रामबाबुको रामकहानी : रोडदेखि करोडसम्म


प्रकाशित मिति : आश्विन १, २०७३ शनिबार

ठमेलको सडकमा सुत्ने रामबाबु अमेरिकामा यसरी बने करोडपति

नुवाकोटको मदानपुर । सदरमुकामबाट बिदुरबाट दुईघण्टाको पैदल यात्रामा पुगिने भएपनि ४३ बर्ष अगाडि यो क्षेत्र अहिले भन्दा निकै विकट थियो । यातायातदेखि खानेपानीको असाध्यै दुख । यही मदानपुरमा सूर्यलाल पाण्डे र मिष्ठु पाण्डेको सामान्य परिवार दुखजिलो गरेर जीवन यापन गरिरहेको थियो । यही परिवारमा कान्छो छोराका रुपमा जन्मे रामबाबु पाण्डे ।

विद्यालय घर नजिकै थियो । तर पनि बोल्न र हिड्न जान्ने भएपछि उनलाई विद्यालय होइन, गोठालो पठाइयो । ६ बर्षको उमेरमा श्री शक्ति माध्यामिक विद्यालयमा एकैचोटी कक्षा १ मा भर्ना भए उनी । त्यतीबेला सरकारी विद्यालयमा सिधै कक्षा १ मा नै भर्ना लिइन्थ्यो । बल्लबल्ल स्कुल भर्ना हुन पाएका थिए रामबाबु । त्यसैबर्ष बुबा सूर्यलाल पाण्डेको निधन भयो । बुबाको मृत्युपछि रामबाबुको परिवारमा दुखको बादल मडारियो । ४३ बर्षको अल्पायुमा नै बुबाको निधन हुँदा रामबाबुका दाजु ७ बर्षका थिए भने बहिनीहरु दुई र १ बर्षका थिए ।

ससना लालाबालासहित परिवार चलाउन आमा मिष्ठुलाई कम्ती दुख थिएन । त्यसमा पनि दाजुभाईको खास सहयोग भएन । माइतीको सहयोगमा आमाले लालाबाला हुर्काउनुपरेको थियो । रामबाबु र उनका दाजुलाई स्कुल पठाएर दुईबर्षको छोरीलाई पिठ्युमा बोकेर र एकबर्षको छोरीलाई दुध चुसाउँदै घरको काम गर्न आमालाई सहज थिएन । अझ आफ्नैमात्र होइन, अरुको जग्गासमेत कमाएर खेतीपाती गर्न कहाँ सहज हुन्थ्यो ? त्यसैले कान्छी छोरीलाई माइतीमा पठाएर भएपनि आमाले दिनरात काम गर्दै घर परिवार चलाएको रामबाबु अहिले पनि सम्झन्छन् ।

आमाको दुख देख्न नसकेर रामबाबु एसएलसी दिनासाथ घर छाडेर हिँडे । रामबाबुलाई अहिलेपनि घर छाडेर हिड्दाको दिन याद छ , जतिबेला उनी १८ बर्षका थिए । रामबाबु भन्छन् – ‘२०४७ साल साउन ११ गते बिहिबारको दिन मैले आफू जन्मेको घर छाडें । आफू खेलेको र हुर्केको गाउँ छाडें । आमाको दुख देख्न नसकेर मैले घर छाडेको थिएँ । रहरले होइन, आफै कमाई गरेर घरको दुख कम गर्ने उद्देश्यले मैले घर छाडेको थिएँ ।’

घर छाडेर रामबाबु काठमाडौंमा आए बस चढेर । काठमाडौंमा उनका आफ्नै दाजु बस्थे । दाजुपनि अर्कैसँग नक्सालमा बस्दै आएका थिए । काठमाडौं आएपछि रामबाबु आफ्नै दाजुसँग नक्सालमा बस्न थाले । दुई सातामात्र बितेको थियो । दाजुसँग बस्नेले दुईदुईजनालाई राख्न नसक्ने बताएपछि एकरात दाजुले रामबाबुसँग भने –‘कि तैले यो कोठा छाड्नुपर्छ कि त मैले । यदि तैंले कोठा छाड्दैनस् भने म आफै यहाँबाट निस्केर जान्छु ।’

