक कार्यहरूले पनि आवेदकहरूविरुद्ध भारी प्रभाव पार्नेछ।