दाजुको यस्तो कुरापछि रामबाबु झोला बोकेर मध्यरातमा कोठाबाट निस्किए । अब कता जाने ? केही थाहा थिएन । रातको १२ बजिसकेको थियो । उनी सिधै ठमेलमा आए । ठमेलमा साथीहरुसँग बस्ने मनासायले ठमेलमा आएपनि उनले सोंचेजस्तो भएन । त्यसैले उनले ठमेलकै सडक पेटीमा रात बिताउनुपर्यो । दिनभर कामको खोजीमा यताउता भौतिरिने र राती ठमेलको सडक पेटीमा सुत्ने । न खानको ठेगान, न बस्ने ठेगान, न सुत्ने ठेगान । दुईचारदिन यसरी नै बित्यो । कसैले सहयोग पनि गरेन ।

यत्तिकैमा एकदिन रामबाबु गाउँकै एकजना दिदीका श्रीमान् दिवाकरलाई भेट्न गए । दिवाकरले ठमेलमा नै पसल गर्थे । आफ्ना सबै दुख बताएपछि दिवाकरले रामबाबुलाई केही थान टोपी र स्वीटरहरु दिए । त्यही सामान बाटोमा लगेर बेच्न थाले रामबाबुले । ब्यापारमा उनको दखल बिस्तारै बढ्दै गयो । गाउँकै भरत लोहनीले उनलाई बस्नका लागि कोठा पनि दिएका थिए ।

डेढबर्षसम्म बाटोमै सामान बेचेपछि उनले नजिकै रहेको सरोज श्रेष्ठको पसलमा काम गर्न थाले । काम सुरु गरेपछि ठमेल आफ्नै कोठा पनि लिए । यसैबीचमा उनले पुनः एसएलसी परिक्षा दिएर पास पनि गरे । सरोजको पसलमा उनले झण्डै पाँचबर्ष काम गरे । सरोज पसल छोडेपछि कृष्ण श्रेष्ठले पसल लिएका थिए तर पनि रामबाबुले त्यही पसलमा काम गरिरहे । पछि पसल त्यहाँबाट अन्त्यत्रै सर्यो भने अगाडि सानो ह्याण्डीक्राफ्टको पसलमा पनि उनी काम गरिरहे ।

दुईवटै पसल चलाउँदा चलाउँदै रामबाबुले नजिकै आफ्नै गार्मेन्ट पसल खोले । त्यो पसल उनले साथीसँग मिलेर तीनबर्षजति चलाए । यसैबीच उनले कपडा सिलाउने उद्योग पनि खोले । झण्डै तीनबर्षपछि पसल बेचेर ठँहिटीमा नयाँ पसल एक्लै खोले उनले । त्यो पसल उनले बिक्रम सम्बत २०५९ मा छाडिदिए । दरबार हत्याकाण्ड र संकटकालपछि ब्यापार शुन्यमा झरेकाले उनले पसल नै छाड्नुपरेको थियो ।

संकटकालले ब्यापार खाइदिएपछि उनले देशै छाड्नुपर्ने अवस्था आयो । उनले भारतको गोवामा गएर गार्मेन्टको ब्यापार गर्न थाले । गोवामा बाटोमा नै पसल थापेर उनले ब्यापार सुरु गरे । दुईबर्ष ब्यापार गरेपछि पार्टनरसँग कुरा मिलेन भने सबै ब्यापार शुन्यमा झर्यो । कमाएको सबै सकियो भने लगानीको रकम पनि शुन्य भयो । त्यसपछि उनी ठमेलमा आएर एकबर्षसम्म अरुको पसलमा काम गरे । अरुको पसलमा काम गर्दा गर्दै उनीभित्र विदेश जाने भूत चढ्यो ।

विदेश जाने चक्करमा उनले धेरै हण्डर खाए भने लाखौं रुपैया सकाए । ऋणको भारी बोक्नुपर्यो । कोरिया, ताइवान, नाइजेरिया, दुबई, युके लगायतका ठाउमा जाने चक्करमा दलालले उनको लाखौं रुपैया खाइदिए । झण्डै ३० लाख जति खर्च भयो । एकपटक नाइजेरिया जाने भनेर दलाललाई पैसा दिएपछि नाइजेरियन दलालले दिल्ली लैजादै गर्दा रक्सौलमा बसमा डाँकाहरुले लुटे । लुटिएपछि उनीहरु लखनउ पुगे । ट्रेनको टिकट काटेर दिल्ली जान पैसा थिए । त्ययतिबेला एकजना नेपाली बोल्ने भारतीय विद्यार्थीको सहयोगमा उीहरु टिकट काटेर दिल्ली गए । दिल्लीमा १५ दिन बसेपछि नाइजेरियन पासपोर्ट लिएर बेपत्ता भयो । पछि रामबाबुसहित चारजना टिकटको पैसा खोजेर नेपाल फर्कनुपर्ने बाध्यता आयो । त्यतीबेलाको अवस्था सम्झदै रामबाबु भन्छन् – ‘त्यतीबेला नेपाल फर्कन पनि पैसा भएन । नेपालबाटै साथीसँग पैसा मगाएर फर्कनुपरेको थियो । ’

त्यसको केही समयपछि कोरिया जाने चक्करमा रामबाबु फेरी दिल्ली फर्के । यसपटक पनि उनी दलालबाट ठगिए । त्यसपछि उनी नेपाल नफर्कने निर्णय गरेर भारतको दिल्लीको बुराडीमा नाताले मामा पर्नेलाई भेट्न गए । मामालाई भेटेपछि कोरिया जान हिडेको श्याम कडेल र रामबाबु मिलेर दिल्लीमा ब्यापार थाले । यसैबीच उनले
काठमाडौंको गोंगबुमा विहे पनि गरे ।

दिल्लीमा ब्यापार गरिरहदा रामबाबुले काठमाडौंबाट अमेरिकाका लागि बिजनेश भिसाका लागि आवेदन दिए । भिसा लाग्यो । त्यसपछि सन् २००८ मा पहिलोपटक अमेरिकामा एक महिना बसेर उनी नेपाल फर्के । त्यतीबेला उनी शिकागो, लस एन्जलस , न्युयोर्क घुमेर फर्केका थिए । त्यसपछि सन् २०१० फरबरी २५ मा उनी अमेरिकाको क्यालिफोर्नियामा आए । ठमेल र गोवामा बसेकाले भाषाको समस्या खासै भएन । अप्रिलमा ग्रिनकार्डका लागि आवेदन दिएका थिए, जुलाईमा स्वीकृत भयो ।

क्यालिफोर्नियामा बस्ने क्रममा उनलाई साथीहरुले कोठा खोजिदिए । त्यसपछि उनले आफ्नै बिजनेश सुरु गरे । बिजनेश राम्रै चल्यो । २०११ पछि सपरिवार उनी अमेरिकामा बस्न थाले । अहिले उनी क्यालिफोर्नियाका राम्रै ब्यापारीमा दरिएका छन् । साथीहरुसँग मिलेर क्यालिफोर्नियाको लस एन्जलसमा दुईवटा ब्युटी सेलुन संचालन गरिरहेका छन् एउटा ग्रोसरी स्टोर पनि छ । त्यो बाहेक उनका दुईवटा सिसाका स्टोर छन् जसमध्ये एउटा होलसेल स्टोर हो ।

विभिन्न सामाजिक संस्थामा आजिवन सदस्य रहेका रामबाबुले नेपालमा महाभूकम्पपछि नुवाकोटमा विद्यालय निर्माणका लागि १ लाख १ हजार रुपैया दिएका थिए भने उनले एकजना विद्यार्थी पनि पढाइरहेका छन् । त्यस्तै उनले नुवाकोटको त्रिसुलीमा विद्धाश्रमको एउटा कोठा बनाउन ३ लाख ३३ हजार प्रदान गरेका छन् भने क्यालिफोर्नियामा मन्दिर निर्माणका लागि पशुपति फाउण्डेशनलाई ७१ हजार १ सय ११ डलर सहयोग गरेका छन् । उनी पशुपति फाउण्डेशनका कार्यकारी सदस्य पनि हुन् । कसैलाई परेको बेलामा सहयोग गर्ने अगाडि सर्ने रामबाबु एनआरएन क्यालिफोर्नियाका उपाध्यक्ष पनि हुन् ।

रामबाबुले नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका छन् । हाम्रो अक्सिजन नामको अक्सिजन उत्पादन उद्योगमा पनि उनको लगानी छ भने एनआरएनको दोर्दी खोला हाइड्रोमा पनि उनको लगानी छ । अब नयाँ बिजनेशको सोंचमा छन् रामबाबु । उनी भन्छन् – ‘अरुको देखासिकी गरेर होइन, आफ्नै सृजनशिलतामा अगाडि बढेमा ब्यापारमा सफल भइन्छ । देखासिकी गर्नुको साटो सृजनशिल भएर ब्यापारमा लाग्नुपर्छ ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com